लकडाउन खुकुलो पश्चात कोरोना संक्रमितको संख्या बढने क्रममा झन तिब्र

Loading

विगत २४ घण्टामा नेपालका विभिन्न जिल्लामा थप १८६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

PeoplesNews : यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,८४४ पुगेको छ । तीमध्ये ११,८६८ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । विगत २४ घण्टामा १७३ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन् । उनका अनुसार अहिले सङ्क्रमण भएका कुल २२,२२८ मानिस देशभरि आइसोलेशनमा छन् । गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ । भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ । बारा र डोटीमा सबैभन्दा धेरै : नारायणी अस्पतालको प्रयोगशालको परीक्षणमा थप ५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये ४६ जना बारा र ४ जना पर्साका बासिन्दा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए । त्यस्तै सोमवार पुष्टि भएका सङ्क्रमितहरूमा डोटीमा ४० जना र सर्लाहीका २३ जना रहेका छन् । सङ्क्रमण नभएका सात जिल्ला : नेपालमा सबै ७७ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भए पनि अहिले सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य भएको छ। ती जिल्लाहरू भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् । सक्रिय सङ्क्रमित ५०० भन्दा बढी भएका जिल्लाहरूमा रौतहट, कैलाली र बाजुरा रहेका छन् । प्रदेश अनुसार सबैभन्दा बढी सक्रिय सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा रहेको छ। त्यहाँ २,४१८ जना सक्रिय सङ्क्रमित रहेका छन् भने प्रदेश नं २ मा १,९३३ जना रहेका छन् । त्यस्तै प्रदेश नं १ मा ९३, वागमतीमा ३९९, गण्डकीमा ३८४, प्रदेश नं ५ मा ४१० र कर्णाली प्रदेशमा २९९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।