मनसुनी वर्षाबाट जोखिम उत्पन्न हुन सक्ने चेतावनी बासिन्दालाई अटेरी नगर्न आग्रह

Loading

बुधवारसम्म देशभरि मनसुनी गतिविधि सक्रिय हुने विवरण आइरहेको समयमा विज्ञहरूले बाढी तथा पहिरोबाट जोगिन मौसम र विपद्सम्बन्धी पूर्वचेतावनीलाई समुदायले अटेर नगर्न सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा सरेको मनसुनी न्यून चापीय रेखाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । केही स्थानहरूमा भारी र अति भारी वर्षा हुने यो क्रम बुधवारसम्म जारी रहने र त्यसपछि केही कमी आउने विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् ।

PeoplesNews : उनले भने, “बुधवारबाट अलिकति वर्षाको मात्रामा कमी आउने मात्रै हो, रोकिने होइन्। भारी वर्षा एक-दुई स्थानमा मात्रै हुनेछ । विभागले सातवटै प्रदेशका केही स्थानहरूमा भारी वर्षाका कारण त्यहाँ रहेका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने र पहिरो जानसक्ने, डुबान हुनसक्ने अनि सडक तथा हवाई यातयात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ । शुक्रवारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र तीनका सहायक नदी सहित चुरे र कतिपय तराई भएर बग्ने नदीमा उल्लेख्य रूपमा बहाव बढ्ने बताइएको छ । कतिपय नदीको तह सतर्कता आसपास पुग्नसक्ने मध्यम सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ । सोमवार नारायणी तहमा बहावको तह उल्लेख्य बढ्ने र सतर्कता तह पार गरी खतरा आसपाससम्म पुग्नसक्ने चेतावनी गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले दिएको छ  । त्यसबाहेक कन्काई, कमला, वाग्मती, तिनाउ र पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक रूपमा बहाव बढेर बाढी आउनसक्ने चेतावनी दिइएको छ । सोमवार बिहानसम्मको जानकारी अनुसार चितवन अन्तर्गत नारायगढ-मुग्लिङ सडकखण्ड सहित सात जिल्लाका विभिन्न सडकहरू पहिरोका कारण अवरूद्ध भएका छन् । जेठ ३० गते नेपालमा मनसुन सुरु भएयता पहिरोका कारण १११ जनाको मृत्यु भएको छ भने बाढीका कारण तीन जना र चट्याङ्‌का कारण १७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म हेर्दा विगत वर्षको तुलनामा यस वर्ष पहिरोले धनजनको क्षति बढाएको छ । मौसमविद् प्रधानाङ्ग भन्छन्, “गएको हिउँद यामबाटै सरदरभन्दा बढी वर्षा भएको छ र अहिले मनसुनमा पनि औसतभन्दा बढी नै वर्षा भइरहेको अवस्था छ । “जुन र जुलाई भनेको मनसुन सबैभन्दा सक्रिय रहने समय हो। पहिले नै कमजोर जमिन गलिसकेको हुनाले र वर्षा अगष्टसम्म भइराख्ने हुनाले पनि अझै पहिरोको सम्भावना बढी नै देखिन्छ । उनले विभागको बाढीको पूर्वसूचना प्रणाली राम्रो बनेको हुनाले क्षति कम भइरहेको बताए ।

कस्तो सावधानी अपनाउने ? : पहिरोबारे विद्यावारिधि गरेका विपद् जोखिम व्यवस्थापन विज्ञ कृष्ण देवकोटा सरकारी संयन्त्रहरूले उपलब्ध गराउने मौसम र विपद्का सूचनाहरूका आधारमा समुदाय स्वयंले प्रकोपबाट आफूलाई जोगाउन सक्ने बताउँछन् । उनले भने, “विपद् जोखिम बारेका सूचनालाई राम्रोसँग सुनेर, हेरेर र बुझेर पहिरो जाने सम्भावित उच्च जोखिम रहेको ठाउँबाट कम जोखिमको ठाउँमा मानिसहरू जानुपर्छ। अटेर गरेर बस्नुभएन । पहिला पहिरो गएका स्थान, हाल पहिरो खस्न सुरु भएको ठाउँ वा जमिन चिरा परेका स्थानहरूमा बसिरहेका मानिसहरूले त्यस्तो ठाउँ तत्कालै छाड्नुपर्ने उनले बताए । अहिले भारी वर्षा हुने समयमा निरन्तर पहिरो खसिरहेका सडकखण्ड प्रयोग गर्न नहुने र आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने देवकोटाको भनाइ छ । बाढीको सन्दर्भमा पूर्वसूचना प्रणाली जडान गरिएको भन्दै उनले नदीको बहावबारेका सूचनाका आधारमा स्थानीय संयन्त्रहरू सक्रिय हुनुपर्ने बताउँछन् । “माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको अवस्थामा पनि तल्लो तटीय क्षेत्रमा नदीको बहाव अस्वभाविक रूपमा बढे मानिसहरूले आफू र आफ्नो परिवारलाई सुरक्षित स्थानमा लैजानुपर्छ । “सुरक्षित ठाउँ जाने क्रममा त्यहाँ पुग्न सबैभन्दा सुरक्षित मार्गको प्रयोग गर्नुपर्छ। त्यति गर्न सकियो भने मानवीय क्षति कम गर्न सकिन्छ ।

अधिकारीहरू के भन्छन् ? : राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल आगामी चार दिन जोखिम उच्च रहेका स्थानमा बसिरहेका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको बताउँछन् । पोखरेलले भने, “पहिरोमा नै बस्ती बसेका स्थानहरूमा एकदमै सतर्क रहनुपर्छ। जोखिम भएका ठाउँमा रातको समयमा सुरक्षित ठाउँमा बस्न जानु उपयुक्त हुन्छ । “तराईमा पनि जहाँ बाढीको जोखिम छ त्यसबारे मोबाइलका एसएमएसमार्फत जानकारी दिने गरिएको छ । उनले हरेक स्थानीय र प्रादेशिक सरकारले विपद् नियन्त्रणका लागि संयुक्त रूपमा काम गरिरहेको र सुरक्षा निकायहरूलाई स्थानीय तहसँग मिलेर काम गर्ने गरी शुक्रवारबाटै तयार अवस्था राखिएको बताए । “यसपालि कोभिड-१९ को कारणले विद्यालय भवनहरू सञ्चालनमा नआएको सन्दर्भमा त्यस्ता स्थान र सामुदायिक भवनहरूलाई आश्रयस्थलका रूपमा प्रयोग गर्ने हिसाबले कार्ययोजना बनाएका छौँ ।