![]()

पिपुल्स न्युज रामबाबु सिंह प्रदेश २ : हरेक वर्ष सरकारले ल्याउने नीति तथा कार्यक्रममा व्यापारघाटा कम गर्ने विषयलाई प्राथमिकताका साथ समेट्दै आएको छ । नेपालबाट छिमेकी देशमा हुने निकासीलाई पनि सहज बनाउने र आयातभन्दा पनि निर्यातलाई बढावा दिने नीति सरकारको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चस्तरको व्यापारघाटा तथा बेरोजगारी न्यून गर्दै लग्ने हरेक सरकारको योजनामा समेटिएका छन् । पुराना उद्योगको पुनःस्थापना र आवश्यक नयाँ उद्योगलाई द्रुत सञ्चालनका लागि बेलाबेलामा सडकदेखि सदनसम्म चर्चा पनि हुन्छ । मुलुक कृषिप्रधान देश भनिए पनि परनिर्भता बर्सेनि बढ्दै गएकाले यस्तो चर्चा र सार्वजनिक रूपमा बहस हुनु स्वाभाविक हो ।पछिल्ला केही वर्षयता मुलुकमा आत्मनिर्भरताको कुरा निकै उठिरहेको छ । जब–जब आयातमा समस्या पर्छ, तब–तब आत्मनिर्भरताको बहस बढी हुन्छ । कृषिप्रधान देश भए पनि कृषिजन्य पदार्थको आयातका लागि ठूलो आर्थिक हिस्सा देशबाट बाहिरिन्छ । कृषकहरूको तरकारीले बजार नपाउँदा खेतमै कुहिएको खबर आउँछन् । तर, बजार भने विदेशबाट आयात भएका वस्तुले ढाकेको हुन्छ । कृषिप्रधान मुलुकमा विदेशकै कृषिउपज आउँदा अन्य वस्तुमा त झनै आत्मनिर्भर हुने कुरै भएन । खाना, नानादेखि दैनिक उपभोग्य सबै वस्तुमा परनिर्भर रहनुपर्ने बाध्यता अझै छ ।

सरकारले आयात प्रतिस्थापन गर्न सकिने वस्तुमा बृहत् उत्पादन नगर्दा पनि व्यापारघाटा चुलिएको छ । राज्यले अपनाएका नसुहाउँदो नीतिले पनि बर्सेनि देशमा व्यापारघाटा बढ्दै गएको अर्थविज्ञ बताउँछन् । मुलुकमा आधुनिक प्रशोधन उद्योग बृहत् रूपमा विस्तार नभएसम्म व्यापारघाटा नबढ्ने उनीहरूको तर्क छ । २०४० सालसम्म नेपालबाट भारत र तेस्रो मुलुकमा कृषिजन्य वस्तु निर्यात हुन्थ्यो । सरकार आफैंले निर्यात कम्पनी खोलेर किसान तथा व्यापारीबाट अन्न किनेर ती वस्तु निर्यात गथ्र्यो । आर्थिक वर्ष २०३५/३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको सरकारी तथ्यांकमा नै भेटिन्छ । तर, हाल वार्षिक करिब सबा अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात हुँदै आएको छ ।
आयात र निर्यातको चर्चा गर्दा मुलुक आर्थिक घाटामा गएको देखिन्छ । तर, देशभित्रै पनि गौरव गर्ने नेपाली उत्पादन छन्, जसले विश्वमा नेपाललाई चिनाएको छ । यस मध्येमा पर्छ, नेपाली हाते कागज । लोक्ताबाट बनेको कागज धेरै मुलुकमा चर्चित छ । यो उत्पादन ४२ मुलुकमा निर्यात हुँदै आएको छ । उच्च हिमाली क्षेत्रसँगै पहाडी जिल्लामा पनि यसको उद्योग स्थापना गरेर स्थानीय नागरिकले कागज उत्पादन गर्दै आएका छन् । गाउँका कुनाकाप्चामा पनि स्थापना गर्न सकिने र उत्पादन हुने हाते कागजले विश्वबजार ओगट्नु नेपालका लागि खुसीको कुरा हो ।
अझै धेरै उत्पादनको कच्चा पदार्थका लागि विदेशी मुलुककै भर पर्नुपर्ने बाध्यता छ । नेपाली कच्चापदार्थबाट उत्पादन हुने हातेकागज जस्ता वस्तुलाई पनि मुलुकले प्रोत्साहन गर्न सकेको छैन । कृषियोग्य जमिन बाँझो हुनु, दक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि बाहिर जानु, लागत खर्च अत्यधिक हुनु, खेतीयोग्य जमिनमा सिँचाइको अभाव, रेमिट्यान्सको प्रभाव र क्रयशक्ति बढ्दै जानुलगायतका कारणले ‘मेड इन नेपाल’ गर्वका साथ भन्न सकेका छैनौं ।
अहिले नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारको साथ लिएर ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ गरेको छ । यसले नेपाललाई आयातमुखीबाट उत्पादनमुखी अर्थतन्त्रमा परिवर्तन गराउने भएकाले यस्तो अभियानलाई सबैले साथ दिन आवश्यक छ । के कुरामा आत्मनिर्भर हुन सकिन्छ त्यो पहिचान गरेर समयमै नीति बनाएर अघि बढे अवश्य ‘मेक इन नेपाल–स्वदेशी’को लक्ष्य पूरा हुनेछ ।