बैदेशिक रोजगार ठगी बढ्दो: युवाको सपना, दलालको जाल

Loading

पिपुल्स न्युज काठमाडौं — वैदेशिक रोजगारीको आकर्षणसँगै ठगीका घटना दिनानुदिन बढ्दै गएका छन्। राम्रो कमाइको लोभ देखाएर युवालाई विदेश पठाउने नाममा लाखौं रुपैयाँ असुली गर्ने गिरोह सक्रिय हुँदा हजारौं नेपाली ठगीको सिकार बन्न बाध्य छन् ।

वैदेशिक रोजगारी विभागका अनुसार पछिल्लो समय उजुरीको संख्या उल्लेख्य रूपमा बढेको छ। पीडितहरूलाई नक्कली करारपत्र, झुटा भिसा र अवैध म्यानपावरमार्फत विदेश पठाउने आश्वासन दिई रकम असुल्ने र अन्ततः सम्पर्कविहीन हुने प्रवृत्ति मौलाउँदै गएको छ ।

विशेषगरी खाडी मुलुक र मलेसिया पठाउने भन्दै दलालहरूले गाउँ–गाउँमा सञ्जाल फैलाएका छन्। “छिट्टै भिसा आउँछ” भन्दै पटक–पटक पैसा उठाउने तर अन्त्यमा न काम, न पैसा—यस्तो अवस्थामा धेरै युवा ऋणको बोझमा परेका छन् ।

सरकारले कडा कारबाहीको दाबी गरे पनि कार्यान्वयन फितलो देखिएको छ। अवैध एजेन्टहरू खुलेआम सक्रिय छन् भने केही म्यानपावर कम्पनीमाथि समेत मिलेमतोको आरोप लाग्दै आएको छ । पीडितले न्याय पाउन वर्षौं कुर्नुपर्ने अवस्था छ ।

विज्ञहरूका अनुसार समस्या समाधानका लागि निगरानी कडा बनाउनुका साथै जनचेतना अत्यावश्यक छ। “आधिकारिक म्यानपावर र सरकारी प्रक्रिया नअपनाउँदा ठगी बढेको हो,” एक श्रम विज्ञले भने, “सस्तो र छिटोको लोभमा युवाहरू फसिरहेका छन् ।

यता, सरकारले अनलाइन प्रणालीमार्फत पारदर्शिता बढाउने र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। तर जबसम्म प्रभावकारी अनुगमन र दण्डहीनताको अन्त्य हुँदैन, तबसम्म वैदेशिक रोजगारको नाममा हुने ठगी रोक्न चुनौतीपूर्ण नै रहने देखिन्छ ।

Leave a Comment