लगातार भारी बर्षा हुने सम्भावना बढे पछी सुरक्षित स्थानमा गई ज्यान जोगाउन सरकारद्धारा आह्वान

Loading

peoples news : काठमाडौं । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति मेलम्ची, इन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । यस्तै कपिलवस्तुको बाणगंगा र आसपासको क्षेत्र तथा नवलपारसीका अधिकांश स्थानमा भारी वर्षा भएकाले सो क्षेत्रको अरूण खोला, गिरूवारी खोला तथा अरू स-साना खोलामा एक्कासी बाढी आउने खतरा भएकाले सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । मंगलबारसम्म देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम र कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी , प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम आगामी मंगलबारसम्म कायम रहने विभागले जनाएको छ । मुलुकभर भारी वर्षासँगै , आगामी साउन ८ गतेसम्म ठूला ७ नदीका तटीय क्षेत्र उच्च जोखिममा रहेकाले त्यस क्षेत्र तथा आसपास बस्नेतहरूलाई सतर्क रहन सरकारले अपिल गरेको छ । बिहीबारसम्म मनसुनमा बदली भई भारी वर्षा हुने र यसबाट कन्काई, सप्तकोसी, कमला, वाग्मती, नारायणी, भेरी–बबई र पश्चिम राप्तीमा बाढी आउने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान भनेको हो । प्राधिकरणले नदी किनारा एवम् पहिरोको आसपासमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन भनेको छ । प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जोखिम रहेको स्थानमा मानिसहरुलाई सुरक्षित स्थानमा सर्न समेत आग्रह गर्नुभएको छ । यसवर्ष मनसुन शुरु भएयता ठुलो जनधनको क्षति भइसकेको छ । प्राधिकरणको तथ्यांक अनुसार एक सयभन्दा बढी व्यक्तिको बाढी पहिरोले मृत्यु भइसकेको छ ।राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आइतबारदेखि ५ दिन पाहुना लागेरै भए पनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन सल्लाह दिनुभएको छ ।