कोरोना नियन्त्रण गर्न कहाँ चुक्यो सरकार : रामबाबु सिंह//सिराहा

Loading

कहाँ चुक्यौं ?
Peoples News : रामबाबु सिंह//सिराहा : संक्रमणको पहिलो र दोस्रो लहरमा १० हजारभन्दा बढी नेपाली नागरिकले ज्यान गुमाए । चीनको वुहानबाट कोरोना संक्रमण सुरु हुँदा नेपालमा सरोकारवाला व्यक्तिहरूको अनौठौ प्रतिक्रिया थियो । पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमा त पर्यटन भित्र्याउन सक्ने सम्भावना भएको चर्चा भइरहेको थियो । कोरोना संक्रमण फ्रि मुलुकको घोषणा गरी पर्यटन भित्रयाउने घोषणाको तयारी पनि गरिँदै थियो । यसबाट के प्रष्ट हुन्छ भने संक्रमणले नेपालमा कति प्रभाव पार्छ भन्ने आँकलन गर्नसमेत कोही तयार थिएन । नेपालमा संक्रमणको प्रभाव पर्ने र पूर्वतयारी गर्नुपर्नेतर्फ सरोकारवाला निकायको सोच नै थिएन ।

चीनबाट कोरोना संक्रमण अन्य मुलुकमा फैलँदै गर्दा सरकारले गम्भीर ढंगले ग्रहण गर्न सकेन । २०७६ माघ ९ गते पछिको झन्डै १४ महिनालाई संक्रमणको पहिलो लहरका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिएको थियो । पहिलो लहरमा मुख्यगरी विदेशबाट फर्केकाहरू संक्रमित हुन पुगे । हवाई मार्ग हुँदै आउने व्यक्तिलाई सुविधासहित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरियो । तर सीमापारी भारतबाट आएका नेपालीको स्वास्थ्यजाँचदेखि क्वारेन्टाइनसमेत व्यवस्थित हुन सकेन । बाँकेस्थित एक युवाको क्वारेन्टाइनमा बसिरहेका बेला ज्यानसमेत गयो । खुला सीमा क्षेत्रमा व्यवस्थापन फितलो भयो । संक्रमणको पहिलो लहरमा कोरोना भाइरसबारे पर्याप्त ज्ञान पनि थिएन । संक्रमितको व्यवस्थापन पनि प्रभावकारी ढंगले हुन सकेन ।

सहरका चोकचोक र गाउँका स्वास्थ्य केन्द्रमा ‘मास्क बुथ सेन्टर’ स्थापना गरी निःशुल्क वितरण गर्नुपर्छ। खोपको विकल्प मास्क हो।

पहिलो लहरको एक वर्षभन्दा लामो समय अवधिमा सरकारले पूर्वतयारी चुस्त ढंगले  गर्नुपर्ने थियो । समयमै योजना, रणनीति बनाउनु पर्ने थियो । समयमै खुला सीमाका कारण हुन सक्ने चुनौति, संक्रमण बढेमा गर्नुपर्ने व्यवस्थापकीय कार्यहरूबारे छलफल  गर्नुपर्ने थियो । लकडाउन घोषणा गरे पनि प्रभावकारी हुन सकेन । संक्रमण सहरी क्षेत्र हुँदै ग्रामीण बस्तीमा पनि फैलियो । समुदायमा बढ्दै गयो । जनचेतना पनि फैलाउन नसकेको अवस्था रह्यो । उपचार व्यवस्थापनका लागि अक्सिजन, भेन्टिलेटरको पनि पर्याप्त व्यवस्थापन हुन सकेन। नेपालमा पहिलो संक्रमित पुष्टि भएको दुई महिनापछि मात्र दोस्रो केस भेटिएको थियो । संक्रमणले विस्तार हुँदै गएपछि मात्र हतारहतारमा विभिन्न रणनीति बनाइयो । लकडाउन घोषणासमेत गरियो । काठमाडौंबाट सर्वसाधारण नागरिक पैदल सयौं कोष टाढा घरतर्फ पैदल हिँड्नुपर्ने बाध्यतासमेत आयो ।

