![]()
Peoples News : काठमाण्डौ । तपाइसँग घरजग्गा जस्तो अचल सम्पत्ति धितो छैन भने आफूले चाहेको ब्यवसाय संचालन गर्न बैंक तथा वित्तीय संस्थाबाट सजिलै ऋण नपाउन सक्नुहुन्छ । किनभने अधिकांश बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा अचल सम्पत्ति (घरजग्गा नै) खोज्ने गरेका छन् । केही बैंक तथा वित्तीय संस्थाहरुले परियोजना धितो राखेर पनि ऋण दिन थालेका छन् । तर, यसको लागि पनि तपाइको परियोजना बैंक तथा वित्तीय संस्थालाई औधी मन परेको हुनुपर्छ ।
त्यसो भए अचल सम्पत्ति नहुनेले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउँदैनन् त ? : अहिलेसम्मको अभ्यास हेर्ने हो भने यो प्रश्नको जवाफ पाउँन गाह्रो छ भन्ने नै हो । तर, अहिले एउटा यस्तो विकल्प पनि छ, जसको प्रयोगबाट तपाइले अचल सम्पत्ति धितो नभए पनि र बैंक तथा वित्तीय संस्थाले नदिए पनि अन्यत्रबाट ऋण पाउन सक्नुहुनेछ । तपाइसँग भएको चल सम्पत्ति धितो राखेर ब्यक्ति, संस्था वा निकायबाट ऋण पाउन सक्ने विकल्प अहिले खुल्ला भएको छ । सन् २००६ ९विसं २०६३० मा आएको ‘सुरक्षित कारोबार ऐन’ले गरेको ब्यवस्था कार्यान्वयनमा आएपछि यस्तो विकल्प खुल्ला भएको हो । ऐनले गरेको परिकल्पना अनुसार सुरक्षित कारोबार दर्ता (एसटीआर) गरेर चल सम्पत्तिको धितोमा ब्यक्ति, संस्था वा निकायबाट ऋण लिन पाइने ब्यवस्था छ । धितो दिन अचल सम्पत्ति नहुनेले पनि ब्यक्ति, संस्था वा निकायबाट बैधानिक रुपमा ऋण लिन पाउने बाटो खुल्ला भएको छ, एसटीआर गरेर चल सम्पत्तिको धितोमा ऋण दिन पाउने विकल्प ऐनले खुल्ला गरेकोछ ।

कसरी लिने ऋण ? : अहिले केन्द्रले गरेको ब्यवस्था भनेको चल सम्पत्तिको धितोमा पनि कर्जा दिन पाइने ब्यवस्था हो । यसको लागि तपाइसँग कुनै पनि प्रकारको चल सम्पत्ति भने आवश्यक पर्छ । तपाइसँग गाडी, घोडा, गहूँ, धान, बाख्रा, व्यापार जस्ता जुनसुकै चल सम्पत्ति भएपनि त्यसलाई धितो राखेर ऋण लिन पाउनु हुन्छ, ऋण दिनेले कर्जा सुचना केन्द्रमा ऋणीको सम्पत्ति एसटीआर गर्छ, अनि उसले दिएको ऋण ऋणीले तिरेन भने त्यही धितो सकारेर वा लिलामी गरेर आफ्नो रकम असुल गर्न कानुनी रुपमा पाउँछ । ऋणदाताले धितो राखेको सम्पत्तिको एसटीआर गराउन एउटा रजिस्टरको ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । यो शुल्क तिरेर एक पटक रजिष्टर गरेपछि त्यसको बैधानिकता ५ बर्षसम्मलाई कायम हुने केन्द्रको भनाइ छ । ऋणीले ऋण तिरेपछि भने धितो जमानी लिने ब्यक्ति, संस्था वा निकायले धितो फुक्का गरिदिन्छ । केन्द्रले गत बर्षको जेठदेखि एसटीआर गराउन थालेको हो । यसको लागि इन्टरनेट भएको ठाउँबाट धितोको रजिष्टार गर्न सकिने ब्यवस्था केन्द्रले मिलाएको छ ।
