![]()
People’s News : मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो तनावलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चासो व्यक्त गरेको छ । संघले इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइनलगायतका देशमा रहेका करिब १९ लाखभन्दा बढी नेपालीको सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै एनआरएनएले विषम परिस्थितिमा आफ्नो सुरक्षाको विशेष ख्याल गर्न सम्बन्धित देशमा रहेका सम्पूर्ण नेपालीहरूमा अपिल गरेको हो ।

संघले सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासले जारी गरेका सुरक्षा निर्देशनहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनुहोस् र सुरक्षित स्थानमै बस्नुहोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक यात्रा नगर्नुहोस् तथा स्थानीय अवस्थाबारे निरन्तर अद्यावधिक रहनुहोस् । साथै, हालको अवस्था सामान्य नभएसम्मका लागि मध्यपूर्वका देशहरूमा यात्रा गर्ने योजना स्थगित गर्नसमेत संघले सुझाएको छ ।
कुनै पनि आपत्कालीन अवस्थाका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी), एनआरएनए सचिवालय, स्थानीय नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन पनि संघले आग्रह गरेको छ । यसैबीच, एनआरएनएले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिन आग्रह गरेको छ । नेपालीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापन (उद्धार) का लागि अविलम्ब प्रभावकारी कदम चाल्न संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
