![]()
पिपुल्स न्युज काठमाडौँ : बजारका अधिकांश खुद्रा पसलमा चिनीको मूल्य प्रतिकिलो १४० देखि १५० रुपैयाँसम्म पुगेको गुनासो आइरहेका बेला भाटभटेनी सुपरमार्केटले भने प्रतिकिलो ११० रुपैयाँमै चिनी बिक्री गरिरहेको छ ।

चिनीको मूल्य बढेर उपभोक्ता मारमा परिरहेका बेला एउटै वस्तु भाटभटेनीमा बजार मूल्यभन्दा करिब ४० रुपैयाँसम्म सस्तोमा बिक्री भएपछि उपभोक्तामाझ स्वाभाविक प्रश्न उठेको छ। बजारमा १५० रुपैयाँमा समेत चिनी पाउन मुस्किल हुँदा भाटभटेनीले ११० रुपैयाँमै कसरी बिक्री गरिरहेको छ?’
हालै प्रकाशित समाचार अनुसार भाटभटेनीले दशैं तिहारलाई लक्षित गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले देशभरका आफ्ना स्टोरमा चिनी प्रतिकिलो ११० रुपैयाँमा बिक्री गर्ने जनाएको छ ।
यता बजारमा भने चिनीको खुद्रा मूल्य कतिपय स्थानमा १५० रुपैयाँसम्म पुगेको र कतिपय उपभोक्ताले १५० रुपैयाँभन्दा बढीसमेत तिर्नुपरेको रिपोर्टहरू सार्वजनिक भएका छन् ।
सरकारी निकायले समेत काठमाडौं उपत्यकाका भाटभटेनी, बिग मार्ट, सेल्सबेरीलगायत एक हजारभन्दा बढी बिक्री केन्द्रमा प्रतिकिलो ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ ।

यसैबीच चिनीको मूल्य र आपूर्तिबारे बजारमा देखिएको ठूलो अन्तरले खरिद मूल्य, मौज्दात, वितरण प्रणाली, ढुवानी खर्च र खुद्रा मूल्य निर्धारणको वास्तविक अवस्था के हो? भन्ने प्रश्न समेत उठाएको छ ।
उद्योगबाट प्रतिकिलो ८५ रुपैयाँमा चिनी बिक्री भएको दाबीसमेत सार्वजनिक भएको छ । त्यसमा भ्याट, ढुवानी, बीमा, डिलर कमिसनलगायत खर्च जोड्दा पनि खुद्रा मूल्य ११२ देखि ११५ रुपैयाँभन्दा माथि जान नहुने उद्योगी पक्षको दाबी छ ।
चाडपर्व नजिकिँदै गर्दा चिनीको माग बढिरहेको अवस्थामा बजारमा एउटै वस्तुको मूल्यमा देखिएको यस्तो ठूलो अन्तरबारे सम्बन्धित निकायले खरिददेखि उपभोक्तासम्मको मूल्य शृंखला सार्वजनिक र स्पष्ट पार्नुपर्ने माग उपभोक्ताबाट उठ्न थालेको छ।
