people’s News : काठमाडौँ । कुनै पनि देशको वास्तविक शक्ति उसका जनता हुन् । तर जब जनता सचेत नागरिक होइन, शासकको आदेश मान्ने गुलाम बन्छन्, त्यहीँबाट राष्ट्र संकटतर्फ धकेलिन थाल्छ । जनताको मौनता, डर र अन्धविश्वासले निरंकुशता जन्माउँछ र निरंकुशताले देशलाई कमजोर बनाउँछ । आजको सन्दर्भमा पनि प्रश्न गम्भीर बनेको छ । हामी नागरिक हौँ कि केवल मतदाता ? चुनावका बेला प्रयोग हुने र पछि बिर्सिइने भीड ? यदि जनता आफ्ना अधिकार, कर्तव्य र राजनीतिक चेतनाप्रति उदासीन भए, सत्ता केही व्यक्तिको हातमा केन्द्रित हुन्छ। त्यहीँबाट भ्रष्टाचार, अन्याय र दमन मौलाउँछ ।
चेतनाको अभाव, गुलामीको सुरुवात : जनता गुलाम बन्ने प्रक्रिया एकैदिन सुरु हुँदैन । गलतलाई गलत भन्न नसक्नु, नेताको आलोचना गर्न डराउनु, प्रश्न उठाउनेलाई देशद्रोही ठान्नु यिनै प्रवृत्तिले गुलामीको जरा गाड्छ । जब नागरिकले विवेक गुमाउँछन्, सत्ता स्वेच्छाचारी बन्छ ।
युवाको भूमिका निर्णायक : देशलाई संकटबाट जोगाउने कि धकेल्ने – यो आजको युवाको चेतनामा निर्भर छ । युवाहरू यदि व्यक्ति–पूजामा अल्झिए, सामाजिक सञ्जालको नारामा सीमित भए र यथार्थ राजनीतिबाट टाढा भए भने राष्ट्र झन् कमजोर हुन्छ । तर युवाले प्रश्न गरे, तथ्य खोजे र अन्यायविरुद्ध आवाज उठाए भने परिवर्तन सम्भव छ ।
लोकतन्त्र सजावट होइन, जिम्मेवारी हो : लोकतन्त्र केवल संविधानको पाना वा भाषणको शब्द होइन । यो जनताको निरन्तर निगरानी, सहभागिता र प्रतिरोधबाट जीवित रहन्छ । जनता चुप लागे भने लोकतन्त्र खोक्रो हुन्छ र देश संकटमा फस्छ ।
जनता गुलाम हुँदा देश बाँच्दैन : देश बाहिरबाट होइन, भित्रैबाट सकिन्छ । जब जनता शासकको गलत निर्णयमाथि प्रश्न गर्न छोड्छ, तब देश संकटमा प्रवेश गरिसकेको हुन्छ । जनता सचेत नागरिक होइन, तालि बजाउने भीड बनेपछि सत्ता निरंकुश हुन्छ र राष्ट्र कमजोर । आज जनता बोल्न डराउँछन्, प्रश्न गर्न हिच्किचाउँछन् । नेताको गलत काम देख्दा पनि “हाम्रो मान्छे हो” भनेर चुप लाग्छन् । यही मौनताले देशलाई खोक्रो बनाइरहेको छ । जनताको चुप्पी नै शासकको सबैभन्दा ठूलो हतियार बनेको छ ।
गुलामी आधुनिक रूपमै आएको छ : आजको गुलामी हत्कडी र कोर्राले होइन, नारा, भावुक भाषण र झुटा राष्ट्रवादले आएको छ । सोच्न बन्द गराइन्छ, प्रश्न उठाउन देशद्रोहको आरोप लगाइन्छ । नागरिकलाई चेतनशील होइन, आज्ञाकारी उपभोक्ता बनाइँदैछ ।
युवा कि अन्धभक्त ? : सबैभन्दा खतरनाक कुरा युवा चेतनशील होइन, अन्धभक्त बन्दैछन् । नेताको फोटो प्रोफाइलमा राखेर देश बदलिन्छ भन्ने भ्रम फैलिएको छ । युवा प्रश्न सोध्दैन, तर्क गर्दैन सिर्फ बचाउ गर्छ । यस्तो युवाबाट परिवर्तन होइन, अधिनायकवाद जन्मिन्छ ।
जनता कमजोर हुँदा नेता शक्तिशाली हुन्छ : जब जनता डराउँछ, सत्ता ढुक्क हुन्छ । जब जनता मौन बस्छ, भ्रष्टाचार मौलाउँछ । जब जनता झुक्छ, देश लुटिन्छ । अब निर्णय जनताकै हातमा छ – चुप लाग्ने कि बोल्ने ? पूजा गर्ने कि प्रश्न गर्ने ? भीड बन्ने कि नागरिक हुने ?
You must be logged in to post a comment.