सिमा सुरक्षा र राष्ट्रिय अखण्डताका पक्षमा सत्तीसाल – भैरब रिसाल

Loading

Peoples News/Jwala shrma/kathmandu : भैरब रिसाल एक बहुआयामिक ब्यक्तित्व हुनु हुन्छ । जिबनको दसौं दसक पार गर्न लाग्नु भएका रिसालको जिबनका धेरै आयामहरु छन । बाल्यकालमै आमा गुमाएको मातृ टुहुरो,किसोराबस्थाको चञ्चले केटो, छात्राबासमा बसेर पढने युबा बिध्यार्थी, छात्र संघ र बिध्यार्थी फेडेरेसनको नेता , कम्युनिष्ट पेर्टीको  कार्यकर्ता, पत्रिकाको रिपोटर देखि सम्पादक सम्म, गाउलेको बिकासे अगुवा, सामाजिक कार्यकर्ता,जनगणनाको अधिकृत, राससको रिपोटर देखि चिफ सम्म , आईडिएसको सामाजिक बैज्ञानिक,पर्याबरणिय अभियन्ता, बरिष्ठ पत्रकार, रेडियो कर्मी, प्रशिक्षक,लेखक, जेल सुधारक असल बाबु र ब्यबहारिक पति लगाएत बिभिन्न आयामबाट वहाँलाई नियाल्न सकिन्छ। यस लेखमा भैरबदाईलाई मैले सीमा सुरक्षा,राष्ट्रियता र राष्ट्रिय अखण्डताका पक्षमा वहाँले निभाउनुभएको भुमिकाको बारेमा चर्चा गर्ने कोसिस गरेको छु ।  

मेरो पत्रकारिता र भैरबदाईसंग भेट :   भैरब रिसालको नाम पत्रकारिता जगतमा सानै उमेर देखि सुन्दै आएको थिएँ। भेटेसम्म उहाँका रचनाहरु खोजेर पढ्ने गरेको थिएँ । बिशेषगरी भैरबदाई कम्युनिष्ट पृष्ठभुमिको पत्रकार भएको र म आफुपनि कम्यनिष्ट पार्टीको सदस्य र पत्रकारितामा रुचि राख्ने भएकोले वहाँ प्रति मेरो आकर्षण बढेको थियो । २०४९ साल देखि म आफुपनि पत्रकारितामा जोडिएँ। जनएकता साप्ताहिकको जनकपुर क्षेत्रको संबाददाताको रुपमा २०५२ सालको बैसाखमा मैले लेख्ने समाचार र राजनितिक बिषय मन परेको भनेर दिल्लिबाट प्रकासित एक दैनिक पत्रिकाको नेपाल बिट हेर्ने जनकपुरकै एकजना पत्रकार मित्रले मलाई उक्त पत्रिकाको लागि सम्बाददाता को रुपमा कामगर्न आग्रह गर्नुभयो । बिषेशगरी राजनीतिक समाचार र लेखहरु लेख्नको लागि । मैले एउटा समाचार र एउटा लेख वहाँलाइ दिएर पठाएँ। परिक्षणको रुपमा वहाँले त्यसलाई दिल्ली पठाउनु भएछ । दुबै स्विकृत भएर प्रकासित भएछन । त्यसपछि वहाँले मलाइ नियुक्ति पत्र लिन दिल्लि जानुपर्छ भन्न थाल्नु भयो । म त्यसबेला राराब क्यामपस जनकपुरमा स्नातक दोश्रो बर्षमा पढ्दै थिएँ । तत्कालिन नेकपा (एकताकेन्द्र)को धनुषा जिल्ला सदस्य र अनेरास्वबियू (क्रान्तिकारी ) को जनकपुर-सगरमाथा क्षेत्रीय समितिको संयोजक समेतको जिम्बेवारीमा थिएँ । मेरा दुइटी बहिनिहरु मसंगै बसेर पढ्दै थिए आइएमा । पार्टी भरखर फुटेर नेकपा (माओबादी)को जन्म भएको थियो। बिध्यार्थी संगठन पनि फुटेको थियो डि.आर. पौडेलजी सांयोजक को जिम्मा लिएर साथीभाइ भेट्दै जनकपुर आएर भरखर फर्कनु भएको थियो।पार्टीमा कुन कार्यकर्ता कता गयो ? के गर्दै छ ? कस्को संगतमा छ ? भन्नेकुरा असाध्यै चासो राख्ने बेला थियो त्यो। त्यतिबेला भारत र हिन्दी भन्ने बित्तिकै बिस्तारबादी र प्रभुत्वादी भन्ने बुझिन्थ्यो | झन म भारतीय पत्रिकाको संबाददाताको रुपमा कामगर्छु भन्ने थाहा भएको दिन सिधै भारतीय दलालको पगरी आइलाग्थ्यो र पार्टी भित्र बसेर भारतकोलागि सिआइडिइको कामगरेको भन्ने आरोप लागिहाल्थ्यो।

यस्तो परिस्थितिमा मैले ती मित्रलाइ आफुलाई परेको अप्ठ्यारोको बारेमा भन्न सकिन र बिभिन्न बाहना बनाएर टार्न थाँले | साथी १५ दिन जस्तो भारत तिर हुन्थे अनि १५ दिन जस्तो मात्र नेपाल बस्थे | नेपाल आऊने बित्तिकै मलाई खोज्दै कोठामा आई पुगिहाल्थे | उनले धेरै कोसिस गर्दापनि मैले नियुक्तिपत्र लिन दिल्लि जाने आँट गर्न सकिन न त दिल्ली जान नसक्नुको सही कारण बताउन सकें | मैले धेरै झुलाए पछि उनि म संग नराम्रो तरिकाले रिसाए र मसंगको सम्बन्ध नै बिग्रियो | यसरी मैले ब्यबसायिक पत्रकारिता गर्ने एउटा राम्रो अबसर गुमाएँ तर जनएकता साप्ताहिकको लागि भने २०६३ साल सम्म केहि न केहि लेखिरहें | २०५४ सालमा स्नातक पास गरेपछि म स्नातकोत्तर पढ्न किर्तिपुरमा भुगोल केन्द्रिय बिभागमा भर्ना भएँ। संयोगबस एउटा कार्यक्रममा भेरबदाईसंग थापाथलीमा भेट भयो। वहाँको बारेमा जे सुनेको थिए त्यस्तो लागेन। पहिलो भेटमै मलाई वहाँ सहज,सरल र मिलनसार लाग्यो।

मेरो थेसिस र भैरबदाईको सुझाब । 

भूगोल मेरो रुचिको बिषय थियो । बिध्यार्थी संगठनमा कामगर्दा बिध्यार्थी साथीहरुलाई नेपालको शिक्षा नीति गलत भएको बताउदै आएको मलाई केन्द्रिय क्याम्पस (त्रिभुवन विश्व बिध्यालयमा) मा पढाउने हाम्रो परिपाटी प्रति पटक्कै चित्त बुझेन । त्यसबेला प्रा.डा.मंगलसिध्दि मानन्धर त्रि बि भूगोल केन्द्रिय बिभागको प्रमूख हुनुहुन्थ्यो । वहाँ त्यतिबेला नेकपा (एमाले)को संगठित पार्टी सदस्य र बुध्दिजिबि फाँटको नेत्तृत्व गर्नुहुदो रहेछ , म अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्य र बागमति क्षेत्रीय समन्वय समितिको संयोजकको जिम्बेवारीमा थिएँ।  वहाँ संग धेरैपटक नेपालको शिक्षा नीतिको बारेमा छलफल भयो तर निस्कर्षमा पुग्न सकिएन । हामीले पढाउने शिक्षा हाम्रो जिबन ब्यबहारमा कहि कतै कहिल्यै लागु नहुने र शैक्षिक बेरोजगार मात्र उत्पादन गर्ने अनि नीजि र सरकारी स्कुलले उत्पादन गर्ने बिध्यार्थी हरुको बिचको खाडलले भविष्मा ठुलो नकारात्मक असर पार्ने छ भन्ने कुरा गर्दा बहाँले तिमिहरुले राजनीति बुझेका छैनौ। भने जस्तो सजिलो काहाँ छ ? बिश्वमा एउटा ट्रेण्ड चलेको छ नेपालले मात्र चाहेर केहि हुदैन भन्नु हुन्थ्यो। पछि वहाँ भूगोल बिभाग छोडेर योजना आयोगको उपाध्यक्ष र शिक्षा मन्त्रि (२०६३) समेत हुनुभयो ।

छलफलकै सिसिलामा अरु बिभागले नगरेपनि भुगोल केन्द्रीय बिभागले चाँही हरेक बर्ष प्रत्येक बिध्यार्थी मार्फत केही न केहि नयाँ अनुसन्धान गर्ने भन्ने सहमति मंगलसिध्दि सर संग भयो। सरकै सल्लाह र सुझावमा मैंले त्यतिबेलाको जल्दोबल्दो बिषय महाकाली सिमा बिबाद सम्बन्धि बिषयमा अध्ययन अनुसन्धान गर्ने निर्णय गरें । भैरबदाई संग २०५५ देखि पत्रकारिताको शिलशिलामा भेट्न थाँलेको थिएँ। दोश्रो बर्षको पाठ्यक्रममा २०५६ मा ५० पुर्णाङ्कको सेमिनार पेपर प्रस्तुत गर्नु पर्ने भयो। २०५७ मा महाकाली सिमा बिबाद र बास्तबिकता’ बिषयमा सेमिनार पेपर तयार गरें। मानन्धर सरले पेपर राम्रो छ यसैमा थेसिस लेख भन्नु भयो। २०५७ मैं ‘महाकाली सिमा बिबाद र वास्तबिक काली नदी” शिर्षकमा थेसिस लेख्न  शुरु गरें । मानन्धर सर नै मेरो थेसिसको गाईड हुनुहुन्थ्यो। २०५७ देखि थेसिस पेपर तयार गर्ने सिलसिलामा भने दाईलाई धेरै पटक भेटेर सुझाब लिएको थिएँ।

