![]()
People’s News : सरकारले निर्वाचन सुरक्षाका सबै प्रबन्ध तयार भएको जनाएको छ । मुलुकभरका सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको र उनीहरूले तोकिएको जिम्मेवारी सम्हालेको गृह मन्त्रालयले जनाएको हो । गृहप्रवक्ता आनन्द काफ्लेका अनुसार सुरक्षाकर्मीहरू आफू खटिएको मतदानस्थल बुथ निर्माणमा जुटिरहेका छन् । ‘मुलुकभरका सम्पूर्ण निर्वाचनस्थलमा सुरक्षाकर्मी पुगेका छन् ।
उनीहरू सम्बन्धित निर्वाचनस्थलका बुथ निर्माणदेखि सुरक्षाका आवश्यक प्रबन्ध मिलाउने काम गरिरहेका छन् । समग्रमा भन्नुपर्दा अब मतदाताले मत हाल्न मात्रै बाँकी छ, निर्वाचनका लागि आवश्यक सुरक्षाका सबै प्रबन्ध पूरा भएको छ,’ उनले भने । निर्वाचन सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी खटिएका छन् ।
सरकारले सुरक्षालाई थप प्रभावकारी बनाउन केन्द्रसहित प्रदेश, जिल्ला र स्थानीय तहलाई समेत सक्रिय पार्ने रणनीति लिएको छ । त्यसका लागि प्रदेशदेखि वडा तहसम्म सर्वदलीय बैठक गरेको छ । गृहप्रवक्ता काफ्लेले मंगलबार साँझसम्म प्रदेश, जिल्ला, पालिका र वडासम्म सबै तहमा सर्वदलीय बैठक बसिसकेको बताए ।यसपटकको निर्वाचनमा हामीले प्रदेश, जिल्ला र स्थानीय तह मात्रै होइन, वडा तहलाई पनि सक्रिय बनायौँ । सबैलाई आ–आफ्नो तहमा सर्वदलीय बैठक राख्न भन्यौँ । सोहीअनुसार सबैले बैठक राखेका छन्,’ उनले भने, ‘प्रदेशदेखि वडासम्मको सर्वदलीय बैठकका कारण राजनीतिक सौहार्दता बढाएको छ ।
यसले समग्र सुरक्षा प्रबन्ध थप मजबुत भएको छ । अब मतदानका लागि मैदान तयार भएको छ ।’ गृहले प्रदेशस्तरका नेताबिच सर्वदलीय बैठक राख्न प्रदेश सरकारलाई र जिल्लास्तरका नेताबिच सर्वदलीय बैठक राख्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको थियो । त्यस्तै, स्थानीय तह र मातहतका वडास्तरीय नेताबिच सर्वदलीय बैठक राख्ने जिम्मा तत्तत् निकायलाई नै भनेको थियो ।
निर्वाचनको मिति घोषणा भएदेखि नै चुनौतीका पाटा पक्षमध्ये महत्वपूर्ण ठानिएको एक थियो मौसमको खराबी । तर, मतदानको दिन देशभरको मौसम पूर्ण रूपमा सफा रहने पूर्वानुमान छ । केही भागमा धुम्म देखिएको मौसम तुवाँलोका कारण भएको र त्यसले निर्वाचनमा असर नगर्ने मौसमविद्हरूले जनाएका छन् । ‘बुधबार र बिहीबार वर्षाको सम्भावना छैन । नयाँ सिस्टम आउने पनि देखिँदैन,’ मौसमविद् हरिप्रसाद दाहालले भने, ‘कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । बिहान तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ ।’
गृहले पनि मौसमका कारण चुनावलाई चुनौती नरहेको निष्कर्ष निकालेको छ । ‘आसन्न निर्वाचनमा सबैभन्दा ठुलो चुनौती मौसम हो कि भन्ने गुनासा प्राप्त भइरहेका थिए । यसलाई पनि हामी मिहिन ढंगले हेर्र्यौँ । यही अवधिमा ३० वर्षअघि देखिएको मौसम विवरणसमेत विश्लेषण गर्यौँ,’ गृहप्रवक्ता काफ्लेले भने, ‘तर, २१ फागुनका दिन मौसमले खासै ठुलो प्रभाव नपार्ने रिपोर्ट आयो । अब निर्वाचनलाई मौसमजन्य चुनौती छैन ।’
