मधेशीले दशैं मनाउँदैनन् ?

 

तराईमा बडादशैंलाई दुर्गापूजा, नवरथा, नवरात्रि वा दशहरा भन्ने गरिन्छ । मध्यरातमा खासगरी घरका बालबालिकालाई दुष्ट प्रवृत्तिको प्रभावबाट जोगाउन भन्दै नाइटोमा कालो टीका लगाइदिने, घाँटीमा लसुन झुन्ड्याउने, आँखामा गाजल लगाइदिने र टोल–छिमेकमा हिंडडुल नगर्न सुझाव दिइने प्रचलन अझै पनि छ ।

घटस्थापनाको दिनलाई ‘कलस्थापन’ भनिन्छ । यस दिन बिहानै घर तथा आँगन गोबरले लिप्छन् । शहर–बजारमा गोबर नभए पनि घर सफा तथा लिपपोत गरेर पूजा शुरु गरिन्छ । कतै–कतै घटस्थापना गर्नुअघि कलश यात्रा निकाल्ने परम्परा समेत रहेको छ । यो विधिसँगै दुर्गा पूजाको आरम्भ हुने गर्छ । नवदुर्गाको पूजालाई नवरात्रि भनिन्छ । धेरैले यो नवरात्रिमा अलिनो खाने, फलाहार मात्रै गरेर दैनिक पूजा आराधना गर्ने हुन्छ ।

जमरा राख्दैनन् कि ?

टीकाको दिन जमरा लगाएर हिंडेको कमै देखिने भएकाले धेरैलाई मधेशीहरूले जमरा राख्दैनन् कि भन्ने लाग्न सक्छ । तर वास्तविकता फरक छ । तराईमा दशहराको अवसरमा कतै–कतै देवस्थानको सामूहिक पूजा गर्ने परम्परा छ । त्यसैले नजिकका शक्तिपीठ, देवस्थान तथा गाउँका मन्दिरहरूमा सामूहिक रूपमा जमरा राख्ने चलन रहेको छ ।

तर कसै–कसैले घरमा नवरात्रि पूजा शुरु गरेका हुन्छन् । उनीहरूले घरमा नै पनि जमरा राख्छन् । कतै–कतै दुर्गा भगवतीको माटोको मूर्तिलाई विभिन्न ठाउँमा पण्डाल बनाई स्थापना गरिएको हुन्छ । दशैंका लागि भनेर तयार गरेको अस्थायी पण्डालको मन्दिर, ठूला–ठूला माटोको मूर्ति अनि पूजा र मेला । यो थप विशेषता हो, दशहराको ।

कसै–कसैले यसै स्थलमा जमरा राखेका हुन्छन् । टीकाको दिन यसरी राखिएको जमरा र टीका घर–घर गएर भन्दा पनि नौ दिन पूजा गरेका पुजारीले भक्तजनलाई आशीर्वादको रूपमा लगाइदिने हुन्छ ।

खसी काट्दैनन् ?

दशैंको रमाइलो पक्ष भनेको खसी काट्नु पनि हो । मधेशी समुदायमा खसी काट्ने भन्दा पनि ‘बलि’ दिने मात्रै हुन्छ भन्दा पनि हुन्छ । तर बलि चाहिं खसीको हुन्छ भन्ने छैन । सामान्यतया घटस्थापनाको दिनदेखि मूर्ति स्थापना गरिए पनि मूर्तिको आँखा भने छोपेर राखिएको हुन्छ । पूजापाठ हुन्छ तर आँखा खोलिएको हुँदैन ।

सप्तमीको दिनमा मूर्तिको आँखा खोलिने चलन रहेको छ । दुर्गा भगवतीको आँखा खोलेपछि देवीलाई बलि दिने चलन रहेको छ । भक्तजनहरूले भाकल गरे अनुसार तथा दक्षता अनुसार खसी, बोका, राँगा, परेवा, हाँस आदिको बलि दिन्छन् । शाकाहारीहरूले घिरौंला, कुभिण्डो आदिको बलि दिन्छन् । मधेशी समुदायका शाकाहारीहरूले दशैंको बेला घिरौंला, कुभिण्डोलाई बलिको प्रतीक मानेकाले खाने गर्दैनन् ।

दशैंमा नृत्य

मधेशी समुदायले नवरात्रमा विशेष किसिमको लोकनृत्य गर्ने हुन्छ । घैंटोमा धेरै प्वाल पारेर त्यसमा दियो राखी टाउकोमा राखेर महिलाहरूले दैनिक जसो नृत्य गर्ने गर्छन् । यसलाई ‘झिझिया नृत्य’ भनिन्छ । दशैं झिझिया नृत्यको लागि पनि त्यति नै बढी प्रसिद्ध छ । लोक नाच, सांस्कृतिक झाँकी जे भने पनि यसले मधेशको दशैंलाई अझ बढी रोमाञ्चक र अलौकिक बनाएको हुन्छ ।

