चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

Loading

पिपुल्स न्युज : म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ४२ वर्षीय ओमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंङ्ग कुँवरले जानकारी दिए । शव परीक्षणका लागि बेनी अस्पताल लैजाने तयारी भएको छ । घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेको स्वीकार गरेका छन् । राससका अनुसार स्थानीयवासीले इलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो । म्याग्दीमा हुने अपराधको मुख्य कारण मदिरा सेवन देखिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल १५७ वटा मुद्दामध्ये ४२ वटाको कारण मदिरा सेवन देखिएको कुँवरले बताए । 

Leave a Comment