निर्वाचनमा बालबालिका प्रयोग नगर्न कडा निर्देशन

Loading

People’s News kathmandu : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले देशको समग्र सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनपूर्व अनुगमनलाई देशभर तीव्र पारिएको जानकारी दिइएको छ ।

पछिल्लो समय दाङ, रौतहट र पर्सालगायतका जिल्लामा राजनीतिक दलका कार्यकर्ता र विभिन्न समूहबिच विवाद बढ्दै जाँदा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ । यसले शान्तिसुरक्षामा गम्भीर चुनौती थपिएको आयोगको ठहर छ । आयोगले राजनीतिक दलका नेता तथा उम्मेदवारहरूबिच लक्षित अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिहरूले निर्वाचनको वातावरण बिथोल्न सक्ने चेतावनी दिएको छ । यस्ता गतिविधिले सामाजिक तथा सांस्कृतिक सदभावमा नकारात्मक असर पार्न सक्ने भन्दै सबै पक्षलाई संयमता र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गरिएको छ ।

विशेषगरी निर्वाचन प्रचारप्रसार तथा राजनीतिक गतिविधिमा प्रत्यक्ष वा परोक्ष रूपमा बालबालिकाको प्रयोग भइरहेको पाइएकाले आयोगले यसलाई तत्काल रोक्न निर्देशन दिएको छ । सामाजिक सञ्जालमार्फत प्रसारित प्रचार सामग्रीमा बालबालिकालाई संलग्न गराउनु आचारसंहिताको गम्भीर उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री बनाउन राजनीतिक दल, नागरिक समाज, विद्यालय, अभिभावक तथा सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी रहने आयोगले स्पष्ट पारेको छ। साथै, सरकार र सम्बन्धित निकायहरूलाई शान्तिसुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्न र नागरिकका मानव अधिकारको पूर्ण सम्मान सुनिश्चित गर्न आग्रह गरिएको छ । 

Leave a Comment