 नेपालको नक्सांकन र सिमांकनको काम बाँकी रहेछ ।  

सेमिनार पेपर लेख्न सामाग्रीहरु जुटाउदै जादाँ मलाई थाहा भयो नेपालको नक्सांकन र सिमांकन दुबैकाम पूर्ण भएको छैन। नक्सांकन भएको ठाँउहरु पनि कतिपय बिबादित छन। नेपालको नक्सा जस्तो देखाईएको छ त्यस्तो होईन । महाकाली नदीको उद्गम बिन्दु लिम्पियाधुरा हो । जुन नेपालको चलन चल्तिको नक्सामा छैन मात्र होईन, कालापानी देखि लिम्पिया धुरा सम्मको नेपालको भूभाग नै नक्सामा छैन भन्नेकुरा मैले त्यस बखत प्रष्टसंग थाहा पाँए। तर एक पटक महाकाली नदिको उद्गम स्थल भ्रमण गरेर आउने र थेसिस पुरागरी बुझाउने सोच संकटकाल पछि पुरैसमाप्त जस्तै भयो। २०५८ सालमा संकटकाल लागेपछि मैले किर्तिपुरको बसाई पुरै छोडें। तत्कालिन पार्टीको ३ नं. ब्यूरो (नारायणी–गण्डकी-धबलागिरी) अन्तर्गत कास्की जिल्ला पार्टी र बिध्यार्थी मोर्चाको ब्यूरो संयोजकको जिम्मेवारी लिएर पोखरा गएँ। थेसिस लेख्नेकाम पुरै रोकियो । २०६३ को जनआन्दोलनको सफलता पछि फेरी काठामाण्डौ आएँ । पुराना सामाग्री सेनाले लगेकोले फेरी नयाँ ढंगले काम अगाडि बढाँए। यस बिचमा भैरब दाई धेरै पटक भेटेर छलफल भयो। त्यस बेला मंगलसिध्दि सरले छोडिसक्नु भएकोले प्रा. ह्रृदयलाल कोईराला सरले मलाई गाईड गर्नु भयो। दुईबर्ष पुरै मेहनत गरेपछि बल्ल २०६५ सालमा मैले थेसिस बुझाएँ।

सीमा अतिक्रमण प्रतिरोध समिति र भैरबदाई

खासगरी २०५३ सालमा महाकाली सन्धि सार्बजनिक बिबादमा आएपछि लिम्पयियाधुरा-कालापानी क्षेत्रको बिबाद सार्बजनिक भयो। काली नदी र यसको उद्गम स्थल कुन हो ? भन्ने बिबाद चल्यो र कालापानीमा भारतीय सेना बंकर सहित क्याम्प बनाएर बसेको खबर सार्बजनिक भयो। यसले देशभक्त नेपालीहरुलाई संबेदनशिल बनायो। उनिहरुले यसबारे खोज अनुसन्धान गर्नुपर्ने बिषयमा छलफल चलाए । २०५५ साल असार १२ गते काठमाण्डौमा आयोजना गरिएको सचेत,देशभक्त नागरिकगरुको एक भेलाले पध्मरत्न तुलाधरको संयोजकत्वमा ३९ सदस्यीय “सिमा अतिक्रमण प्रतिरोध समिति, नेपाल” गठन गर्यो। समितिले भरपर्दा र आधिकारिक सत्य तथ्य प्रमाणहरुको खोजिगर्न पध्मरत्न तुलाधरको संयोजकत्वमा भैरब रिसाल, बुध्दिनारायण श्रेष्ठ, मंगलसिध्दि मानन्धर, रामेश्वरमान अमात्य र नारायण कृष्ण न्हुक्षे प्रधान, रहनु भएको ६ सदस्यीय “नापनक्सा खोजबिन टिम” गठन गर्यो । सैगरी चैतन्य मिश्रको संयोजकत्वमा डा.राजेश गौतम,डा.शुरेन्द्र के.सी ,महेश्वर मान श्रेष्ठ ,चेतेन्द्र जंग हिमाली,ऋषिरषज लुम्साली,गणेश ठगुन्ना,र सिन्धुनाथ प्याकुरेल सदस्य रहनु भएको ८ सदस्यीय “ऐतिहासिक तथ्य खोजबिन टिम” गठन भयो । दुबै टिमको सदस्य सचिबमा श्याम श्रेष्ठ चुनिनु भयो। भैरवदाई आफै भारतद्वारा बिबादित त्यस क्षेत्रमा १०१८ सालमा जनगणना गराएर आउनु भएको एक जिउदो साक्षी प्रमाणको रुपमा खडा हुनुभयो।

थेसिस लेखनको क्रममा मैले दाईलाई भेट्दा २०१८ सालमा वहाँले जनगणना अधिकृत भएर कामगर्दा घुमेको भूगोलको बारेमा बडा रमाईलो तरिकाले सुनाउनु भएको थियो। लिम्पियाधुरा-कालापानी मात्र हैन सुस्ता, पशुपति नगर लगाएत थुप्रै ठाँउहरुमा हाम्रो भुमिमा दख्खल गरेको छ हिन्दुस्थानले भन्नु भएको थियो। हाम्रो नेत्तृत्वले हिन्दुस्थान संग डटेर कुरा गर्न सक्दैन भन्ने वहाँको चिन्ता थियो। भन्नु हुन्थ्यो, नागरिकको तर्फबाट ठुलै  दबाबको आबस्यकता छ । नेपालमा राष्ट्रियता र सीमा बिबाद सम्बन्धि सबाल बेला बेलामा चर्कने र सेलाउने गरेको छ। सरकारमा रहँदा सरकार टिकाटउन भारत सँग राष्ट्रघाति सन्धि संझौता गर्न तयार हुने र प्रतिपक्षमा रहँदा त्यही कुराको चर्को बिरोध गर्ने नेपाली राजनीतिक दल र नेताहरुको दोहोरो चरित्रका कारण नेपाली नेताहरुलाई कसरी खेलाउन सकिन्छ भन्नेकुरा भरतीय नेताहरुले राम्ररी बुझेका छन। यही कारण नेपालको भारत संगको सीमा बिबाद कहिल्यै टुङ्गिने देखीदैन। जन स्तरबाट सरकारमाथि दवाव परेको बेला केही गरेजस्तो गर्ने र फेरी चुप बस्ने प्रबृति नेपाली नेत्तृत्वको छ। त्सैले २०५५-५६ मा चर्किएको लिम्पियाधुरा–लिपुलेक-कालापानी लगाएत नेपाली भुमि अतिक्रमणको मुद्दा २०-२२ बर्ष सम्म सेलाएर बस्यो।

सीमा बचाऔं अभीयान र भैरबदाई

सर्भे अफ इन्डियाले २ नोभेम्बर २०१९ (२०७६ कार्तिक १८)  मा जारी गरेको भारतको आठौं संस्करणको राजनीतिक नक्शाले नेपाल र भारतबीचको २०० वर्ष पुरानो सुगौली सन्धिको भाबना बिपरित महाकाली पूर्वका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभागलाई भारतीय भुमिमा समेटेर नक्सा प्रकासित गर्यो।

यि नक्सा हरुमा सातौं र आठौ संस्करणमा लिम्पिया धुराबाट आएको नदिलाई कालिनदी देखाईएको छ र अन्तराष्ट्रिय सिमाना कालापानी भित्रपारी देखाईएको छ। जब नेपालमा यो नक्साको बारेमा तिब्र बिरोध भयो त्यसपछि एकमहिना भित्रै नबौं संस्करणमा काली नदीको नाम हटाईएको छ भने दसौं संस्करणमा टिङ्कर भञ्ज्याङबाट आएको सानो खोल्सोलाई कालीनदी देखाईएको छ।

 यसरी नक्सामा नेपाली भुमि लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्र पुरै भारतको भुभाग भीत्र पारेर प्रकासित गरेपछि देशभक्त नेपालीहरु आक्रोशीत भए। सरकार भने प्रतिकृया बिहिन देखियो । २०७६ कार्तिक २५ गते पारिजात स्मृति केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा  भरतीय हस्तक्षेपको बिरुध्द संघर्ष गर्नुपर्ने कुरा उठ्यो। त्यही दिन कार्तिक २८ गते नेपाल ल क्याम्पसमा भेला हुने र भारतद्वारा गरिएको सीमा अतिक्रमणको बिरुध्दमा एउटा समिति बनाएर संघर्षका कार्यक्रम गर्ने निधो गरियो । योजना मुताबिक  २०७६ कार्तिक २८ गते नेपाल ल क्याम्पसमा सम्पन्न भेलाले बरिष्ठ बामपन्थी नेता स्वनाम साथीको संयोजकत्वमा १२५ सदस्यीय “सीमा बचाँऔ अभियान नेपाल”, राष्ट्रिय परिषद्  गठन गर्यो। भैरबदाइ यसमा सदस्य रहनु भयो।

भेलाले मंसिर १ गते भृकुटी मण्डपबाट र्याली सहित नगर परिक्रमा गरी रत्नपार्कमा पुगेर साहित्य सभा गर्ने निधो गर्यो । तत्काल यस परिषद गठनको मुख्यतः दुईवटा उद्देश्य थियो। पहिलोः- सुगौली सन्धिले तोकेको पश्चिमोत्तर क्षेत्रको सम्पूर्ण भूभाग समेटिएको नेपालको आधिकारिक नक्सा जन स्तरबाट प्रकासित गर्ने। दोश्रोः- भारतीय अतिक्रमणको ससक्त बिरोध गर्दै र नेपाल सरकारलाई नेपालको आधिकारिक नक्सा (सुगौली सन्धिले तोकेको पश्चिमोत्तर क्षेत्रको सम्पूर्ण भूभाग समेटिएको नेपालको आधिकारिक नक्सा) प्रकासित गर्न दबाब दिने। त्यसका लागि नेपालका बिभिन्न क्षेत्र र बिधामा बिज्ञता हासिल गरेका जेष्ठ,श्रेष्ठ ब्यक्तित्वहरुको साझा धारणा एक बिज्ञप्ती मार्फत सार्बजनिक गर्ने समेत निर्णय गरियो। उहाहरुलाई भेट्ने र सहमतिलिने निर्णय समेत गरियो त्यसकार्यको संयोजन गर्ने जिम्मा स्वनाम साथीलाई दिईयो।

