![]()
किन चार जना मात्रै मतदाता ? : मुस्ताङका जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवाली हिउँले यात्रामा बाधा पुर्याएको हिमाली क्षेत्रमा उक्त गाउँका ३९ मतदातामध्ये ३५ जना पोखरा, काठमाण्डौ वा जोमसोममा रहेको उनले बताए । जोमसोमबाट कागबेनी नपुग्दै डोल्पा जाने उकालो बाटो हुँदै मतदान केन्द्रमा पुग्नुपर्ने र त्यहाँको बाटो हिउँले ढाकेको अवस्था रहेको उनले बताए । हिउँ पन्छाइसकेर गाडी जाने अवस्था हुँदा मात्रै सुगम क्षेत्रमा रहेका मतदाताहरू गाउँ फर्किने र मतदान गर्ने अवस्था बन्ने जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताएका हुन् । थप हिमपात भएन भने त्यहाँ पुग्ने मतदाताको सङ्ख्या बढ्छ । हामी अहिले त्यसकै लागि पहल गरेर हिउँ हटाउने काम गर्दै छौँ,” उनले भने । डोजरले हिउँ पन्छाए पनि थप हिमपात भएको अवस्थामा चाहिँ गाउँबाट सुगममा पुगेका मतदाता मतदान केन्द्रसम्म फर्किन सक्ने अवस्था रहँदैन । उनका अनुसार करिब १२ किलोमिटर पहाडी बाटोमा हिउँ पन्छाउनुपर्ने अवस्था रहेको छ । मुस्ताङमा स्थायी ३९ र एक अस्थायी गरी ४० वटा मतदान केन्द्र रहेका छन् । मुस्ताङ र मनाङका निर्वाचन कार्यालयहरूमा निर्वाचन सामग्री पुगिसकेको भए पनि मतपत्र भने मङ्गलवार पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ ।
सामग्री ढुवानीको अवस्था के छ ? : निर्वाचन आयोगले देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयहरूमा अन्य निर्वाचन सामग्री पुगिसकेको र मतपत्र पुर्याउने क्रममा रहेको जनाएको छ । सोमवार मधेश प्रदेशमा मतपत्र पठाइएको र मङ्गलवार बागमती प्रदेशमा पठाइने आयोगले जनाएको छ । कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशमा भने यसअघि नै मतपत्र पुगिसकेको आयोगको भनाइ छ । देशभरिका ७७ जिल्लामध्ये ७२ जिल्लामा ट्रक वा कन्टेनरबाट निर्वाचन सामग्री र मतपत्र जिल्ला निर्वाचन कार्यालयसम्म पुर्याइएको भए पनि बाँकी पाँचवटा हिमाली जिल्लाहरूमा भने हेलिकप्टरमार्फत् पुर्याउन लागिएको आयोगले जनाएको छ । ती पाँच जिल्लामा डोल्पा, हुम्ला, मुगु, मुस्ताङ र मनाङ रहेका छन् । डोल्पा, हुम्ला र मुगुका निर्वाचन कार्यालयहरूमा यसअघि नै सबै निर्वाचन सामाग्री र मतपत्र पुगिसकेको भए पनि मङ्गलवारसम्म मनाङ र मुस्ताङका निर्वाचन कार्यालयमा पुगिसक्ने सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताएका छन् । कतिपय हिमाली जिल्लाहरूमा कति मतदान केन्द्र हुने भन्ने अझै तय हुन बाँकी रहेको उनले बताए ।
अहिलेसम्म डोल्पाको २३ ठाउँमा पुग्नुपर्छ भन्नुभएको छ । हुम्लाको आठ ठाउँमा पुग्नुपर्छ भन्नुभएको छ । अब हिँउ नपरेको अवस्था भयो भने यी ठाउँ घट्न सक्छ्न । हिउँ परिहाल्यो भने यी ठाउँ अझै बढ्न सक्छ्न,” उनले भने । निर्वाचन कार्यालयहरूबाट मतदान केन्द्रसम्म निर्वाचन सामाग्री र मतपत्र पुर्याउनका लागि बुधवारबाट पठाउन थालिने आयोगका सहायक प्रवक्ता न्यौपानेले बताए । त्यसका लागि अवस्था हेरेर हेलिकप्टर वा पैदलै वा खच्चडको प्रयोग पनि गर्नुपर्ने अवस्था आउन सक्ने आयोगले जनाएको छ । हेलिकप्टरबाट पनि पुर्याउन सम्भव नहुने ठाउँमा खच्चडहरूको प्रयोग गरेर पनि मतपत्र पठाउन सक्ने अवस्था हुन सक्छ । जिल्ला निर्वाचन कार्यालयले अवस्था हेरेर व्यवस्थापन गर्छ,” हुम्ला, मुगु र डोल्पाको भ्रमण गरेर फर्किएका सहायक प्रवक्ता न्यौपानेले भने । जिल्ला निर्वाचन कार्यालयमा रहेका निर्वाचन सामग्री र मतपत्रहरू अब मतदान अधिकृत, सहायक मतदान अधिकृतहरूको तालिम सकिएपछि मतदान स्थलहरूमा पठाउन सुरु गरिने आयोगले जनाएको छ । मतपत्र मङ्गलवारसम्ममा सबै ठाउँमा पुगिसक्छ । त्यसपछि १३ गतेबाट मतपत्र र निर्वाचन सामग्री मतदानस्थलहरूमा पठाउन थालिन्छ,” उनले भने । कुनै ठाउँमा भौगोलिक कारणले धेरै दिन लाग्छ भने काठमाण्डौ जस्तो ठाउँमा धेरै दिन लाग्दैन ।
टाढाका मतदातालाई कस्तो व्यवस्था गरिएको छ ? : देशका विभिन्न ठाउँबाट मतदान केन्द्र टाढा रहेको र पायक नभएको भन्दै मतदान केन्द्र सार्न सिफारिस आएको आयोगले जनाएको छ । निर्वाचन आयोगले कुनै पनि मतदान केन्द्र सार्नका लागि आधार, कारण र औचित्य देखिए मात्रै त्यसअनुसार निर्णय गर्ने गरिएको जनाएको छ । आयोगका सहायक प्रवक्ता न्यौपानेका अनुसार यसपालि करिब ७० देखि ८० वटा नयाँ मतदान केन्द्र थप भएका छन् । पहाडी क्षेत्रहरूमा अनि जहाँ धेरै जनसङ्ख्या छ र धेरै दुर्गम भएको क्षेत्र हेरेर मतदान केन्द्र थप गरिएको छ,” सहायक प्रवक्ता न्यौपानेले भने ।