निर्वाचन आयोगले मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको छ । जसमा २३ हजार ११२ निर्वाचन केन्द्र निर्धारण गरिएका छन् । निर्वाचनस्थलको संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । अतिसंवेदनशील निर्वाचनस्थलमा १३ देखि ८० जनासम्म, संवेदनशीलमा ९ र सामान्यमा ६ जना सुरक्षाकर्मी परिचालन गरेको छ । खटाइएका कुल तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मीमध्ये सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ४९७, सशस्त्र प्रहरी ३४ हजार ५७६, निर्वाचन प्रहरी एक लाख ४९ हजार ०९० र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर एक हजार ९२१ छन् ।
४६ सय १४ निर्वाचनस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । जसमध्ये सबैभन्दा धेरै बागमतीमा १२ सय ८८ र मधेश प्रदेशमा १२ सय ४६ छन् । त्यस्तै, उपत्यकामा १२, कोशीमा ४३९, गण्डकीमा ३२८, लुम्बिनीमा ४६२, कर्णालीमा ३५८ र सुदूरपश्चिममा ४८१ छन् ।
त्यस्तै, ४४ सय ४२ मतदानस्थल संवेदनशील सूचीमा राखिएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा २३७, कोशीमा ८२१, मधेशमा ७५५, बागमतीमा ४९७, गण्डकीमा ५७७, लुम्बिनीमा ७३८, कर्णालीमा ४२२ र सुदूरपश्चिममा ३९५ छन् । बाँकी २८ सय ४५ स्थल भने सामान्य सूचीमा राखिएका छन् ।
२४ स्थानमा हेलिकोप्टरमार्फत मतदान सामग्री ढुवानी : सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगेका छन् । हिमाली जिल्ला डोल्पाका २० र हुम्लाका चार गरी २४ दुर्गम मतदानस्थलमा हेलिकोप्टरबाट ढुवानी गरिएको छ । १० हजार ९६७ मतदानस्थलमै कर्मचारी र सुरक्षाकर्मी खटिएर मतदानको तयारी गरिरहेका छन् ।
निर्वाचन बिथोल्न खोज्ने १४२ पक्राउ : सुरक्षा संयन्त्रले विगतका निर्वाचनका तुलनामा यो निर्वाचन सुरक्षाका दृष्टिले कम चुनौतीपूर्ण ठानेको छ । किनभने घोषित रूपमै निर्वाचन बहिष्कार गर्ने ठुला राजनीतिक दल यसपटक छैनन् । यद्यपि, स–साना समूह र व्यक्तिले भने निर्वाचन बहिष्कार गरेका छन् । उनीहरूले निर्वाचन बिथोल्न विभिन्न गतिविधि पनि गरेका छन् । प्रहरीले यस्ता गतिविधिमा संलग्न १४२ जनालाई पक्राउ गरेको छ । जसमध्ये ७९ जना हिरासतमा छन् भने ६३ धरौटी तारेखमा छुटेको प्रहरी प्रवक्ता डिआइजी काफ्लेले बताए । प्रहरीका अनुसार यसपटक निर्वाचनमा झडपका घटना न्यून मात्रै भएका छन् । उम्मेदवारी दर्ता हुने दिन झापामा झडपका केही घटना भए पनि अन्यत्र शान्तिपूर्ण भएको प्रहरीको भनाइ छ । सुरक्षा सतर्कता मजबुत भएकाले झडपका घटना रोकिएको डिआइजी काफ्लेले बताए ।