आह्वान पत्रमा हस्ताक्षर गर्दै भैरब रिसाल साथमा जगत भुसाल।

सोहि निर्णय बमोजिम निम्नानुसारको ब्यक्तित्वहरुको  सहमतिमा “सजग र  सचेत केही नागरिकहरुको सीमा रक्षार्थ सार्बजनिक आह्वान” नामक एक बिज्ञप्ति जारी गरियो, जस्मा भैरब रिसालले पहिलो हस्ताक्षर गर्नु भयो। यो बिज्ञप्तिमा नाम उल्लेखित सबै ब्यक्तिव हरुलाई भेटेर हस्ताक्षर गराईएको थियो। ( हस्ताक्षरित प्रति अहिले उपलब्ध नभएकोला क्षमा चाहन्छु )

मंसिर १ गते जारी सार्बजनिक आह्वान पत्रमा भैरब रिसालको पहिलो हस्ताक्षर ।

भेलाको निर्णय अनुसार नै मङ्सिर १ गते भृकुटिमणडपबाट पदयात्रा सहित नगरपरिक्रमा गरी रत्नपार्कमा पुगेर भारतीय हस्तक्षेपको बिरुद्द साहित्यिक सभा सम्पन्न भयो।

२०७६ मङ्सिर १ गते श्रष्टाहरुको प्रदर्शन(भृकुटि मणडप देखि रत्नपार्क सम्मको  सडक प्रदर्शन।

  नक्सा समिति र भैरबदाई ।  

यही शिलशिलामा २०७६ मङ्सिर ३ गते सीमा बचाऔं अभियानका संयोजक स्वनाम साथी को संयोजकत्वमा हरित कृषि सहकारी संस्थाको सभाहल, बागबजारमा अभियानका सदस्यहरु एबं भूगोलबिद्, नक्साबिद्, सिमाबिद्, परराष्ट्रबिद्, नापी बिज्ञ, जलबिज्ञान बिज्ञ, ईतिहासकार, लेखक, साहित्यकार, पत्रकार लगाएतको उपस्थिति रहेको भेलाले बरिष्ठ पत्रकार भैरव रिसालको संयोजकत्वमा पूर्ब प्रसासक द्वारिकानाथ ढुङ्गेल र त्रिबि भूगोल बिभागका पूर्ब प्रमूख प्रा डा. नरेन्द्रराज खनाल सह संयोजक एबं अभियानका संयोजक स्वनाम साथी, पूर्ब राजदुत तथा परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठ, जलबिज्ञान बिज्ञ जगतकुमार भुसाल, नापी बिभागका पूर्बनिर्देक द्वय बुद्दिनारायण श्रेष्ठ तथा पुन्यप्रसाद ओली, नक्साबिद् एबं त्रिबि भूगोल केन्द्रिय बिभागका उप प्राध्यापक शेर बहादुर गुरुङ, राजनैतिक बिष्लेषक तथा सामाजिक अभियन्ता श्याम श्रेष्ठ, सीमा अध्येता एबं लेखक रतन भण्डारी, सीमा अध्येता कोमलचन्द्र बराल र सामाजिक अभियन्ता रबिन्द्र श्रेष्ठ सदस्य रहनु भएको १३ सदस्यीय नक्सा समिति गठन भयो।

नेपालको अध्याबदिक नक्सा र भैरबदाई

 सोही दिन भैरब रिसालको अध्यक्षतामा बसेको नक्सा समितिको पहिलो बैठकले नेपालको अध्याबधिक नक्सा प्रकासित गर्ने निर्णय गर्यो। यसको प्रारम्भीक ड्राफ्ट गर्ने जिम्मा  नक्साबिद् उप प्रा. शेरबहादुर गुरुङलाई दिईयो भने नक्सा समितिको  कार्यालयको ब्यबस्था नहुन्जेल तत्काललाई हरित कृषि सहकारीको त्यही हललाई नक्सा समितिको संपर्क कार्यालयको रुपमा मान्ने तथा कार्यालय संयोजन र सचिबले गर्नु पर्ने कामको जिम्बेवारी कोमलचन्द्र बराललाई दिईयो। साथै नक्सा  प्रकासन सङ्गै तत्कल गर्ने दुईवटा कामपनि ठोस गर्योः-

पहिलोः- सुगौली संधीले तोकेको नेपालको सम्पुर्ण भुभाग समेटेको नक्सा के कस्तो हुन्छ त्यसको खोजी तथा आबस्यक अनुसन्धान गरी आधिकारिक भुमि समेटिएको नक्सा प्रकासित गरी सार्बजनिक गर्ने र उक्त नक्साका बारेमा जानकारी गराउन नेपाल सरकारका संबन्धित मन्त्रीहरु र संसदीय समितिहरुलाई  ज्ञापनपत्र सहित आधिकारिक नक्सा हस्ताण्तरण गर्ने ।

दोश्रोः- उक्त नक्सा नेपालको संबिधानमा समेट्न सोही अनुसारको निसाना छाप र सांसद मन्त्रीहरुको लोगो लगाएत सरकारी कामकाजका आबस्यक कागजातहरु तयार पारी चलन चल्तिमा ल्याउन बैदेसिक नियोगहरुमा समेत यो नक्सा प्रकासित गरी बितरणगर्न सरकारलाई दवाव दिने।

बैठकको निर्णयानुसार ६ गते नक्साको ड्राफ्ट, अभीयानको लोगो र अपिल समेत तयार भयो। ७ गते भूगोलबिद्हरु प्रा.डा. पिताम्बर शर्मा, प्रा.डा. नरेन्द्र राज खनाल र उप प्रा.शेरबहादुर गुरुङ र कोमलचन्द्र बरालको टिमले नक्सालाई अन्तिम रुपदिएर समितिको बैठकमा पेस गर्यो। बैठकले सर्बसम्तले पास गरी प्रकाशनको जिम्मा कोमलचन्द्र बरालकाई दिईयो।

सीमा बचाऔ अभियान सञ्चालन गर्ने संयन्त्रहरू |

नक्सा समितिले प्रकासित गर्ने नक्सालाई ब्यापक रुपमा प्रचार पसार गर्न एबं सीमा अतिक्रमणको बिरुद्धमा ससक्त रुपमा अवाज उठाउन र संघर्षलाई निष्कर्षमा पुर्याउनको लागि सीमा बचाऔं अभियान राष्ट्रिय परिषद् मातहत निम्न समितिहरु बनाईयोः-

  • सीमा बचाऔं अभियान राष्ट्रिय परिषद्,स्टेयरिङ कमिटीः- अभियानको मूल नीति निर्माण गर्ने, परिचालन गर्ने तथा अनुगमन गर्ने एबं सम्बन्धीत निकायमा समन्वय गर्ने।
  • नक्सा समितिः- सुगौली संधीले तोकेको नेपालको सम्पुर्ण भुभाग समेटेको नक्सा के कस्तो हुन्छ त्यसको आधिकारिक प्रमाण खोजी तथा आबस्यक अनुसन्धान गरी आधिकारिक भुमि समेटिएको नक्सा प्रकासित गरी सार्बजनिक गर्ने। उक्त नक्साको बारेमा बिश्वभरमा रहेका नेपालीहरुलाई स्पष्टरुपमा सुगौली सन्धिले तोकेको नेपालको भूभागको बारेमा जानकारी गराउने र नक्साको ब्यापक प्रचार प्रसार गर्ने ।
  • साहित्य तथा सांस्कृतिक समितिः- साहित्य सिर्जना मार्फत प्रचार प्रसारको कामलाई अगाडि बढाउने कविता,कथा निबन्ध,प्रबन्ध,गोष्ठी,अन्तरक्रिया र छलफल आदि गर्दै जाने|
  • युवा विद्यार्थी समितिः- स्कुल र कलेजमा गएर समितिले प्रकाशित गरेको नेपालको नक्साको बारेमा प्रचारप्रसार गर्ने र विद्यार्थीहरूलाई नेपालको आधिकारिक नक्साको बारेमा जानकारी गराउने|
  • अन्तर्राष्ट्रिय समन्वय समितिः- प्रत्येक देशमा रहेका नेपालीहरूलाई त्यहाँ रहेको भारतीय दूतावास मार्फत नेपालको नक्सा हस्तान्तरण गर्दै औपचारिक रुपमा नेपालको नक्साको बारेमा प्रचारप्रसार गर्ने।
  • आइटी तथा सामाजिक सञ्जाल समन्वय समितिः- सीमा बचाऔ अभियानको नाममा आईडी बनाई त्यसमार्फत सामाजिक सञ्जालको प्रयोग गरी ब्पयाक रुपमा प्रचार प्रसार गर्ने ।
  • महिला समन्वय समितिः- विशेष गरेर महिला दिदीबहिनीहरूको बीचमा नेपालको नक्साको प्रचारप्रसार गर्ने र त्यसका लागि अभियान सञ्चालन गर्ने|
  • अनलाईन-पत्रिका-रेडियो-टिभी समन्वय समितिः- छापा पत्रिका डिजिटल अनलाईन र रेडियो टेलिभिजनमा प्रचारप्रसारको लागि संयन्त्र बनाउने र सोही संयन्त्रले आधिकारिक रिपोर्ट प्रचारप्रसार गर्ने|
  • आधिकारिक प्रमाण सङ्कलन समन्वय समितिः- अहिले सम्म उपलब्ध भएका र हुनसक्ने आधिकारिक दस्तावेजहरू र प्रमाणपत्रहरू को खोजबिन गर्ने र त्यसलाई संकलन गरेर एकीकृत प्रतिवेदन तयार गर्ने।
  • राष्ट्रिय व्यक्तित्वहरूको समन्वय समितिः- राष्ट्रको उच्चतहमा रहेर काम गरी अबकास प्राप्त हुनुभएका बीभिन्न क्षेत्रका बिज्ञ ब्यक्तित्वहरु सम्मिलित समिति बनाई निरन्तर सल्लाह सुझाब लिने।
  • योजना तर्जुमा र कार्यान्वयनको समितिः- समग्र कामको संयोजन गर्ने र नयाँ कामको लागि योजना तर्जुमा गर्ने र सम्बन्धित उपसमिति मार्फत कार्यान्वयन गराउने।

