पूर्वराष्ट्रपतिलाई आजीवन कारावास

Loading

People’s News Kathmandu : सैन्य शासनको प्रयास र विद्रोहको योजना बनाएको आरोपमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई आजीवन कारावासको सजाय सुनाइएको छ । युनले ३ डिसेम्बर २०२४ मा नेसनल एसेम्बलीलाई सिल गर्न सेना तैनाथ गरेको र विपक्षी राजनीतिज्ञलाई पक्राउ गर्ने आदेश दिएर संविधानलाई उल्ट्याउने प्रयास गरेको सियोलको एक अदालतले फैसला सुनाएको छ । युनको  कार्यले दक्षिण कोरियाको लोकतन्त्रलाई मौलिक रूपमा क्षति पुर्‍याएको छ, न्यायाधीश जी ग्वी–योनले अदालतलाई भने ।

अभियोजकले मृत्युदण्डको माग गरेका थिए । युनको मार्सल ल आदेशले राष्ट्रलाई पहिलेभन्दा बढी ध्रुवीकृत बनाएको छ । सुनुवाइ हुनुभन्दा केही घण्टाअघि युनका समर्थकको विशाल भिड अदालतबाहिर भेला भएको थियो । उनीहरूले ‘युन, फेरि’ लेखिएका ब्यानर बोकेर अदालतमा उपस्थित भएका थिए । फैसलापछि कतिपय प्रशंसक आँसुले भक्कानिएका थिए । सो अवसरमा युनविरोधी प्रदर्शनकारी पनि उपस्थित थिए, जसले उनलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग गरेका थिए । 

युनका वकिलले फैसला राजनीतिक उद्देश्यले अभिप्रेरित भएको बताए र न्यायाधीशले दबाबमा फैसला गरेको आरोप लगाए । यदि दुवै पक्षले पुनरावेदन सुरु गरे भने मुद्दा सर्वोच्च अदालतमा जानेछ, जसको अर्थ फैसलाको टुंगो लाग्न महिनौँ लाग्न सक्छ ।

Leave a Comment