निकै फरक धुन र लोक लयतालमा आधारित झिझिया नृत्यलाई कतिपयले तान्त्रिक अनुष्ठान भन्छन् भने कतिपयले यसलाई धामी–झाँक्री र भूतप्रेतसँग जोडेर पनि बखान गर्छन् । तर झिझिया नकारात्मकताको विरुद्धमा सकारात्मक उद्घोष रहेको मिथिलाका विद्वान्हरूको विश्लेषण छ । अन्धकारमय रातमा माटोको घैंटोमा असंख्य प्वाल पारी त्यसभित्र दियो हाली टाउकोमा राखी गाउँ र टोलका हरेक गल्लीबाट गीत गाउँदै नाच्दै निस्कने लोक कलाकारहरूको टोलीले अन्धकारमा ज्योतिको जितको सन्देश दिने गर्दछन् । नकारात्मक ऊर्जालाई सकारात्मक सोचले परास्त गर्न सक्ने बयान पनि गर्ने गर्छन् ।

नृत्य गर्ने महिलाहरूले खासगरी आसुरी शक्तिलाई गाली गर्ने, विरोध गर्ने गर्छन् । घटस्थापनादेखि दश दिनसम्म विशेष रूपमा झिझिया नाच नाच्ने चलन रहेको छ । पूर्णिमाको दिन झिझियाको विशेष पूजा हुन्छ । र, पानीमा विसर्जन गरेर त्यसलाई समापन गर्ने चलन छ ।

खोइच भर्ने चलन

मधेशमा फूलपातीकै दिनदेखि दुर्गा भवानीलाई खोइच भर्ने परम्पराको पनि आफ्नै विशिष्ट महत्व छ । फूलपाती भित्र्याइसकेपछि बिहानदेखि अबेर रातिसम्म तराई जिल्लाका मन्दिरहरूमा तराईका मात्र नभई भारतका विभिन्न ठाउँबाट पनि आउने भक्तजनहरूको खोइच भर्नका लागि घुइँचो लाग्ने गर्दछ । मधेशी समुदायका महिलाहरूले भर्ने खोइच देवी दुर्गाको मुख्य ‘चढावत’ भएको मानिन्छ ।

देवीलाई खोइच भरेपछि सबै मनोकामना पूरा हुने, देवीको दरबारबाट कोही खाली हात फर्किनु नपर्ने जनविश्वास छ । खोइच भर्ने महिलाले नुहाई–धुवाई गरेर, उपवास गरेर देवीको मूर्ति अगाडि आफ्नो मनोकामना सहित साडीको आँचल (खोइच) थापेर पूजा गर्ने हुन्छ । तराईमा नवबेहुलीलाई माइतबाट ससुराली फर्कंदा होस् या ससुरालीबाट माइत जाँदा खोइच दिए जस्तै दुर्गा भवानीलाई खोइच दिएको परम्परामा तराईमा बसोबास गर्ने पर्वते महिलाहरू पनि सरिक हुन थालेका छन् ।

नेटुवा नाच र मेला

दशहरा मेलामा नेटुवा नाच पनि गरिन्छ । यसरी मेला, मूर्ति बनाएको स्थल तथा मन्दिरमा नेटुवा नाच गराउँदा विभिन्न समस्या समाधान हुने, चिताएको पूरा हुने, घर–परिवारमा खुसीको खबर सुन्न पाइने, रोग–व्याधिबाट मुक्ति पाइने धार्मिक मान्यता तथा आस्था रहिआएको छ । त्यस्तै यो बेला विभिन्न धार्मिक स्थल तथा शक्ति पीठहरूमा ठूलो मेला लाग्ने गरेको छ । मेलामा विभिन्न खेलको आयोजना गरिएका हुन्छन् । विभिन्न स्थानमा अहिले पनि कुस्ती प्रतियोगिता आयोजना हुने गरेको छ ।

मधेशीहरूले दशैं मनाउँदैनन् भन्ने सोच्नु चाहिं गलत नै हो । तर मनाउने तरिका अलिक फरक छ । मौलिकता र विशेषता बोकेको तराई वा मधेशीहरूको महान् चाड हो भन्दा फरक नपर्ला।

साभार :Onlinekhabar

 

Leave a Comment