पहिलो अध्यबधिक नक्सा सार्बजनिक। (बुढ्यौली बर्सिएको त्यो दिन)

२०७६ मङ्सिर ८ गते रिपोर्ट्स क्लब भृकुटीमण्पमा नेपालको सुगौली सन्धोले तोकेको पश्चिमोत्तर भूभाग समेटी अध्याबधिक गरिएको आधिकरिक नक्सा समितिका काठमाणडौमा उपलब्ध सदस्यहरुले हस्ताक्षर गरी अभियानका संयोजक स्वनाम साथी र नक्सा समितिको संयोजक भैरब रिसालले सैयौं पत्रकार र जनसमुदायका बीच सार्बजनिक गर्नुभयो।

नेपालका सबैजसो अनलाईन, पत्रिका,टि भी, रेडियो र युटुबरहरुले यो कार्यक्रमको प्रचार प्रसार गरे। ९३ बर्षको भैरबदाई लौरो टेकेर गाह्रोगरी रिपोर्ट्स क्लब पुग्नु भएको थियो । तर  नक्सा सार्बजनिक गरी अपिल र नक्सा बितरण गरिसकेपछि जब पत्रकार हरुले प्रश्न सोध्न थाले दाईलाई लौरो टेक्नुपर्छ भन्ने कुरा हेक्का भएन वा भित्रैदेखि राष्ट्रका लागि केही नयाँकाम गरियो भन्ने आत्म सन्तुष्टी भएर हो दाई बिना लौरो उभीएर पत्रकार संग सबाल जबाफमा लाग्नु भयो। त्यो बेला दईको अनुहार यति हँसिलो र ज्यान यति फुर्तिलो देखियो कि केही क्षणको लागि दाईले आफ्नो बुढ्यौली बिर्सिदिनु भयो। कार्यक्रममा दाईले भन्नु भयो “यस अभियानले प्रकासित गरेको यो नक्सा प्रत्येक नेपालीको घर घरमा हुनुपर्छ, यसको बारेमा सबैतिर चर्चा हुनुपर्छ। बिशेष गरेर पुलचोक र बालुवाटारमा बस्नेहरु सबैलाई नक्साको बारेमा पढाउनु  पर्छ। पत्रकार साथीहरुले यस्मा बिशेष भुमिका खेलीदिनु पर्यो ।

 नक्सा पुर्याउने चिन्ता।

सीमा बचाऔं अभियानको निर्णय अनुसारको पहिलो काम (सुघौली सन्धि अनुसारको नेपालको आधीकारिक नक्सा र अपिल प्रकाशन ,सार्बजनिकिकरण र बितरण) त भयो अब दोश्रोकाम कसरी अगाडी बढाउने ? त्यसको पीर दाईलाई सुरु भयो । कार्यक्रम सकिएर घर पुग्ने बित्तिकै दाईले मलाई फोन गरेर भन्नुभयो नक्सा त आयो कोमल जी ! अब सिंहरबारमा बस्ने र बालुवाटारमा बस्नेलाई कसरी पुर्याउने ? मैले दाइलाई भने दाइ ! चिन्ता नलिनु भोलि मन्त्रीज्यूका पिएहरुलाई सम्पर्क गरेर समय मिलाउँला र जाने व्यवस्था मिलाउँला सिंहदरबार र बालुवाटार दुवैतिर हामी सम्पर्क गरौंला ।भलिपल्ट मैले भनें दाई ! प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्दा तालुकदार मन्त्रालय मार्फत आउनु भन्ने खबर आयो। त्यसैले हामी सबैभन्दा पहिला सिंहदरबार नै जानुपर्ने भयो भूमिसुधार मन्त्रालयमा ।

नक्सा र ज्ञापन पत्र बोकेर सिंहदरबारको यात्रा।

 मङ्सिर १० गतेको लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री पदमा अर्याललाई भेट्ने समय मिल्यो। ११ बजे हामी सिंहदरबारको गेट भित्र छिर्यौ । ९३ बर्ष पारगर्न थाल्नुभएका भैरबदाई नागरिक समाजका २०-२२ उमेरका बिध्यार्थी समुह देखि ९० माथिका वहाँहरु जस्ता नागरिक अगुवाहरुको नेत्तृत्व गर्दै  नेपालको वास्तविक क्षेत्र समेटिएको नक्सा सहित अभियानको ज्ञापनपत्र बोकेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पध्मा अर्याल मार्फत प्रधानमन्त्री केपी ओलीलाई नक्सा र मागपत्र बुझाउन लौरो टेकेर मन्त्रालयका भर्याङ उक्लनु भयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको छलफल।

अभियानको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याललाई भेटेर संविधानमै सुगौली सन्धि अनुसारको नक्सा राख्न नेपाल सरकार संग माग गरियो। कोमलचन्द्र बरालले ज्ञापनपत्र बाचन गर्नु भयो भने नक्सा भित्तामा राखेर भूगोलका प्रा.डा.नरेन्द्र खनाल र उप प्रा. शेरबहादुर गुरुङले मन्त्रीलाई पढाउनु भयो । भैरब रिसालले मन्त्री ज्यू लाई नक्सा हस्तान्तरण गर्नु भयो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पध्मा अर्याललाई नक्सा हस्तान्तरण गर्नु हुदै साथमा पूर्ब प्रधानन्यायधिस शुसिला कार्की ।

मन्त्रीज्यूले हाम्रो अभियान प्रति समर्थन जनाउदै नक्सा र मागपत्र जस्ताको त्यस्तै प्रधनमन्त्रीलाई बुझाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो। अभियानको नक्सा समितिको संयोजक भैरव रिसालले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा मन्त्री अर्याललाई बुझाउँदै २०१८ सालमा आफैले जनगणना गराएको क्षेत्र समेत भारतले आफ्नो नक्सामा पारेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘नालापानी मागेका छैनौं, हाम्रो कालापानी छाड्दैनौं

अभियानको निर्णयानुसार हामीले गृह मन्त्री रामबहादुर थापालाई भेट्यौ । गृहमन्त्रालय गएर गृहमन्त्रीलाई बीओपी थप्न र सीमाको सुरक्षामा प्रहरी फोर्सलाई बढाउन अनुरोध गर्यौ।  वहाँले नेपाली भूभाग जोगाउन सीमा क्षेत्रमा सुरक्षा चौकी थप्न लागेको र ‘दश–दश किलोमिटरको अन्तरमा सुरक्षा चौकी राख्ने तयारी गरिरहेका छौं ।’ अहिले ३५–३५ किलोमिटरको फरकमा सुरक्षा चौकी छ भन्नुभयो ।

अभियानको निर्णयानुसार हामीले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटी नक्सा र अपील हस्तान्तरण गरियो।अध्याबधिक गरिएको नेपालको नक्सा प्रकाशित गरी विभिन्न स्कुल कलेजहरूका पाठ्यक्रम हरुमामा समावेश गर्न तथा शिक्षक र बिध्यार्थी हरु समेतलाई नक्सा सम्बन्धि अध्ययन सामाग्री निर्माण गर्न वहाँलाई अनुरोध गर्यौ ।

शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रीगिरिराजमणि पोखरेललाई ज्ञापनपत्र र नक्सा हस्ताणतरण गर्दै भैरब रिसाल सहित अभियानका संयोजक स्वनाम साथी लगाएत अभियानका सदस्यहरु।

मन्त्री पोखरेलले भारतीय सेना कुटियाङ्दी पारी जा ! भन्दै २०५६ सालमा मेची महाकाली साईकल यात्रा गरी जनचेतना जगाएको र आज आफु मन्त्री परिषदको सदस्य भएको बेला यो नक्सा बुझ्न पाउनु आफ्नालागि सुखदक्षण भएको बताउनुभयो। सरकारले छिट्टै पश्चिमोत्तर सीमा अध्यबधिक गरी नयाँ संसकरणको नक्सा प्रकासित गर्ने बिस्वास दिलाउनु भयो।

निर्णय अनुसार नै हामिले अभियानको निर्णयानुसार हामिले गृह पररष्ट्र मन्त्रीलाई भेट्यौ। अभियानले प्रकासन गरेको नक्सालाई देशव्यापी रूपमा मात्र होइन विदेशमा पनि यो प्रचार होस् भनेर हामीले अनुरोध गर्यौ।  अबको नेताहरुको कथित समाजवादी समृद्धि फलाउने सौदाबाजीको शिकार लिम्पियाधुरा नहोस् । सबैलाई समेटेर राष्ट्रिय संकल्प एकता र अठोट निर्माण गर्न जरुरी छ चाडो गरियोस। नेता र राजनीतिक दलहरु सरकारमा रहँदा सडकमा रहँदा फरक चरित्र देखिनुहुन्न । यसरी सीमा अतिक्रमणका कथाहरु आइरहँदा जनताको तहबाट लडेको लडाइँ भन्दा राजनीतिक तहले गर्ने एक कूटनीतिक संघर्ष अझै अब्बल रहन सक्छ । तर, तपाईहरु किन भारतीय शासकहरुको सामु शिर ठाडो पारेर हाम्रो स्वाभिमान उचो पर्न सक्नुहुन्न ? मन्त्री ज्यूले भारत संग कुटनीतिक पहल गरिरहेको र चाडै परिणाम आउने बिश्वास दिलउनु भयो।

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावलीलाई नक्सा हस्तान्तरण गर्दै अभियानका सदस्य गौरीशंकर लाल दास 

मैले रक्षामन्त्री ईश्वर पोखरेललाई भेट्न वहाँको स्वकिय सचिबसंग समय मिलाउन अनुरोध गरें। समय मिलाउन २-३ दिन लाग्यो। हामी रक्षामन्त्री संग मात्र भेट्ने सोचमा थियौ । भेट्ने समय ढिलो भएपनि वहाँले प्रधान सेनापति र रक्षा सचिब समेतलाई बोलाउनु भएको रहेछ। तिनैजनासंग एकै पटक मन्त्रालयमै भेट गरियो ।