प्रदेशमा एआइजी र अतिसंवेदनशील जिल्लामा एसएसपीको कमान्ड : निर्वाचनमा हुन सक्ने सुरक्षा खतरा टार्न प्रहरीले सातै प्रदेशमा एआइजीलाई खटाएको छ । अतिसंवेदनशील ठानिएका जिल्लामा एसएसपी र संवेदनशील मानिएका जिल्लामा एसपीको नेतृत्वमा थप सुरक्षाकर्मी खटाइएका छन् । प्रहरीका अनुसार कोशी प्रदेशमा एआइजी राजन अधिकारीलाई खटाइएको छ । जबकि प्रदेशको प्रहरी प्रमुख डिआइजी रहने व्यवस्था छ । त्यस्तै, सोही प्रदेशअन्तर्गत झापा र इलामको कमान्ड गर्ने गरी एसएसपी गोविन्द अधिकारीलाई खटाइएको छ । यी दुवै जिल्लामा प्रहरी प्रमुख एसपी रहने व्यवस्था छ ।
मधेश प्रदेशमा भने एआइजी डम्बर विकलाई खटाइएको छ । मधेस प्रदेशका सर्लाही र रौतहटको कमान्ड गर्ने जिम्मा एसएसपी सुरेश काफ्लेलाई दिइएको छ । दुवै जिल्लामा प्रहरी प्रमुख एसपी रहने व्यवस्था छ । बागमती प्रदेशको कमान्ड गर्ने जिम्मा एआइजी सिद्धिविक्रम शाहलाई दिइएको छ । सोही प्रदेशमातहतको दोलखामा एसपी नान्तिराज गुरुङलाई खटाइएको छ । जबकि यो जिल्लामा प्रहरी प्रमुख डिएसपी रहने व्यवस्था छ । सुरक्षा चुनौती अझै बिग्रन सक्ने आकलन भएपछि अहिले दोलखा र रामेछापलाई हेर्ने गरी एसएसपी समेन्द्रसिंह राठौरलाई समेत पठाइएको छ । त्यस्तै, काभ्रे र सिन्धुपाल्चोकमा भने एसएसपी विनोद सिलवाललाई पठाइएको छ । यी दुवै जिल्लामा एसपी प्रमुख रहने व्यवस्था छ ।
गण्डकी प्रदेशमा एआइजी डा. मनोज केसीलाई पठाइएको छ । गण्डकीका कास्की र स्याङ्जामा एसएसपी जनार्दन जिसीलाई खटाइएको छ । यी दुवै जिल्लाको सुरक्षा एसपीको नेतृत्वमा हुने व्यवस्था छ । त्यस्तै, लुम्बिनी प्रदेशमा एआइजी उमाप्रसाद चतुर्वेदीलाई खटाइएको छ । प्रदेशका दुई जिल्ला रुपन्देही र कपिलवस्तुको कमान्डर एसएसपी ऋषिराम कँडेललाई बनाइएको छ । यी दुवै जिल्लाको सुरक्षा नेतृत्वमा एसपी रहने व्यवस्था छ ।
कर्णालीमा एआइजी सुशीलसिंह राठौर र सुदूरपश्चिममा एआइजी हिमालयकुमार श्रेष्ठलाई खटाइएको छ । काठमाडौं उपत्यकाको कमान्डर भने एआइजी ईश्वर कार्कीलाई तोकिएको छ । त्यसबाहेक एसएसपी रमेश बस्नेतलाई पनि उपत्यकाको निर्वाचन सुरक्षा हेर्ने जिम्मा दिइएको छ । नेपाल प्रहरीका अनुसार समग्रमा निर्वाचन प्रयोजनार्थ मुलुकभर ३१ एसएसपी, ४६ एसपी, ४४ डिएसपी र ११० इन्स्पेक्टरलाई थप मद्दतका लागि फिल्डमा खटाइएको छ ।
‘निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीका एआइजीलाई समेत फिल्डमा खटाइएको छ । कतिपय जिल्लामा एसएसपी पनि खटाइएका छन् । एआइजीहरूले मातहतका सम्पूर्ण जिल्लामा सुरक्षा प्रबन्धका सम्बन्धमा समन्वय गर्नुहुन्छ । एसएसपीहरूले सुरक्षा प्रबन्धमा देखिएका त्रुटिहरू औँल्याउनुहुन्छ र त्यसलाई कमान्डरहरूले अनुसरण गर्नुहुन्छ,’ गृहप्रवक्ता काफ्लेले भने ।