![]()
People’s News : अब्बुलेश अन्सारी//बिरगंज : बोल्दा, खोक्दा, हाच्छ्युँ गर्दा निस्कने स–साना छिटाबाट कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र व्यक्ति कोरोना संक्रमित हुन्छ । सही तरिकाले मास्क नलगाउँदा आफू संक्रमित भई अन्य व्यक्तिलाई समेत सार्ने सम्भावना उच्च हुन्छ। विशेषगरी सहर बाहिर ग्रामीण भेगमा सही तरिकाले मास्क नलगाउने गरेको पाइन्छ। मास्क लगाउँदा अप्ठ्यारो महसुस गर्ने, श्वास फेर्न गाह्रो हुने, बाफ निस्केर चस्मा धमिलो हुने र मास्कको डोरीले कान दुख्ने गरेको दुःखेसो सुन्न पाइन्छ। सानोतिनो समस्यालाई ठूलो ठानेर हेलचेक्र्याई गर्दा संक्रमणबाट ज्यान नै जाने सम्भावनालाई गम्भीरतापूर्वक लिनुपर्छ। स्वास्थ्यको पहिलो दायित्व मानिस स्वयंको हो। त्यसपछि सरकारको हो।
सरकारले स्थानीय तहका पालिकादेखि नै स्वास्थ्य युनिट तथा स्वयंसेवक परिचालन गर्नुपर्छ। सहरका चोकचोकमा निःशुल्क मास्क वितरण गर्न मास्क बुथ सेन्टरहरूको स्थापना गर्नुपर्छ। अहिले तीन हजार तीन सय ९० वटा स्वास्थ्यचौकी स्थानीय तहमा छन्। सात सय ७८ वटा प्राथमिक स्वास्थ्य केन्द्रको परिकल्पना गरिएको छ। सेकेन्डरी, टर्सरी र केन्द्रीय तहमा पनि अस्पताल छन्। त्यसबाहेक मेडिकल कलेज र निजी स्वास्थ्य संस्थाहरू पनि छन्। सबै स्वास्थ्य संस्थाबाट निःशुल्क मास्क वितरण गर्नुपर्छ।
प्रहरी प्रधान कार्यालयले कोरोना संक्रमण सुरु भएयता आठ लाखभन्दा बढी मास्क वितरण गरेको बताएको छ। यो अभियानलाई निरन्तरता दिनुपर्छ। गाउँका स्वास्थ्य केन्द्रहरूमा पर्याप्त मास्कको व्यवस्था गर्नुपर्छ। पढेलेखेका व्यक्तिले पनि मास्कको सही उपयोग गर्न सकेका छैनन्। एक पटक प्रयोग गरेको मास्क चलिहाल्छ नि भन्दै पटक पटक दोहोर्याएर प्रयोग गर्ने मानसिकता एवं बानी धेरैमा छ। त्यसैले पनि सरकारले चोक चोकमा खोप बुथका रूपमा मास्कको पर्याप्त व्यवस्था गर्नुपर्छ। नागरिकको अभिभावक नै राज्य हो। राज्यले नागरिकको ज्यान जोगाउनु पहिलो दायित्व हो। ठाउँ ठाउँमा सरकारले मास्क राख्नु पर्ने यही संक्रमणको बेला नै हो। संक्रमणको सम्भावित तेस्रो लहरमा सरकारले मास्क प्रयोगको महत्व बुझाउने अभियान सुरु गर्नु स्वाभाविक हो। मास्कको उचित प्रयोगले नै संक्रमणको विस्तारलाई रोक्न सक्छ।

सरकारले मास्क खोई ? भन्ने साताव्यापी अभियानको अन्त्य भइसकेको छ। जनचेतनाको मास्क अभियान सुरु भए पनि त्यसको प्रभाव अपेक्षाकृत आमजनतामा पर्न सकेको देखिँदैन। अहिले तेस्रो संक्रमणको संघारमा सरकारले ट्राफिक प्रहरी लगाएर मास्क खोई ? भन्ने प्रश्न गरेको छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने मूलनाराका साथ सुरु गरिएको अभियानको प्रभाव कस्तो पर्यो त्यसको लेखाजोखा भइरहेकै होला। धेरै परिमाणमा मास्कको उत्पादन नै गर्ने हो भने प्रतिमास्क दुई रुपैयाँ पर्छ। औषधि उपकरण, परीक्षणमा अर्बौं रकम खर्च गर्ने, खोपमा पनि अर्बौं ऋण लिन सक्ने सरकारले मास्कमा लगानी गर्न किन नसकेको ?
सरकारलाई नै प्रतिप्रश्न गर्छु, सरकार मास्क खोई ? मास्क निःशुल्क वितरण गर्ने र त्यसमार्फत जनचेतना जगाउने अवसरबाट अहिले चाहिँ नचुकौं।