सन् २०१५ मे १५ मा नेपाललाई थाहै नदिई भारत सरकार र चीन सरकारले लिपुलेक भञ्ज्याङलाई दुई देशबीचको व्यापारिक नाका बनाउने सम्झौता गरेको र उक्त सम्झौता नेपालको सार्वभौमिकता एवं अखण्डतामाथिको हस्तक्षेप भएको र अहिले त्यो कार्यलाई पुष्टी गर्न नक्सा प्रकासित गरेकोलाई कार्यलाई तत्काल नक्सा मार्फत जबाफ दिन अभियानले प्रकासित गरेको नक्सालाई सरकारको तर्फबाट प्रकासित गरी बितरण गर्न नेपाल सरकारले ढिला नगरोस भन्ने कुरा राखियो।

त्यतिबेला लिपुलेकलाई भारत, चीन र नेपालबीचको त्रिदेशीय व्यापारिक मार्गमा प्रयोग गर्न सकिने विकल्प पनि अघि सारिएको थियो । त्यसका लागि नेपालको सहमति र साझेदारी अनिवार्य हुनेगरी भारत र चीनबीच भएको सम्झौतालाई सच्याउन र त्रीदेशीय बिन्धु लिम्पियाधुरा लाई  कायम गराउन दुबै देश लाई सहमतिमा ल्यउन छिट्टो कौनैतिक पहल गरियोस भन्ने माग पनि रक्षा मन्त्री संग गरियो । जबाफमा वहाले सकेसम्म छिट्टो दुबैदेश संग कुटनितिक पहल थाल्ने बताउनु भयो।

निर्णय अनुसारनै हामिले भुमि सुधार मन्त्रालय समेत हेर्ने संसदको   कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिमा गएर सभापति पुर्णा कुमारी सुबेदी सहितका पदाधिकारी हरुलाई भेटी नेपालको आधिकारिक नक्सा प्रकाशित गर्न सरकारलाई दबाब दिन अनुरोध गर्दै ज्ञापनपत्र र नक्सा बुझाइयो। सभापति सुबेदिले हाम्रो अभियानमा आफुपनि सहभागि हुने प्रतिबद्दता जनाउदै आफ्नो समितिले नक्सा चाँडो प्रकासित गर्न सरकारलाई निर्देसन दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

मन्त्रीहरु भेट्न सिंहदरबार जादाँ

 मन्त्रालयहरुमा जाँदा कुनै मन्त्रीले छुट्टै कुरा गर्न दाईलाई भित्र लैजान्थे। फर्केर आउँदा दाई भन्नु हुन्थ्यो “मन्त्रीहरूले चकलेट देखाएर मलाई फकाउन खोज्दैछन् मैले भने यो काम सकेसम्म छिटो गर्नुहोस्। अहिले मन्त्रालयमा वामपन्थीहरू झण्डै दुई तिहाई बहुमतको सरकारमा भएको र जनताले समेत तपाईहरुबाट धेरै आस गरेको  बेला पनि यो काम भएन भने तपाईहरुले कहिल्यै काम गर्न सक्नु हुन्न।  हामी सडक तताँउछौ तपाईहरु सरकार तताउनुहोस“। दाईलाई यो आन्दोलन नचर्काउन र सडकमा धैरै नजान सुझाब दिदा रहेछन। कोही मन्त्रीहरु कुटनितिक तबरबाट हुने काम हो सडकतताएर मात्र हुदैन भन्ने सल्लाह दिदाँ रहेछन। हामिले भन्यौ हाम्रो देसको नक्सा निकाल्न हामिलाइ कस्ले रोक्छ ?

      यसरी नक्शा र अपिल सहित हस्तान्तरण गर्न मन्त्रालयका ढोका-ढोका मा पुग्दा  ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरू तथा ८०-९०का, ७०-८०का, ६०-७०का, ५०-६० कटिसकेका नागरिकहरु र हामी जस्ता ४०-५० का ३०-४०का र र २०-३० का युवा विद्यार्थी भाइबहिनीहरू समेत सात दसक फरक उमेर समुहका बिभिन्न क्षेत्रमा जोडिएका ब्यक्तिहरु सहितको टोली लिएर सिंहदरबारमा मन्त्रीहरुलाई भेट्न जाँदा केही ठाउँमा हामीलाई सहज भयो। केही मन्त्रीहरूले अपनत्व देखाउनुभयो। माया गर्नु भयो म पनि यसमा साथमा छु भन्नुभयो। केही मन्त्रीहरुको मा हामिलाई केही असहज भयो उहाहरुले हामीलाई तपाईँहरू किन धेरै उत्ताउलो भएको? यो विषय समस्या हल गर्नलाई यति सजिलो छैन। भन्दै हामीलाई अलि फरक दृष्टिले पनि हेर्नुभयो। केही मन्त्रीले हामीलाई यति धेरै कुराउनुभयो कि राति ८.३० बजाइदिनु भयो ।

यसरी मन्त्रालयको ढोकाढोका चहार्दा र राति ८ बजेसम्म कुर्नु पर्दा पनि भैरबदाई खुसी नै देखिनु हुन्थ्यो। मन्त्रीलाई भेटेर केही कुरा भनिसकेपछि उहाँको अनुहार अलिकति उज्यालो हुन्थ्यो र मन्त्रालयका भर्याङ्हरु चढ्न र झर्न पनि वहाँले कुनै अप्ठेरो मान्नु भएन प्रत्येक मन्त्रीहरूलाई भेट्दा उहाँले आफ्नो कुराहरु स्पष्टसँग राख्नु भयो। नेपाल सरकारले आफ्नो नक्सा प्रकासित गर्नु पर्छ । आफ्नो भुमिको सुरक्षा गर्नु पर्छ।

नक्सा हस्तान्तरण गर्ने क्रममा नौ दसक पार गरेका जेष्ठ नागरिकहरू मन्त्रालयको छैठो तलासम्म भर्याङ चढेर मन्त्री मिटिङ हलको को ढोकासम्म लौरो टेक्दै मन्त्रीलाई भेट्न जानुभयो यो दृश्य साह्रै कारुणिक तथा मार्मिक देखिन्थ्यो|

बिहान ११ बजे घरबाट निस्कनु भएका जेष्ठ नागरिकहरु राति साँढे आठबजेसम्म पनि कुरेर मन्त्रीलाई भेटी आफ्ना कुरा सुनाउन आतुर देखिनुले वहाँहरुको मनमा देशको राष्ट्रीयता र राष्ट्रिय अखण्डता प्रति कति गहिरो प्रेम रहेछ भन्नेकुरा ब्यबहारमा प्रष्ट देखिन्थ्यो। भैरब रिसाल यसमा अब्बल साबित हुनुभयो

यस अभियानलाई सञ्चालन गर्ने क्रममा युवा विद्यार्थीहरूको तर्फबाट प्रत्येक विद्यालय र विश्व  विद्यालयहरूमा गएर विद्यार्थीहरूलाई नेपालको नयाँ नक्सा र अतिक्रमित भूमि अतिक्रमित भूभागको बारेमा जानकारी गराउँदै अभियानमा सामेल हुन अपिल गरियो।

त्यसैगरी बढी जनसम्बन्ध भएका सिनेमा हल बजार महल चोकहरुमा नक्सा र अपिलसहित कोणसभा कवितावाचन सांस्कृतिक कार्यक्रम र पर्चा वितरण कार्यलाई तीव्ररूपमा अगाडि बढाइयो भने सम्पूर्ण सञ्चारमाध्यमहरूमा सम्पादकहरुलाई नेपालको सीमा अतिक्रमणका विरुद्ध समाचार प्रसारण गर्न अपिल गरियो। सबै ११ वटै समिति हरुले आआफ्नो काम स्वयंसेबी ढंगले स्वतस्फुर्त रुपमा सञ्चालन गरे।

दोश्रो बैठक (एक महिने अभियानको निष्कर्ष,दोश्रो कार्ययोजना निर्माण)

 २०७६ साल पुष ८ गते मङ्गलबार सीमा बचाऔं अभियान नेपाल राष्ट्रिय परिषद् नक्सा समितिको दोस्रो पूर्ण बैठक संयोजक श्री भैरव रिसालको अध्यक्षतामा उहाँकै निवास अनामनगरमा बसी तपसिल बमोजिमका निर्णयहरु गरियो।

  • यो सीमा बचाऔं अभियान राष्ट्रिय परिषद् नक्सा समितिको प्रयासमा मङ्सिर ६ गते लिम्पियाधुरा लिपुले कालापानी समेत समेटिएको सुगौली सन्धिले तोकेको काली नदीको उद्गमस्थलसहितको वैज्ञानिक नक्सा सार्वजनिक गरिएको कार्य नेपालको इतिहासमै नयाँ ऐतिहासिक कार्य भएको छ नेपाली जनता नेपाल राष्ट्रको लागि यो नक्सा एक ऐतिहासिक सम्पत्ति हो यसले आम नेपाली जनता र विश्वस्तरमा सीमा अतिक्रमण सम्बन्धमा नयाँ चेतना पैदा भएको छ र नेपाली जनताले हाम्रो यस कार्यलाई सराहना गरेका छन्| यो कार्य राष्ट्रियताको पक्षमा अविस्मरणीय र ऐतिहासिक कार्य भएको छ।
  • अभियानले सार्वजनिक गरेको यस नक्सालाई| नेपाल सरकार भूमिसुधार,सहकारी तथा गरिबी निबसरण मन्त्रालय,रक्षामन्त्रालय, गृहमन्त्रालय, शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालय र परराष्ट्र मन्त्रालय तथा संसदको कृषि भूमि सुधार तथा प्राकृतिक स्रोत समितिलाई नक्साको बारेमा जानकारी गराउँदै नक्सा हस्तान्तरण गर्ने कार्यले सरकारलाई यस विषयमा बोल्न बाध्य पारेको निष्कर्ष निकालियो|
  • नक्सा समितिका विभिन्न सदस्यहरूले विभिन्न स्थानमा भएका सेमिनार गोष्ठी अन्तरक्रिया तथा पत्रकार सम्मेलनहरूमा गएर नक्साको बारेमा प्रकाश पार्ने कार्यले नेपाली जनतालाई सीमा विवाद सम्बन्धमा बुझ्न सहयोग गरेको निष्कर्ष निकालियो।
  • ५० हजार प्रति नक्सा र अपिल प्रकाशित गरी वितरण गर्दा आम जनताबीच सीमा विवादका बारेमा जानकारी प्राप्त गर्न मद्दत पुगेको तथा यो एक महिनाको हाम्रो अभियानले सरकारलाई लिम्पियाधुरासम्म नेपाली भूभाग रहेको र त्यो नेपाली भूभाग रक्षाका लागि नेपालले कूटनीतिक रुपमा तत्काल वार्ता गर्ने प्रक्रिया अगाडि बढाउन दबाव परेको निष्कर्ष निकालियो|
  • स्कुल र कलेजहरूमा विद्यार्थीहरूले नक्सा र अपिल लगि विद्यार्थीहरूलाई पढाउने कार्य ले युबा पुस्तालाई धेशको सीमामा भएको अतिक्रमणका सम्बन्धमा राम्रै संग जनचेतना फैलाको छ। त्यसैगरी साहित्यकार र कलाकरमीहरुको प्रदर्शनले नक्साको प्रचार प्रसारमा  अझ तिब्रता लयाइको निष्कर्ष निकालियो

