![]()
People’s News : कम्युनिष्टहरू ७२ पटक ‘टुटफुट’ : नेपाल कम्युनिष्ट पार्टीको स्थापना २२ अप्रिल १९४९ (वैशाख १०, २००६) मा भारतको कलकत्तामा भएको थियो । कम्युनिष्ट आन्दोलनको स्थापनाको झन्डै ७२ वर्षमा ७२ पटक नै टुटफुटको सामना गर्नुपरेको छ । पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी संस्थापक रहेको कम्युनिष्ट पार्टीले स्थापनाको ११ वर्षमै विभाजनको शिकार हुनुपरेको थियो । २००८असोज ११ देखि १६ गतेसम्म भारतको कलकत्तामा प्रथम सम्मेलन सम्पन्न गरी जनवादी कार्यक्रम पारित गरेको थियो। प्रथम सम्मेलनबाट पुष्पलाल महासचिवमा चयन भएका थिए ।

२०१३ सालमा मनमोहन अधिकारी चीन जाँदा केशरजंग रायमाझी कार्यवाहक महासचिव बने । त्यसपछि पार्टी दक्षिणपन्थी दिशामा गयो, पार्टीभित्र विवाद सुरु भयो। २०१४ मा काठमाडौंको फोहरामा दोस्रो महाधिवेशन भयो । महासचिव भने रायमाझी नै रहे। रायमाझी राजतन्त्रलाई नै मानेर अघि बढ्नुपर्छ भन्नेमा थिए। पार्टीभित्र विवाद बढ्दै गएपछि २०१७ सालमा भारतको दरभंगामा पार्टीको विशेष विस्तारित बैठक बस्यो । बैठकले रायमाझीलाई कारबाही गर्यो । कम्युनिष्ट आन्दोलनमा त्यहीबाट फुट सुरु भयो ।२०१९ सालमा वनारसमा भएको तेस्रो महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिव निर्वाचित गर्यो । पार्टीभित्रको विवाद हल हुन सकेन । नेताबीचको तिब्र विवादले २०२३ सालसम्म कम्युनिष्ट पार्टी अस्तित्व नै समाप्त हुने स्थितिमा पुग्यो ।
पूर्व मेची कोसी प्रान्तीय कमिटी गठन भयो । अर्कोतिर रायमाझीको समूह समूह छुट्टियो । २०२५ सालमा पुष्पलालको नेतृत्वमा पार्टी पुनर्गठनको प्रयास भयो । पुष्पलालको नेतृत्वमा नयाँ केन्द्रीय कमिटि गठन भयो । तर तुलसीलाल अमात्य समूह अलग भयो । २०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनका अर्का दुईवटा लाइन देखा परे । झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस । पुष्पलालको पार्टी भने यी दुवै पक्षमा देखा परेन । एउटाको नेतृत्व सीपी मैनालीले गर्थे । अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गर्थे । यी दुई समूहबीच लामो समयसम्म ध्रुवीकरण रह्यो । तर यी दुई समूह पनि फुट्दै दर्जनौं स–साना समूहमा विभाजित छन् ।

सत्ताको भोक चरम सीमामा पुगेपछि दलहरू फुटको संघारमा पुग्ने गरेको छ।अधिकारको नाममा सबै जुट्छन्, सत्ताको लोभमा टुक्रा–टुक्रामा फुट्छन्।
२०३५ साउनमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधनपछि मदन भण्डारी, बामदेव गौतमसहित नेताहरूले छुट्टिएर मुक्ति मोर्चा समूह बनाए । यता झापाको सीपी मैनाली लगायतको विद्रोही समूहले अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाएको थियो । दुवै समूह मिलेर २०३५ पुस ११ गते सीपी मैनालीको नेतृत्वमा नेकपा (माले) बन्यो । त्यहीबाट हालको एमालेको इतिहास सुरु भएको मानिन्छ । मनमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी खोले । २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) गठन भयो ।
२०४६ को जनआन्दोलनमा मनमोहन नेतृत्वको माक्र्सवादी र सीपी मैनालीको मालेसहित अन्य साना वाम समूहले मोर्चा बनाए । एमालेको ०४९ माघमा भएको पाँचौ महाधिवेशनले मदन भण्डरीलाई महासचिव चयन गर्यो । जनताको बहुदलीय जनवाद (जबज) लागूगर्यो । २०५० जेठ ३ गते मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भयो । त्यसपछि माधवकुमार नेपाल महासचिव बने । कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारद्धारा भारतसँग गरेको महाकाली सन्धिलाई लिएर पार्टीभित्र तीव्र विवाद भयो । नेपाल र केपी ओली सम्झौताको पक्षमा उभिए । वामदेव गौतम लगायतका नेता विपक्षमा उभिए । विवादकै कारण ०५४ मा एमालेमा पहिलोपटक विभाजन भयो । वामदेव गौतम, सपना प्रधान लगायतका नेताद्धारा नेकपा माले गठन गरे ।
२०५८ मा एमाले र मालेबीच पार्टी एकता भयो । तर सीपी मैनालीले मालेको नाममा पार्टी सञ्चालन गरिरहे । ०७५ जेठ ३ मा एमाले र माओवादीबीच पार्टी एकता गरी नेकपा गठन भयो । एकतापछि पार्टीभित्र तिब्र विवाद देखिएकै बेला २०७७ फागुन २६ गते सर्वोच्चको फैसला अनुसार नेकपा एकता बदर भयो । एमाले र माओवादी केन्द्र साविककै पुरानै पार्टीमा फर्के । तर एमालेभित्रको विवाद बढ्दै गयो । ०७८ भदौ २ गते ओली र नेपाल पक्ष गरी एमालेमा पुनः विभाजन आयो । नेपाल र झलनाथ खनाल पक्षले नेकपा एमाले (समाजवादी) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरे ।

