![]()
प्रणालीको बदहाली र नागरिक समस्याहरूको विरोधमा युवाहरूले ‘कक्रोज जनता पार्टी’ (सीजेपी) बनाएर एक अनौठो डिजिटल विद्रोह सुरु गरेका छन् । यो अभियान सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ र यसलाई नगरपालिकाहरूको कार्यशैलीमाथि व्यङ्ग्यात्मक प्रहारका रूपमा हेरिएको छ ।
यस अभियान अन्तर्गत ‘कक्रोज जनता पार्टी’ का समर्थकहरूले देशभर सडकका खाल्डा, फोहोरका थुप्रा, बिग्रिएका बत्ती, सरकारी लापरवाही जस्ता समस्याहरूको फोटो र भिडियो खिचेर पार्टीलाई ट्याग गरिरहेका छन् । उनीहरूको उद्देश्य यस्ता सामग्रीलाई सामाजिक सञ्जालमा फैलाएर प्रशासनमाथि दबाब सिर्जना गर्नु हो । अभिजीत दीपके नामक व्यक्तिले सुरु गरेको यो अभियानमा एउटा भिडियो पनि सार्वजनिक गरिएको छ । उक्त भिडियोमा एक व्यक्ति कक्रोजको मुखौटा लगाएर शहरका सडक, ढल र फोहोर क्षेत्रहरूमा देखिन्छ । भिडियोको मुख्य सन्देश अस्वच्छता र अव्यवस्थित शहरी सेवाप्रति जागरूकता फैलाउनु हो ।
अभियानका प्रमुख गतिविधिहरू
१. खाल्डासँग ‘सर्वाइभल सेल्फी’
युवाहरू सडकका ठूला खाल्डा नजिक उभिएर सेल्फी खिच्छन् र लेख्छन्, ‘आज पनि नलडिकन अफिस पुगें, कक्रोज जस्तै मेरो सर्वाइभल स्किल्स कमालको छ ।’
२. फोहोर थुप्रोको ‘५–स्टार’ रेटिङ
गल्ली र बस्तीमा थुप्रिएको फोहोर तथा दुर्गन्धित ढललाई ‘पर्यटनस्थल’ भन्दै ५–स्टार रेटिङ दिइन्छ ।
३. ‘बेस्ट सिविक फेलियर’ अवार्ड
स्थानीय जनप्रतिनिधि र अधिकारीहरूलाई उनीहरूको क्षेत्रमा सबैभन्दा खराब सडक र जलभरावका लागि व्यङ्ग्यात्मक डिजिटल प्रमाणपत्र दिइन्छ ।
४. भाइरल मीम र रील्स
इन्स्टाग्राम र एक्स (पहिलेको ट्विटर) मा कक्रोज फिल्टर प्रयोग गरी दैनिक समस्याहरू जस्तै दूषित पानी, ट्राफिक जाम र बिग्रिएका सडकहरूबारे व्यङ्ग्यात्मक रील्स बनाइन्छ ।
अभियानको सुरुवात कसरी भयो ?
यो आन्दोलन १५ मे २०२६ मा सुरु भएको मानिन्छ, जब भारतको सर्वोच्च अदालतका एक टिप्पणीपछि सामाजिक सञ्जालमा ठूलो विवाद उत्पन्न भयो । केही युवालाई ‘कक्रोज’ र ‘परजीवी’ भनेर गरिएको टिप्पणीले व्यापक आक्रोश जन्मायो ।
यही आक्रोशलाई आधार बनाएर बोस्टन विश्वविद्यालयमा अध्ययनरत अभिजीत दीपकेले १६ मेमा ‘कक्रोज जनता पार्टी घोषणा गरे । उनले ‘कक्रोज’ शब्दलाई अपमान होइन, प्रतिरोधको प्रतीकका रूपमा प्रयोग गरेका छन् । अभिजीत महाराष्ट्रको छत्रपति संभाजीनगरका ३० वर्षीय हुन् । उनले पत्रकारिता अध्ययन गरेका छन् र २०२०–२०२३ सम्म विभिन्न सामाजिक सञ्जाल अभियानमा काम गरेका थिए । हाल उनी बोस्टनमा स्नातकोत्तर अध्ययन गर्दै छन् ।
विवाद र सरकारी कारबाही
यस अभियानको तीव्र विस्तारपछि सरकारी निकायहरू चिन्तित भएका छन् । सुरक्षा निकायहरूको सिफारिसपछि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा रहेको सीजेपीको मूल अकाउन्ट भारतमा ब्लक गरिएको बताइएको छ । यसपछि अभिजीतले नयाँ अकाउन्टमार्फत अभियान जारी राखेका छन् ।
उनले आफ्ना सामाजिक सञ्जाल अकाउन्ट ह्याक भएको, धम्की आएको र परिवारलाई समेत डर देखाइएको आरोप लगाएका छन् । यस विषयमा दिल्ली उच्च अदालतमा निवेदन दायर गरिएको छ, जसमा अकाउन्ट पुनः सञ्चालनको माग गरिएको छ । अदालतले भने तत्काल अकाउन्ट खोल्ने आदेश दिन अस्वीकार गर्दै समीक्षा समितिलाई मुद्दा अध्ययन गरी निर्णय लिन निर्देशन दिएको छ । अब आगामी सुनुवाइ ७ जुलाईमा तोकिएको छ ।
अभिजीत दीपकेको दाबी
दीपकेले दायर गरेको निवेदनमा भनिएको छ–सीजेपी पूर्णरूपमा व्यङ्ग्यमा आधारित अभियान हो र यसलाई संविधानको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण प्राप्त छ । उनले सरकारले सम्पूर्ण अकाउन्ट बन्द गर्नुको सट्टा केवल आपत्तिजनक सामग्री हटाउन सक्ने विकल्प प्रयोग गर्नुपर्ने बताएका छन् ।