दोश्रो बैठकबाट निम्नानुसार एक महिने दोश्रो कार्य योजना बनाईयोः-

  • अहिले नेपाल सरकार र भारत सरकारका विभिन्न अधिकारीहरूको तर्फबाट ९८% सीमा विवाद हल भइसकेको एवं महाकाली र सुस्तामा मात्र विवाद रहेको र यो विवाद कुटनैतिक रुपमा हल गर्ने तयारी भइरहेको छ भन्ने कुरा पटकपटक सार्वजनिक भइरहेको छ त्यो के हो ? दुईपक्षहरूको बीचमा कसरी कुरा हुँदैछ र कहाँ पुगेर टुङ्गिएको छ ? त्यस बारेमा नेपाली जनतालाई स्वेतपत्र मार्फत सार्वजनिक गर्न सरकारलाई दबाब दिने ।
  • सरकारले नक्सा प्रकाशन गर्ने सम्बन्धमा खास पहल नगरेकोले एक महिना दबावमुलक कार्यकामहरु संचालन गर्ने।
  • सरकारले विवादित क्षेत्रको आधिकारिक विवरण सार्वजनिक नगरेको भन्दै समितिले सम्पूर्ण विवादित क्षेत्रको स्थलगत अध्ययन गर्ने ।
  • अहिले लिम्पियाधुरा कालापानी र सुस्ता बाहेक अन्य सम्पूर्ण बिबादित\अतिक्रमित भूभाग देखाइएको विवादित वा अतिक्रमित क्षेत्रको आधिकारिक तथ्याङ्क सङ्कलन गर्ने र त्यसलाई जिपिएस म्यापिङ गर्ने निर्णय गरियो।तेस्रो नक्सा सार्वजनिक गर्न जनस्तरबाट स्थलगत अध्ययन गरी रिपोर्ट तयार गर्न आबस्यक कार्य गर्न भुगोलबिद् प्रा.डा. नरेन्द्रराज खनाल शेरबहादुर गुरुङ र कोमलचन्द्र बराललाई जिम्बेवरी दिईयो।
  • नक्सा प्रकासित गर्न दबाद दिंदैँ नापी बिभाग घेराउ गर्ने सम्मको संघर्षको कार्यक्रम अगाडि बउने निर्णय गरियो

तेश्रो बैठक तथा तेश्रो कार्ययोजना,स्वागत सम्मान।

२०७६ पुस २८ गते सोमबारका दिन यस सीमा बचाऔं अभियान नेपालको नक्सा समितिको तेस्रो पूर्ण बैठकद्वारा संयोजक श्री भैरव रिसालको अध्यक्षतामा नेपाल नागरिक मञ्चको कार्यालय थापाथलीमा बसी निम्न निर्णय गरियोः-

  • २०७६ कार्तिक २८ गतेको पहिलो भेलादेखि २०७६ पुस २८ गतेसम्मको दुई महिनाको अवधिमा सीमा बचऔं अभियान नेपालले सञ्चालन गरेको सीमा अतिक्रमण विरुद्धको दुई महिने अभियानले जनस्तरमा नेपालको भूमि अतिक्रमणको बारेमा चेतना जगाउन सफल रहेको र अभियानका दौरानमा लिम्पियाधुरा लिपुलेक कालापानी र सुस्ता समेत समेटी प्रकाशित गरिएको नेपालको नक्साले नेपाली जनतालाई नेपालको भूमि अतिक्रमणका बारेमा जानकारी गराएको छ यस नक्सालाई सरकारी निकाय भूमि सुधार मन्त्रालय संसदीय समिति गृह मन्त्रालय शिक्षा मन्त्रालय परराष्ट्र मन्त्रालय रक्षा मन्त्रालय र नापी विभाग घेराउ सम्मको कार्यक्रम गरी दबाब दिँदा समेत नेपालको वैज्ञानिक नक्सा निकाल्न सरकार तयार नभए पनि नेपालको पश्चिम उत्तर क्षेत्रको सीमा काली नदी हो र यसको उद्गमस्थल लिम्पियाधुरा नै हो भन्ने तथ्य यो सरकार बोल्न बाध्य भएको छ। यो पनि एउटा ठूलो उपलब्धि हो। अब यो बोलिएको कुरालाई व्यवहारमा उतार्न सरकारले सबैभन्दा पहिला नेपालको पूर्ण नक्सा जारी गर्नुपर्दछ।त्यसका लागि सरकारलाई थप दवाब दिने।
  • त्यसपछि १० गजामा टुटेको ठाउँमा तत्काल जोडी जंगे पिल्लरहरू व्यवस्थित गर्न जरुरी छ यी कार्य गर्न सरकारलाई थप दबाबमूलक कार्यक्रम सहितको अभियान पुनः सञ्चालन गर्नुपर्ने र सरकारलाई हामीले बुझाएको नेपालको नक्साको आधारमा नेपालको सम्पूर्ण भूभागहरु अध्यावधिक गरिएको नक्सा सार्वजनिक गर्न पुनः दबाब दिनुपर्ने निष्कर्ष निकालियो
  • सीमा बचाऔं अभियानद्वारा तयार पारिएको नक्सा समितिको पछिल्लो सुस्तासहितको दोस्रो संस्करण नक्सालाई प्रकाशित गरी १ लाखप्रति नक्सा वितरण गरी स्कुल कलेज तथा सरकारी निकायहरू र जनताहरूको जमगट हुने स्थानहरूमा यसको प्रचारप्रसार गरी सरकारलाई मनोवैज्ञानिक रुपमा दबाब दिने निर्णय गरियो
  • GPS प्रविधिको प्रयोग गरी नेपालको विवादित र अतिक्रमित अन्य भूभागहरूको पनि पहिचान गरी यथार्थ विवरण संकलन गर्नका लागि बजेट तयार गरी भूगोलका विद्यार्थीहरू परिचालन गरी नेपाल भारत बीचको पत्तो लगाई आधिकारिक तथ्याङ्क निकाल्ने निर्णय गरियो।
  • सीमा विवादका सम्बन्धमा ऐतिहासिक एबं आधिकारिक रिपोर्ट र प्रमाणहरूको खोजी तथा संकलन गरी थप प्रमाण जुटाउनको लागि ऐतिहासिक व्यक्तित्व ज्ञानमणि नेपाल लगायतका व्यक्तिहरूसँग रहेकाव्यक्तिगत सामग्रीहरू र संस्थागत रूपमा पाइन सक्ने प्रमाणहरू समेतको खोजी गरी संकलन गर्न सीमा बचाऔं अभियान नक्सा समितिका सदस्य कोमलचन्द्र बरालको संयोजकत्वमा मनिषा अवस्ती र बलदेव भट्ट रहेको प्रमाण संकलन उपसमिति गठन गरियो।
  • पहिलो चरणमा नक्सा गरिएका र नक्सा बुझाइएका निकायहरूमा कामको प्रगतिको बारेमा बुझ्न र पुन दबाब दिन योजना बनाई कार्य गर्ने यसको संयोजन गर्ने जिम्मेवारी नक्सा समितिका संयोजक श्री भैरव रिसाललाई दियो । दोस्रो संस्करणको नक्सा एक लाखप्रति नक्सा प्रकाशित गर्ने र व्यापक रुपमा संघ संस्थामा स्कुल कलेज सरकारी कार्यालयहरुमा वितरण गर्ने

यस बैठकले बिदेसी दुताबास र नियोग हरुमा नेपालको नक्सा बुझाउने तथा त्याहाँको नेपाली समाजलाई  नेपालको अध्याबधिक नक्साबारेमा जानकारी गराउदै नेपाल आईपुग्नु भएका नक्सा समितिका सदस्य एबं सीमाबिद् बुद्दिनरायण श्रेष्ठलाई संयोजक भैरब रिसालद्वारा समितिको बैठकमा स्वागत तथा सम्मान गरियो,।

