यातायात सम्बन्धि नया नियमले माइक्रो र सुमो बिस्थापित हुने सम्भावना

Loading

जीप र माइक्रोबसको रुट परमिटमा कडाइ, जीपलाई २५० र माइक्रोलाई ३०० किलोमिटर सीमा

काठमाडौं, असोज ९ — यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको बाटो इजाजत (रुट परमिट) तथा सञ्चालनमा कडाइ गर्दै जीप र माइक्रोबसलाई निश्चित दूरीसम्मको रुटमा मात्र परमिट दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

विभागले सातै प्रदेशका सम्बन्धित यातायात मन्त्रालय तथा सरोकारवाला निकायलाई परिपत्र गर्दै ८ देखि १४ सिट क्षमताका जीप प्रकृतिका सवारीसाधनलाई अधिकतम २५० किलोमिटर र माइक्रोबसलाई अधिकतम ३०० किलोमिटर दूरीको रुटमा मात्र बाटो इजाजत दिन निर्देशन दिएको हो। टाटा सुमो र महिन्द्रा बोलेरो लगायतका जीप यस व्यवस्थामा पर्नेछन्।

विभागका अनुसार सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था र प्रदूषण नियन्त्रणलाई समेत प्राथमिकता दिँदै हरेक ६/६ महिनामा प्राविधिक जाँचपास तथा प्रदूषण परीक्षण गराउनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिनेछ।

यस्तै, रुट परमिटमा दिवा वा रात्रि सेवा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। रात्री सेवा सञ्चालनका लागि सम्बन्धित सवारी परीक्षण कार्यालयबाट रात्री सेवाको अनुमति कायम भएको हुनुपर्ने विभागले जनाएको छ ।

बाटो इजाजतपत्रमा अनधिकृत रूपमा केरमेट, थपघट वा ओभरराइट गर्ने कार्य रोक्न पनि विभागले निर्देशन दिएको छ । साथै, रातो नम्बर प्लेट भएका निजी चारपाङ्ग्रे सवारीसाधनलाई सार्वजनिक यातायातका रूपमा प्रयोग नगर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

विभागले प्रचलित कानुन तथा तोकिएका मापदण्डविपरीत रुट परमिट जारी गर्ने वा सार्वजनिक सवारी सञ्चालन गर्ने कार्य पाइएमा सम्बन्धित व्यक्ति तथा व्यवसायीमाथि कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

यातायात व्यवस्था विभागले यो व्यवस्था नयाँ कानुन निर्माणभन्दा पनि विद्यमान कानुनी तथा कार्यविधिगत प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्ने उद्देश्यले परिपत्र गरेको जनाएको छ।

Leave a Comment