संक्रमणको पहिलो लहरमा जनता भयका कारण पनि सचेत देखिए । कुनै ठूलो रोग हुने होकि भन्ने त्रास थियो । भारत र नेपालमा आयुर्वेददेखि विभिन्न औषधोपचारतर्फ आकर्षण बढ्यो । आयुर्वेद र घरेलु उपचारप्रेमीहरू बढे । झाडापखाला हुँदा जीवनजलको प्रचार भएझैं गुर्जो लगायतका जडिबुटीको प्रचारप्रसार भयो । जुन केही हदसम्म सही निर्णय पनि थियो । त्यसैले पहिलो लहरमा संक्रमितहरू जटिल अवस्थामा पुगेनन् । मृत्युदर पनि न्युन थियो । जबकि पहिलो लहरमा युरोप एवं अमेरिकामा मृत्युदर उच्च थियो । संक्रमणको  पहिलो र दोस्रो लहरमा १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यति धेरै संख्यामा ज्यान गुमाउनुको प्रमुख कारण स्रोत साधन र जनशक्ति काठमाडौं केन्द्रित भएकाले गर्दा हो । काठमाडौं उपत्यकाबाहिर दक्ष जनशक्ति, अनलाइन विकल्प, अक्सिजन र अन्य स्रोतसाधन व्यवस्थापन गर्न नसक्नु अर्को कारण हो ।

संक्रमणको दोस्रो लहरको सुरुआत २०७७ चैतको पहिलो सातादेखि मानिएको छ । संक्रमणको पहिलो लहरमा अत्यावश्यक ठाउँमा व्यवस्थित होल्डिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसन निर्माण एवं सञ्चालन गर्नु पथ्र्यो । पहिलो र दोस्रो लहरमा जुन जुन क्षेत्रमा चुक्यौं, त्यसलाई सुधार गर्नुपर्ने सोचमा कमी देखियो । स्वास्थ्य उपकरणदेखि अन्य स्वास्थ्य सामग्री र खोपको आयातमा पनि स्वार्थ हावी हुन पुग्यो । समयमै खरीद गर्न नसक्नु तीतो यथार्थ हो । सीसीएमसीले उल्लेखनीय कार्य गर्न सकेन । मन्त्रालयगत समन्वयमा कमी रह्यो । संक्रमणले सताएका अन्य मुलुकको व्यवस्थापकीय कार्यबाट सिक्न सकिएन । नत्र, नेपाल पनि भुटानजस्तै रोल मोडल बन्न सक्थ्यो ।

संक्रमणको दोस्रो लहरमा घोषणा गरिएको निषेधाज्ञा अहिले खुकुलो भएको छ । बजारमा चहलपहल बढ्दो छ । आपसी भेटघाटका क्रममा हेलचेक्र्याई भइरहेको छ । कतिपयलाई खोप लगाएको छु, संक्रमण हुँदैन भन्ने भ्रम पनि छ । खोपको सफलता पनि शतप्रतिशत नभएको उत्पादक कम्पनीहरूले बताइरहेका छन् । खोपको पूर्ण मात्रा लगाएका व्यक्तिलाई पनि पुनः दोहोरिएर संक्रमण भएको छ । त्यसैले अहिलेको टड्कारो आवश्यकता नै नागरिकको व्यवहार परिवर्तन गर्नु हो । स्वास्थ्य मापदण्डको पालनासहित सरकारले खोप अभियानलाई पनि तीब्रता दिनुपर्छ । अहिले खोप केन्द्रहरूको संख्या अपर्याप्त छ । खोप केन्द्र आफैं संक्रमणको थलो बन्ने त होइनन् ? जोखिम पनि छ । त्यसैले सरकारले खोप खरीद गर्ने कार्यलाई तीब्रता दिँदै खोप अभियानलाई पनि द्रुत र प्रभावकारी बनाउनु पर्छ ।

 

Leave a Comment