चौथो बैठक, चौथो योजना, संघर्ष चर्काउने घोषणा

  • फागुन १४ गते स्वनाम साथीको अध्यक्षतामा थापाथलीमा बसेको सीमा बचाऔं अभियानको बैठकले चार महिना संचलित संघर्षको समिक्षा गर्दै बिश्व भरीबाट संघर्षका थप कार्यक्रम अगाडि बढाउनु पर्ने निष्कर्ष निकाल्दै निम्न निर्णयहरु गर्योः-
  • शिक्षामन्त्रीलाई पाठ्यक्रममा नक्सा छाप्न लगाउने विषयमा भेटेर कुरा गर्ने|
  • प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र दिने नक्सा छाप्न दबाब दिने ।
  • अभियानलाई सशक्त रुपमा अगाडि बढाउन प्रत्येक स्कुल कलेजहरूमा नक्सा र अपिलसहित कार्ययोजना बनाएर अभियानलाई तिब्ररुपमा अगाडि बढाउने|
  • पाँच लाख प्रति नक्सा र अपिल छपाई हरेक स्कुल र कलेजहरूमा विद्यार्थीहरूको बीचमा पुर्याउने र प्रत्येक घर घरमा नक्सा पुर्याउने व्यवस्था मिलाउने|
  • विश्वभरी रहेका नेपालीहरू बीच सम्नवय गरी अभियानका समितिहरु बनाउँदै जाने र उनीहरू रहेको देशको भारतीय दूतावास मार्फत नक्सा, अपिल र ज्ञापनपत्र बुझाउने गरी अभियान लाई बिश्व ब्यापी रुपमा सञ्चालन गर्ने। ती समिति मार्फत त्यस देशमा रहेको भारतीय दुताबास अगाडी बिश्वभरबाट एकैदिन प्रदर्शन गर्ने गरी कार्क्रम बनाउने ।
  • सीमा जोडिएका प्रत्येक पालिकाहरूबाट सीमा विवाद सम्बन्धी सत्य तथ्य रिपोर्ट लिन त्यहाँका स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु र अभियान्ताहर मार्फत सथलगत रिपोर्ट लिई प्रतिवेदन तयार गर्ने|
  • उक्त प्रतिवेदनसहित राष्ट्रपति उपराष्ट्रपति संघीय संसदका सभामुख राष्ट्रिय सभाका अध्यक्ष र प्रधानमन्त्रीलाई भेट गरी छाप्न दबाब सिर्जना गर्ने|
  • संघर्षका कार्यक्रम हरु स्वयंसेबी ढंगबाट सञ्चालन भईरेपनिनक्सा अपिल ज्ञापनपत्र लगाएतका सामाग्रीहरु प्रकासित गर्न र संघर्षका कार्यक्रमहरु गर्दैजादा आर्थिक कोषको समेत आबस्यकता पर्ने भएकोले हिमालय शमसेर राणाको संयोजनमा आर्थिक ब्यबस्थापन समिति बनाउने ।
  • पहिलो चरणमा ५ लाख अपिल र नक्सा प्रकासित गर्ने र आबस्यकता अनुसार थप प्रकासित गर्दैजाने । नक्सा तथा अपिल प्रकासनको संयोजन कोमलचन्द्र बरालले गर्ने ।

चैत्रको पहिलो साताबाट देशब्यापी संघर्षका कार्यक्रम संचालन गर्ने तयारी गर्दै जादा चैत्र ११ गतेबाट नेपालमा कोभिड १९ महामारीलाई देखाउदै नेपाल सरकारले देशभर लकडाउन घोषण गर्यो संघर्षका सबै कार्यक्रमहरु स्थगित भए। देश लकडाउनमा गइसकेपछि करिब एक महिना कुनै गतिविधिहरू भएनन् जब लकडाउन खुकुलो भयो र आवतजावत सुरु भयो त्यसपछी जुम माध्यम मार्फत भएका केही कार्यक्रमहरूमा भैरबदाई सरिक हुनुभयो र सम्बोधन गर्नुभयो। घरै बसी बसी कतिपय गोष्ठी,अन्तरक्रिया र छलफल कार्यक्रममा सहभागी हुनुभयो । लकडाउन खुकुलो हुदै गएपछि पुनः अभियानको गतिबिधि सडकमा देखिन थाल्यो । यतिबेला पनि सरकारले नक्सा प्रकासन गर्न खासै चासो राखेन। देशैभरिबाट हाम्रो अभियानलाई समर्थनमा कार्यक्रमहरु हुन थाले । विदेशका विभिन्न ठाउँहरूमा रहेका भारतीय दुताबासमा नेपालको नक्सा बुझाउने कामहरु भटाभट हुन थाले। संसदमा नक्सा प्रकासन गर्नुपर्ने आबाज क्रमशः ठुलो हुदैगयो भने सडकमा द्वारिकानाथ ढुङ्गेल लगाएतका अभियन्ताहरु गिरफतार गरियो। यता सम्सदीय समितिहरुले भटाभट सरकारलाई नक्सा प्रकासन गर्न  सरकारलाई निर्देशन दिन थाले ।

लकडाउन खुकुलो हुदै गएपछि पुनः अभियानको गतिबिधि सडकमा देखिन थाल्यो । यतिबेला पनि सरकारले नक्सा प्रकासन गर्न खासै चासो राखेन। देशैभरिबाट हाम्रो अभियानलाई समर्थनमा कार्यक्रमहरु हुन थाले । विदेशका विभिन्न ठाउँहरूमा रहेका भारतीय दुताबासमा नेपालको नक्सा बुझाउने कामहरु भटाभट हुन थाले। संसदमा नक्सा प्रकासन गर्नुपर्ने आबाज क्रमशः ठुलो हुदैगयो भने सडकमा द्वारिकानाथ ढुङ्गेल लगाएतका अभियन्ताहरु गिरफतार गरियो। यता सम्सदीय समितिहरुले भटाभट सरकारलाई नक्सा प्रकासन गर्न  सरकारलाई निर्देशन दिन थाले । यसरी बिश्वभरी छरिएर रहेका नेपालीहरु अभियानमा जोडिन थालेपछी वैदेशिक र आन्तरिक रुपमा दबाब बढ्दै जानथालेपछी प्रधानमन्त्री केपी ओली नक्सा प्रकाशन गर्ने सम्बन्धमा सकारात्मक देखिनु भयो र सर्बदलीय बैठक बोलाएर नक्सा प्रकासनकालागि सहमति जुटाउनु भयो ।

२०७७ जेठ २ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गर्यो।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यस अनुसार भूमिसुधार मन्त्रालयले प्रस्ताव लगेको थियो । २०७७ जेठ,५ मा सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सामन्त्री परिषदबाट पारित गर्यो । २०७७ जेठ,७ मा सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्यो । सरकारको तर्फबाट भूमि व्यवस्था ,सहकारी तथा गरिबी निबारण मन्त्री पद्मा अर्यालले एक पत्रकार सम्मेलन गरी मन्त्रिपरिषले स्वीकृत गरेको नक्सा सार्वजनिक गरिन् ।

सरकारले अध्यबधिक नक्सा प्रकासित गर्दाको खुसी

जेठ ५ गते मन्त्री परिषदले नयाँ नक्सा पास गर्यो भन्ने समाचार बाहिरियो। भूमि सुधार मन्त्री संग बुझ्ने कोसिस गरें।  वहाँले हो भोली मन्त्रालयमा भेटौ भन्नुभयो । ६ गते मन्त्रालयले नक्सा सार्वजनिक गर्दैछ भन्ने खबर गाई गुई चल्यो। हाम्रो नक्सा समितिका प्राबिधिक साथीहरुलाई मन्त्रीज्यूले बोलाउनु भएको थियो। हाम्रो समितिको तर्फबाट बुद्दिनारायण दाई, शेरबहादुरजी र म गएका थियौँ। त्याहाँ नापी बिभागको पुरै टोली रहेछ। त्याहाँ सरकारको तर्फबाट नापी बिभागले तयार पारी प्रकासित गरेको नक्सा देखाईयो । लिम्पियाधुरा सम्मकै भुभाग समेटिएको रहेछ। नक्सामा क्षेत्रफल उल्लेख गरिएको थिएन । सोद्दा केही प्राबिधिक काम बाँकी छ भन्ने जबाफ पाईयो ।

बाहिर निश्किएर मैले दाईलाई फोनमा भने लिम्पियाधुरा सम्मको भूबाग समेटेर नक्सा तयार भएको रहेछ अब छिट्टै सार्बजनिक गर्ने कुरा छ। भोलिपल्टजेठ  ७ गते २ बजे पत्रकार सम्मेलन मार्फत नक्सा सार्वजनिक भयो । सरकारको तर्फबाट नक्सा प्रकाशित भै सार्बजनिक भएपछि भैरव दाई असाध्यै खुसी हुनुभयो । तर त्यो खुसी धेरै बेर टिक्न सकेन। किनभने त्यस नक्सामा नेपालको क्षेत्रफलै उल्लेख गरिएको थिएन। अहिलेसम्म त्यो प्राविधिक काम सम्पन्न भएको छैन। देसको क्षेत्रफल निकाल्न सरकारले सकेको छैन । सरकारले नक्सा प्रकासीत गरिसकेको दुइ चार दिन पछि म दाइलाइ फोन गरेर भेट्न दाईको घर गएँ । लकडाउन खुकुलो भएपनि दाई घरबाट बाहिर निश्कनु हुनथ्यो भने स्वास्थ्यका कारण बाहिरबाट जाने कसैसंग पनि भेटघाट गर्नु हुन्नथ्यो। म पुगेपछि दाईले भन्नुभयो एउटा काम त हामिले पुरा गर्यौं है कोमल जी ! जमिन चाही कसरी फिर्ता होला त?

सरकारले संशोधित नक्सा जारी गरेको र उक्त नक्सालाई संविधानको अनुसूचीमा समेट्दै संसदको दुवै सदनबाट संविधान संशोधन प्रस्ताव पारित भएको पनि ५० महिना बितिसकेको छ । तर अझै पनि लिम्पियाधुरा र लिपुलेक, कालापानी सहित अतिक्रमित भूभाग फिर्ता पाउनु त परै जावस् नेपाली जनताले नेपालको समग्र क्षेत्रफल कति हो भन्ने जानकारी पाउन समेत सकेका छैनन् । नक्सा जारी भइसक्दा पनि नक्सा अनुसार भूभागको क्षेत्रफल निकाल्न सरकारलाई किन गाह्रो भइरहेको हो भन्ने थाहापाउन सकिएको छैन । सरकारले आधिकारिक रुपमा देशको क्षेत्रफल सार्वजनिक नगरेकै कारण स्कुल कलेजका बिध्यार्थी तथा आंम नेपालीज जनताले आफ्नो देशको क्षेत्रफल कति हो भन्ने समेत जान्न पाएका छैनन् । यसमा भैरबदाई असाध्यै चिन्तित हुनुहुनछ । भन्नुहुन्छ देशको क्षेत्रफल घोषणा गर्न नसक्ने नेत्तृत्वले अतिक्रमित भुमि कसरी फिर्ता ल्याउछ?

