असोज ३ गते ०७२, संविधान जारि भएको ४ वर्ष भयो । मधेशको आकाँक्षा विपरित संविधान जारि हुँदा पहाडले दिपावली मनायो भने मधेशका दलहरु राजपा र समाजवादी पार्टीले (तत्कालीन संघीय समाजवादी पार्टी) बडो जोडतोडका साथ संविधान घोषणाको दिनलाई कालो दिनको रुपमा मनायो । असोज ३ गते कालो दिवस मनाउने चलन यही दुई पार्टीले थालेका हुन् ।
घोषणा भएको संविधानको विरोधमा ज्यान फाल्न तयार रहेका राजपा र संघीय समाजवादी फोरमलाई विस्तारै सत्ताले आफ्नो प्रभावमा लिई यी दुबै पार्टी कालो दिवसको स्वामित्व त्यागेर संविधान कार्यान्वयनको दिशामा सरकारलाई सहयोग गर्न पुगे । धनको अगाडि मनले आत्मसमर्पण गरि मधेश समक्ष दुबै पार्टीले आफ्नो असक्षमता, निर्वलता र निकम्मापन जाहेर गरेर जागिर खान सत्तासंग टाँसिए । यस्तो निर्णयलाई “सडक र सदनको रणनीति” को संज्ञा दिएपनि मधेशप्रति गरिएको गद्दारीलाई ढाकछोप गर्ने प्रयास थियो ।
दोश्रो वर्ष यिनले सरकारसंग मिलेर “कालो दिवस” मनाउने चलनलाई बहिष्कार गरे । राज्य सुविधा भोगको महान अवसर प्राप्त भएका कारण मधेशको हक अधिकारका परिभाषा नै बदलि दिए । यिनले थालेको “कालो दिवस” को चलनलाई त्यागे पनि मधेशका युवाहरुले मधेशभरि “कालो दिवस” मनाएर यिनको लुटिएको प्रतिष्ठालाई जोगाई दियो । यो क्रम यसरी नै चल्दै रह्यो । ०७६सालको कालो दिवस मनाउन नैतिक पतनमा परेका राजपा सरकारबाट समर्थन फिर्ता लिएर मैदानमा आउने निर्णय गरेको छ ।
समाजवादी पार्टी संघीय सरकारमा विराजमान रहेकोले राजपासंग “वृद्ध वेश्या तपस्विनी” बन्न चाहेको छैन । उनलाई सरकारबाट पनि थ्रेट रहेको चर्चा छ । समाजवादी पार्टी सदनमा र राजपा सडकमा एउटाले दिपावली र राजपाले “ब्लाक आउट” गर्ने भूमिकामा देखिएका छन् । मधेशका यी बहुरुपिया दलहरुको नाटक यसपाली मनोरंजनात्मक हुनेमा कुनै शंका छैन । सम्भवतः असोज ३ गते आफ्नो प्रतिष्ठा बचाउन अमेरिकाको कुनै कार्यक्रममा भाग लिन उपेन्द्र यादब त्यसतर्फ प्रस्थान गर्ने हल्ला पनि सुनिन्छ ।
म्धेशको राजनीतिमा उदाएका राजपा तथा समाजवादी पार्टी जस्ता छद्मभेषी, बहुरुपिया पार्टीहरुले यसपाली देखाउने प्रहसन धेरै लज्जाजनक छ । एकपल्ट राज्यको नून खाएर मधेशलाई धोका दिनेले राज्यलाई विरोध गरेर मधेशसंग सम्बन्ध गाँस्न पुगेकाहरुलाई मधेशले राम्ररी चिन्नु पर्दछ ।
ईमान्दारी, आदर्श, नैतिकता र चरित्र नभएको राजनीतिको कुनै गन्तव्य हुँदैन । यो बहुरुपिया पेशा जस्तै मनोरंजन दिनुबाहेक अरु केही गर्दैन । मधेशको हक अधिकार दिलाउन क्रान्तिकारी चरित्र हुनु आवश्यक हो जसको सबैले आदर गरोस् । बहुरुपिया चरित्रले मधेशलाई घाटाबाहेक उपलब्धि केही दिन सक्दैन ।
