![]()
निषेधाज्ञाको अवस्थामा सर्वधारण जनतालाई दैनिक उपभोग्य सामग्री खरिद गर्न टोल–टोलमा साना पसलहरु खोल्ने व्यवस्था गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको भर्चुअल बैठकले साना पसलहरु खोल्ने व्यवस्था गरि एकै पल्ट भिड हुने स्थितिलाई अन्त्य गर्न निर्देशन दिएको हो । संक्रमित व्यक्तिलाई होम आइसोलेसनमा राख्ने नभएर अन्यत्रै पर्याप्त आइसोलेसन सेन्टरहरु खोल्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ, ‘आफ्नै घरमा आइसोलेसनमा राख्ने कार्यले अरुलाई संक्रमणको अवस्थालाई नियन्त्रण गर्नेभन्दा झनै परिवार र परिवारबाट टोल समुदायमा सर्ने अवस्था भएको हुँदा सरकारले नै पर्याप्त आइसोलेसन केन्द्रहरु व्यवस्थापन गर्नुपर्छ । अति संक्रमित स्थानहरुमा घर घरमा नयाँ मान्छेको प्रवेशलाई निषेध गर्न र अति आवश्यक सामग्री लिएर आउने मानिसहरुलाई टाइम कार्ड प्रयोग गरी मानिसको संख्या समेत उल्लेख गरी चाँज गर्दै आउने जाने व्यवस्था मिलाउन समेत सरकारलाई समितिको निर्देशन छ ।