घातक बन्दै तराईको गर्मी

Loading

People’s News : गृष्म ऋतु चलिरहेको छ। तराई–मधेसका जिल्लाहरूमा उखरमाउलो गर्मी छ। घामले मात्रै गर्मी भएको होइन, तराईका जिल्लामा तातो हावा नै बहेको छ। शीतल दिने हावा नै तातेपछि जनजीवन कष्टकर हुने नै भयो। हुनेखानेका लागि घर र कार्यालयमा वातानुकूलित होला, तातोमा सेकिने त मध्यम र विपन्न वर्ग नै हो। जुन संख्या सबैभन्दा धेरै छ।

चिसो र शीतल खोज्न खोलानाला र पानीका मुहान चहार्ने प्रवृत्ति यतिखेर बढ्दो छ। तर बुटवलमा भने पौडी खेल्न जाँदा पाँच जनाले ज्यानै गुमाए। विश्व स्वास्थ्य संगठन अति गर्मीलाई ‘मौन घातक’ भन्छ। भारतमा हरेक वर्ष सयौं मानिस ‘लू’ का कारण मर्छन्। नेपालमा त्यसको आधिकारिक तथ्यांक कमजोर छ। तर अस्पतालका शड्ढयामा यही बेला बिरामीको चाप बढ्छ, अर्थात् तातोले ज्यान जोखिममा पार्छ। ज्यान लिन्छ पनि। बुटवलको तिनाउ नदीमा पौडी खेल्दा ज्यान जानु भनेको पनि गर्मी रोकथामका उपाय सहरमा नअपनाइँदाकै परिणाम हो।

बुटवल होस् या पहाड र तराईका जुनसुकै सहर केवल कंक्रिटका जंगल बनेका छन्। क्रंकिटका जंगलहरू बनेका सहरले तातो भट्टीजस्तो बनाएका छन्। शीतल दिने चौतारीमा मासिए, नयाँ बनाइएन। रुख र हरियाली हरायो। जोगाइएन र सहरी वन हुर्काइएन पनि। त्यसमाथि वन फडानी गरेरै सहर बसाइएका छन्। नदीनालाहरूको दोहन औधी छ। तिनाउ नदी एक हो, जो चरम दोहन हुनेमध्येमा पर्छ। गर्मीले विद्यार्थी कक्षा कोठामा बस्न सकेका छैनन्। त्यसैले कतिपय विद्यालय बन्दै गर्नुपर्ने अवस्था पनि छ। संघीय सरकार भने हिमाल, पहाड र तराईमा सोलोडोलो सातामा दुई दिन बिदा गराउँछ। बरु चिसो हुने बेला हिमालमा र गर्मी हुँदा तराईका विद्यालयमा बिदाको प्रबन्ध गर्नु व्यावहारिक हुन्छ। नेपाल सरकारले लू वा गर्मीसम्बन्धी कुनै राष्ट्रिय कार्ययोजना बनाएको छैन। स्थानीय सरकार पनि अलमलमा छन्। 

तातो हावाको लहर चल्नु लू लाग्नु हो। यो एक प्रकारको प्राकृतिक विपद् नै हो। तराईमा बाढीमात्रै विपद् होइन, चिसोमा शीतलहर र गर्मीमा लूको विपद आइलाग्छ। तर हाम्रो राज्य संयन्त्रले केवल भूकम्प, बाढी, पहिरोलाई मात्रै विपद् ठान्छ। त्यसैले गर्मीको लूको जोखिम न्यूनीकरणका उपाय खोज्दैन। त्यसैले लू लाग्दा राज्य उदासीन बस्छ, राहत सिर्जना गर्दैन। दीर्घकालीन उपाय त खोजी नै हुँदैन।

खासमा सार्वजनिक स्थल वा हरियाली बगैंचाहरू सहरमा अनिवार्य गरिनुपर्छ। सहरका सडक किनार हरियाली हुनुपर्छ। घरघरमा रुख अनिवार्य रोपिनुपर्छ। जति सानो जमिनमा पनि घर बनाउन स्वीकृति दिइहाल्ने नियम बदल्नुपर्छ। खुला र रुख रोप्ने ठाउँ पनि भएका घडेरी अनिवार्य गरी प्रकृतिसँग हालेमालो गर्ने बसोवास क्षेत्र विकास गरिनुपर्छ। तबमात्रै लू वा गर्मीको तापले ज्यानै लिने दिन आउँदैन।

Leave a Comment