बहुमत सरकारको जनादेशको नशा

दुई फरक संस्कार (घोर दक्षिणपंथी र उग्र बामपंथी) भएका कम्युनिष्ट पार्टीबीच भएको हठात् एकीकरणले नेपाल कम्युनिष्ट पार्टीको शक्तिशाली सरकार त बन्यो, केही दिनको लागि नेपाली जनता उत्साहित त भए, तर दुई पार्टीको विपरित संस्कारले आफूसंगै ल्याएको अन्तर्विरोधले पार्टीलाई अन्तरसंघर्षमा जाक्यो । अहिले नेकपाभित्र नफुक्किने गाँठो परेकोले पार्टी विभाजनको सम्भावनामा फँसेको छ ।
दुईतिहाई बहुमतको कम्युनिष्ट सरकार देश र जनताका लागि फरक केही नगरि परम्परागत रुपमा चलेको आरोप लगाएर प्रचण्ड गुटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष दुबै पदबाट राजीनामाको माँग गरेपछि दुईतिहाई बहुमत ल्याउने राजनीतिका शिखर पुरुषको रुपमा आफूलाई चित्रित गर्ने केपी शर्मा ओलीको स्वाभिमानमा ठूलो चोट परेपछि “मैले आफ्नो कार्यकालसम्म कुनै पद छाडदिन, बरु तपाईंहरु छाड्दै जानुस्” भनेर जवाफ दिएपछि सरकार र पार्टी निरंकूश व्यक्तिको कब्जामा रहेको सबैले सहजै बुझे ।
नेपाली जनतालाई विस्तारै आहार बनाउँदै कोरोनाको कहरलाई नियन्त्रण गर्ने, बाढी पहिरोमा परि धनजनको क्षति तथा विस्थापितहरुको पीडामा राहत वितरण, व्यवस्थापन गर्ने, ५ महिनादेखि लकडाउनमा परेका जनता अब भोकभोकै पर्ने अवस्थामा आउँदा विकराल समस्यालाई कसरी समाधान गर्ने आदि सरकारको जिम्मेवारी वहन गर्ने अवस्थामा अनावश्यक राजनीतिक झगडा झिकेर ताण्डव देखाउनुमा किञ्चित पनि लज्जाबोध नहुनु कुन सभ्यता हो ?
जेल, नेल, युद्ध, यातना भोगेर जनताको जीवनस्तर उकास्ने आकाँक्षा बोकेर राज्यसत्तामा पुग्ने ७ दशकसम्म कठीन परिश्रम गरेर अनुभवी बूढा कम्युनिष्ट नेताहरुको पारस्परिक तछाड मछाडले युवाहरुको अल्लारेपनलाई मात दिएको अनुभव हुन्छ । किञ्चित दायित्वबोध नरहेका अल्लारे बूढा नेताहरु आफ्नो असक्षमता सिद्ध गर्न लागेको सबैले अनुभव गर्ने कुरा हो । पद बाँडफाँडका लागि ७ दशकको अनुभव देखाउने नेताहरु अहिले पीडामा रहेको नेपाली जनताको आँसू पुछ्न किन जाँदैन ? उसको जीवनमा खनिएको समस्या हटाउने प्रयास किन गर्दैन ? लामो अनुभवबाट खारिएका नेताहरुलाई जनउत्तरदायी दायित्वबोध हुन नसकेको कारण के ?
तत्कालिन माओवादी र एमालेबीच सतही एकीकरण त भयो तर दुबै पार्टीको कार्यकर्ताबीच सम्मिलन हुन सकेन । काँक्रा जस्तै बाहिर एक देखाउने तर भित्र आफ्नो पृथक अस्तित्व राख्ने कारणले पनि अन्तर संघर्ष चर्केको हो । एकअर्कालाई आत्मसात् गर्ने उच्च महत्वाकाँक्षाको टकराहटले सतहमा कडा संघर्ष देखिएको हो ।
सरकार संचालनमा पूर्ण असफल देखिएका ओली जिद्दी स्वाभावका भएकोले पनि माँग बमोजिम उनी सहमती गर्न तयार हुदैनन् । आफ्नो अभिव्यक्तिमा उनी प्रष्ट भनी सकेका छन् । पहिलेदेखि तितर बितर भएका माओवादीलाई जोड्न नसकेको प्रचण्ड पार्टी फोडेर बाहिर जाने गल्ती गर्दैन । यो कुरा प्रचण्डभन्दा ओली बढि बुझछन् । त्यस अवस्थामा प्रचण्डको कुरा मानेर आफूले कमाएको साखलाई ओलीले कुनै हालतमा धाराशायी हुन दिदैन । देशको कतिपय राजनीतिक घटनामा कट्टर विपक्षीलाई पनि आफ्नो समर्थनको कित्तामा उभ्याउने कूटनीतिबाज ओली शासन बिगैपनि आफूलाई बिगार्न चाहँदैन । भीम रावल जस्तो कडा विरोध गर्ने पात्र जस्तै अन्ततः प्रचण्ड गुटपनि ओलीको सहमतिमा आउने निश्चित छ ।

उपेन्द्र झा

Leave a Reply