हिजो पनि आज पनि सेटिङमा नदी दोहन

Loading

पिपुल्स न्युज मधेश प्रदेश : तराईका धेरै जसो नदी, खोला यतिबेला अवैध दोहनको चपेटामा परेको छ । नदी सँधै अबैध रुपमा हुने दोहनको मारमा पर्ने गरेको छ । स्थानीय सरकारले समयमै टेण्डर नगर्दा माफियाहरुले फाइदा उठाउने मौका पाईरहेका छन् । कानुनी रूपमा टेण्डर प्रक्रिया नै पूरा नभएको अवस्थामा पनि नदीका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टरले ढुंगा, गिटी र बालुवा प्रहरी तथा वन निरिक्षकको आँखा अगाडीबाट निकासी भईरहेको स्थानीय बताउँछन् । सामान्य चोरीझैं लुकेर नभई प्रहरी, केही जनप्रतिनिधि र तस्करबीचको कथित ‘सेटिङ’ मै खुलेआम नदी दोहन हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय समाजसेवीले बताए ।

नदीका बिभिन्न घाटमा बिहानदेखि रातिसम्म नदीजन्य पदार्थ (ढुँगा, बालुवा, माटो, गिट्टी) उत्खनन भइरहेको स्थानीय बताउँछन् । कानुनले टेण्डर बिनाको उत्खननलाई पूर्णरूपमा निषेध गरे पनि व्यवहारमा भने नदी दोहन नियन्त्रण बाहिर गईरहेपछि र बाढी र कटानको जोखिममा पर्ने चिन्ता बढेको स्थानीयले बताए । टेण्डर प्रक्रिया अलपत्र पारेर भनसुन र सेटिङमै नदि दोहन जारी रहेको देखिएको छ । सेटिङ्गमा हुने उत्खननबाट प्रहरी, वन निरिक्षक, स्थानिय नेता, पालिका प्रतिनिधि तथा स्थानिय गुण्डालाई प्रसस्त फाईदा हुने गर्छ । हाल नेपालमा नदी दोहन गर्नेहरु मालामाल भईरहेका छन् ।

स्थानीय स्रोतका अनुसार अवैध उत्खननमा संलग्न ट्याक्टर व्यवसायीले विभिन्न सुरक्षा निकायलाई मासिक रकम बुझाउने गरेका छन । कमिशन पाएकै कारण प्रहरी कार्यालय अगाडिबाटै नदीजन्य पदार्थ बोकेका ट्याक्टर निर्वाध रूपमा ओहोरदोहोर गर्ने गरेको स्थानीय समाजसेवीको दाबी छ । स्थानीयवासीका अनुसार केही जनप्रतिनिधि स्वयंले आफ्नै ट्याक्टर प्रयोग गरेर उत्खननमा संलग्न रहेको तथा केहीले व्यापारीसँग आर्थिक लाभ लिएर मौन समर्थन गरिरहेको अवस्था छ । नदी संरक्षण र राजस्व व्यवस्थापन गर्ने निकाय नै विवादमा मुछिँदा अवैध कारोबारी थप हौसिएको स्थानीयको भनाइ छ ।

नदी अनुगमन तथा नियन्त्रणको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिमाथि समेत निष्क्रिय बनेको आरोप लागेको छ । स्थानीयका अनुसार नियमनकारी निकायको बेवास्ता र सुरक्षा निकायको कथित संरक्षणकै कारण नदी क्षेत्रबाट दैनिक सयौं ट्याक्टर नदीजन्य पदार्थ ढुवानी भइरहेको छ । विभिन्न स्थानमा ठूलो परिमाणमा गिटी, बालुवाको अवैध भण्डारण समेत गरिएको पाइन्छ । सरकार र प्रहरीलाई चुनौति दिने गरि सडक मै भण्डारण गरेको पनि देखिन्छ तर देखेर पनि नदेखे झै गर्नु नै कमिशनको ठुलै खेल रहेको प्रष्ट हुन्छ ।

Leave a Comment