वहाँ अगाडी भन्नु हुन्छः- आखिर उपयोगको नीतिमा भारतले नेपालको एक एक पाइला नापेर सबै नेताहरुको स्वार्थ बुझेको छ । हाम्रा नेताहरु भारतीयहरुको त्यही तालमा हिड्दा कहिले राष्ट्रवादी बन्छन त कहिले राष्ट्रघाती महाकाली सन्धी र आजको अपर कर्णाली जस्तोमा हस्ताक्षर गर्न पुग्छन। अबको नेताहरुको कथित समाजवादी समृद्धिको सौदाबाजीको शिकार लिम्पियाधुरा नहोस् भन्ने कुरामा हामी सचेत हुनुपर्छ। राष्ट्रियताको बिषयमा सबैले राष्ट्रिय एकतागर्ने संकल्प र अठोट गर्न जरुरी छ । नेता र राजनीतिक दलहरु सरकारमा रहँदा र सडकमा रहँदा फरक चरित्र देखिनु हुन्न । अहिले नेपालमा जे हुनु हुन्न भन्छौ त्यही भईरहेको छ।

वहालाई चिन्ता छः- सीमा अतिक्रमणका बिरुद्द लड्दा जनताको तहमा लडेको लडाइँ भन्दा राजनीतिक तहले गर्ने एक कूटनीतिक संघर्ष अझै अब्बल रहन सक्छ । तर, नेपाली नेताहरु किन भारतीय शासकहरुको सामु शिर ठाडो पारेर हाम्रो स्वाभिमान उचो पार्न आफ्नो कुरा राख्न सक्दैनन् सक्दैनन् ? अहिलेनेपाली नेताहरुको  मुख्य समस्यानै यही हो ।

भैरब रिसालको भाषामा नेपालको राजनीति एक शब्दमा भन्नुपर्दा बेवारिसे भएको छ अर्को शब्दमा भन्दा आरिसे छ। राजनीतिक अनुशासन देखिँदैन। खासमा नेपालको राजनीति आला काँचाहरूको हातमा पर्यो । यसले न बाटो समाउन सक्यो न गति लिन सक्यो । प्रचण्डले पनि देशमा केही गर्न सक्नु भएन उहाँबाट पनि कम्युनिष्ट शब्दको दुरुपयोग मात्र भयो।

राष्ट्रियता जनतन्त्र र जनजिबिका र पपर्याबरण सन्तुलनको पक्षमा उहाँ सधैँ दह्रोसँग उभिनुभयो| कोशी, गणडकी, महाकाली, अपरकर्णाली बिप्पा एमसिसि जस्ता राष्ट्रघाती सन्धि,सम्झौता र सीमा अतिक्रमणका बिरुद्ध आफूलाई सही लागेको कुरा बोल्न कहिले  कोहिसंग डराउनु भएन। हाकाहाकी बोल्नुभयो। त्याग समर्पण र बलिदानको उच्च भावनाले ओतप्रोत भएर दरखास्त दिएरै कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएका भैरब दाईले पद, पैसा, मान, प्रतिष्ठाको पछि कुनै सम्झौता गर्नु भएन।२००९ सालदेखि २२ सालसम्म अत्यन्त सक्रियताको साथ कम्युनिस्ट पार्टीको पूर्ण राजनीतिक कार्यकर्ताको रुपमा काम गर्नु भएका भैरब रिसालले कम्युनिस्ट पार्टीमा लाग्दा आफ्नो निम्ति आफैले स्व-आचरण बनाएर काम गर्नु भयो। वहाँ अहिलेपनि आफ्नो आचरणमा प्रतिबद्द हुनुहुन्छ।

शुशीलाभैरबः- लोभ लाग्दो उदाहरणीय जोडी।

भैरव रिसाल आजको भैरव रिसाल बन्नुमा सुशिला रिसालको ठूलो सहयोग छ।एकले अर्कालाई बुझ्ने र एकले अर्कालाई सहयोग गर्ने उहाँहरूको सम्बन्ध साह्रै लोभ लाग्दो छ।साँढे छ दसक लामो सहयात्राका बिभिन्न उकाली ओरालीहरु होलान्।तर यतिबेला वहाँहरुको जिबनको सहकार्य देखेर जो कोहीलाई पनि लोभलाग्न सक्छ।बच्चालाई होस्टल र बाबु आमालाई बृद्दाश्रम पठाउने चलन आईसकेको यो बेला आफ्नै घरमा परिवार सहित बस्न पाउनुठुलैकुरा हो । भैरव रिसाल जागिरको सिलसिलामा जहाँजहाँ पुग्नु भयो हरेक ठाउँमा सुशीला भाउजुलाई सँगै लिएर जानुभयो| पंचायत कालको त्यो बेलामा मिलेसम्म उहाँहरुले आफुगएको ठाँउमा अनुकुल मिलेसम्म भउजुलाई स्कल भर्ना गर्नु भयो र जतिसमय त्सस ठाँउमा बसेर पढ्न मिल्यो पढाउनु भयो | यसै गरी टेस्ट पास गर्नु भयो । राससको जागिर सुरु गरेपछि २०२० सालतिर  भैरब दाइ टिभी रोगले ग्रस्त हुनुभयो। टिभी लागेको समयमा एक दुई वर्ष शारीरिक सम्पर्कमा रहनु हुँदैन भन्ने बुझेर यो समयको सदुपयोग गर्न उहाँले भाउजुको ईच्छा अनुसार अनमी पढ्न दुई वर्षको लागि वहाँलाई बिदा दिनु भयो।

छोरी पढाउदा पोईल जन्छन् भनेर छोरीलाई पढ्न नपठाउने त्यो समयमा पनि छोरी होईन बुहारीलाई त्योपनि बच्चा छोडेर घरबाट धेरै टाढा चितवनमा बसेर पढ्न पठाउन घर परिबारलाई सहमत गराउनु चानचुने कुरा थिएन । सानो दुधे काखको छोरी र बिरामी श्रीमान छोडेर भाउजु साह्रै दुःखको समयमा अनमी पढ्न जानु भयो र पछि नर्स सम्म बनेर फर्कनु भयो । अहिलेत त्येही नर्स दाईको हेरचाहमा हुनुहुन्छ । भैरव रिसालले पछिल्लो समय जति लेख्नु भयो त्यो सबैको टाइप गर्ने काम सुशिला भाउजुले गर्नु भयो। विभिन्न पत्रपत्रिकाहरूमा जति लेखहरू उहाँले लेख्नुभयो सबै लेखहरु सुशिला भाउजुले टाइप गर्नुभयो| दाई कम्प्युटर चलाउनु हुन्न थियो।पछिल्ला समयका दाइका किरिङ् मिरिङ्ग  अक्षर भाउजुले बाहेक अरुले  बुझ्न गाह्रो हुन्थ्यो। यस्तो बेला दाइको नियमित लेख प्रकाशित हुनु भाउजुको सहयोग बिना असम्भव थियो।

र अन्त्यमा।

सीमा अतिक्रमण र राष्ट्रिय अखण्डता प्रति सतिसाल झै खडाहुनु भएका भैरब दाईले आफ्ना लागि कहिल्यै कसैसँग गुलामी गर्न चाहनु भएन, बरु जति दुःख परे पनि सहनु भयो तर कसैको अगाडि झुक्नु भएन| अवसर नपाएर मात्रै शुद्ध देखिएका हाम्रा कतिपय नेताहरु अवसर पाउने बित्तिकै बिकेका धेरै उदाहरणहरु छन्। तर उहाँले धेरै अवसर पाउनु हुँदा पनि आफुलाई बिग्रन दिनु भएन आफ्नो स्व-आचरण र अनुसासनलाई सधै कायम राख्नुभयो | दाई अहिले ९० को दशकको उत्तरार्धमा आइपुग्नु भएको छ । अब तीन वर्षपछि वहाँ शताब्दी पुरुष  बन्दै हुनुहुन्छ। वहाँलई मृत्यू संग कुनै डर छैन। जिबनमा देश, जनता, परिवार र कोही  कसै प्रति पनि बैरभाब राख्नु भएको छैन र पश्चाताप गर्नु पर्नेगरी कुनै काम पनि गर्नु भएको छैन। त्यसैले उच्च मनोबलका साथ सुखी र खुसी जिबन बाँचिरहनु भएको छ। ९७ औं बर्ष प्रबेशको यस अबसरमा म राष्ट्र र जनताकालागि महत्वपुर्ण योगदान सहित ९६ बसन्त पार गर्नुभएकोमा दाईलाई बधाई दिन  भन्न चाहन्छु र आगामी दिनको लागि वहाँको स्वस्थ र आरोग्य दीर्घ जीवनको कामना गर्दछु | वहाँ सँगै हामीले चलाएको सीमा बचाऔं अभियानमा हिँड्दा हिँड्दै कीर्तिशेष यस सीमा बचाऔं अभियानका संयोजक स्वनाम साथी, र पहिलो आह्वानकर्ताहरु मध्ये राष्ट्रकबी माधब घिमिरे, सताब्दी पुरुष सत्यमोहन जोसी, पहिलो गभर्नर हिमालय समसेर राणा , भुगोलबिद् प्रो. उपेन्द्रमान मल्ल , पूर्ब राजदुत कमानसिंह लामा लगाएत हाम्रो अभियानका धेरै सहयात्रीहरुले आफ्नो ज्यान गुमाउनुभएको छ वहाँहरु सम्पुर्णमा उच्च सम्मान ब्यक्तगर्दै यस अबसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। अभियानमा जोडिनुभएका सम्पुर्ण ब्यक्तित्वहरु प्रति हार्दिक आभे प्रकट गर्न चाहन्छु। अभियानको कार्यक्रमलाई बिशेष महत्ब दिएर प्रकाशन तथा प्रसारण गर्ने पत्रकारमित्रहरु सुरेन्द्र काफ्ले, शन्त गाहा मगर र मनिषा अबस्थीलाई बिशेष धन्यबाद भन्न चाहन्छु।

                                                                —  कोमलचन्द्र बराल (baralkomal99@gmail.com.np)

Leave a Comment