कोकोसँग लिन पाइन्छ ऋण ? : सुरक्षित कारोबार ऐन २०६३ ले ऋण दिन सक्ने क्षमता भएका ब्यक्ति, संस्था वा निकायबाट चल सम्पत्ति धितो राखेर ऋण लिन दिन पाइने ब्यवस्था गरेको छ । यस्तो ब्यवस्थापछि ऋण लिनको लागि बैंक तथा वित्तीय संस्था वा सहकारीमा धाउनु पर्ने बाध्यता हट्न सक्छ । पैसा भएका ब्यक्तिले पनि चल सम्पत्ति धितोमा बैधानिक रुपमा कर्जा दिन पाउने ब्यवस्था छ ।
एउटै सम्पत्ति कति ठाउँमा राख्न पाइन्छ धितो ? ऐनले यसको पनि कुनै सीमा तोकेको छैन । धितोले खामेसम्म एकभन्दा बढी ब्यक्ति, संस्था वा निकायबाट पनि त्यही धितोको आधारमा ऋण लिन पाइने छ । ‘तपाइसँग १० लाख रुपैयाँ ऋण लिन सक्ने क्षमताको कार छ, एउटा ब्यक्तिसँग धितो राखेर ६ लाख रुपैयाँ ऋण लिनुभयो, बाँकी ४ लाख रुपैयाँ ऋण लिनको लागि अर्को ब्यक्ति, संस्था वा निकायमा जान पाउनु हुन्छ । तर, चल सम्पत्ति धितो राखेर ऋण लिनेले एसटीआर गरेमा त्यस्तो विवरण सुरक्षित रहने र कुन ब्यक्तिले कुन सम्पत्तिको धितोमा कति ऋण लिएको रहेछ भन्ने जानकारी कर्जा सुचना केन्द्रबाट सहजै प्राप्त गर्न सकिने भएकोले यसमा बद्मासी हुने सम्भावना कम हुन्छ ।
एसटीआर नगरे के हुन्छ ? :
यसमा भने जोखिम छ । एसटीआर नगरी कसै ऋण लिएको भए पनि ऋण लिने ब्यक्तिको नियत खराब छ र उसले अर्को ब्यक्ति, संस्था वा निकायबाट ऋण लियो भने जसले पहिला एसटीआर गरेको हुन्छ, धितो सकार वा लिलामीमा उसैले पहिलो प्राथमिकता पाउने ब्यवस्था ऐनले गरेको छ । चल सम्पत्तिको कही रेकर्ड होस् र त्यस्तो सम्पत्तिको धितोमा ऋण सुविधा पाइयोस भनेर यस्तो ब्यवस्था गरिएको हो, तपाइले कसैलाई चल सम्पत्तिको धितोमा ऋण दिनुभयो तर एसटीआर गर्नुभएन भने त्यही ब्यक्तिले त्यही सम्पत्ति धितो राखेर अर्कोसँग ऋण लिन सक्ने र ऋण नतिरेको खण्डमा धितो सकार वा लिलामीमा तपाइको हक कमजोर हुने भएकोले एसटीआर नगरी ऋण दिनु जोखिमयुक्त हुन्छ । तर, यसरी गएको ऋणमा ठूलो अंक बैंक तथा वित्तीय संस्थाकै छ । प्रचार प्रसार र जनचेतनाको कमीका कारण ब्यक्तिले पनि यस्तो सम्पत्ति धितोमा ऋण दिन पाउँछन् भन्ने जानकारी नभएकोले अझै बैंकिङ क्षेत्रकै अंक ठूलो रहेको केन्द्रको भनाइ छ । ‘कूल ऋणको ९५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरुबाटै गएको देखिन्छ, यसमा जनचेतना र प्रचार प्रसारको कमी भएको हुन सक्छ, अब हामी ब्यक्तिले पनि चल सम्पत्ति धितो लिएर बैधानिक रुपमा ऋण दिन पाउने ब्यवस्था छ भनेर ब्यापक प्रचार गर्ने कार्यक्रम बनाउँदै छ ।
