चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

Loading

People’s News : मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा सादा पोसाकमा समेत ठुलो संख्यामा प्रहरी खटाएर निगरानी भइरहेको छ । मौन अवधिमा हुन सक्ने सम्भावित क्रियाकलाप रोक्न सादा पोसाकमा पनि प्रहरी खटिएका छन्, राष्ट्रिय अनुसन्धान विभागको समेत सहयोग लिइएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘निर्वाचनविरोधी समूहविरुद्धका कारबाही पनि बढाइएको छ । 

मौन अवधिको पहिलो दिन मंगलबार छिटपुटबाहेक निर्वाचनविरोधी गतिविधि नभएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन प्रचार गर्ने, मतदाताको घरदैलोमा गएर प्रभावित पार्नेजस्ता केही घटना भएका छन् । तर, बुधबारको दिन चुनौतीपूर्ण हुन सक्ने आकलन गरिएको छ । निर्वाचनविरोधी गतिविधि देखिए कसैको पनि पक्षधरता नलिई कारबाही गर्न गृह मन्त्रालयले सिडिओ र सुरक्षा निकायलाई निर्देशन दिएको छ । आचारसंहिताविरोधी गतिविधि रोक्न सामाजिक सञ्जालमा पनि निगरानी बढाइएको प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए । ‘फिल्डदेखि सामाजिक सञ्जालसम्म प्रहरीले निगरानी बढाएको छ,’ उनले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन हरेक निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बाक्लो छ ।

यो निर्वाचनमा उपत्यकाका हरेक निर्वाचन क्षेत्रमा एसपी तथा उपत्यकाबाहिरका निर्वाचन क्षेत्रमा डिएसपीलाई कमान्डर तोकेर खटाइएको छ । त्यस्तै, एसएसपी र एसपीहरूलाई पनि समन्य र नियमनका लागि फिल्डमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राजनीतिक हिंसा रोक्न सफल भएका छौँ : ओमप्रकाश अर्याल, गृहमन्त्री : एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नै सुरक्षा निकाय परिचालन गरी निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षा निकायको परिचालन विगतमा भन्दा बलियो भएको छ । जसकारण अहिलेसम्म राजनीतिक हिंसा हुन दिएका छैनौँ । छिटपुटबाहेक निर्वाचनविरोधी घटना भएका छैनन् । केही निर्वाचनविरोधी समूहहरूमाथि कारबाही र निगरानी भइरहेको छ । अबका दिनमा पनि सबै पक्षले शान्तिपूर्वक नै निर्वाचनमा भाग लिनुहुन्छ भन्ने सरकारको विश्वास छ । 

मौन अवधिमा हुने क्रियाकलापमा निगरानी बढाइएको छ : दानबहादुर कार्की, प्रहरी महानिरीक्षक : मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याएका छौँ । सबै सुरक्षा निकाय एकीकृत ढंगले परिचालित भएर निर्वाचन आचारसंहिता पालना गराउने काम भइरहेको छ । मतदानस्थलमा कुनै निर्वाचनविरोधी गतिविधि भए कानुनअनुसार बल प्रयोग हुन्छ । सबै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाअनुसार शान्तिपूर्ण रूपमा फिल्डमा खटिइसकेका छन् । 

Leave a Comment