Peoples News : काठमाडौं कुनै अद्रिष्य पावरले संचालन गरेको जेन—जी प्रदर्शनका क्रममा काठमाडौंमा मात्रै एक हजार बढी सरकारी सवारीसाधनमा आगजनी भयो । सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा ४ सय ४१ वटा चारपांग्रे सवारीसाधन र ६ सय १ भन्दा बढी दुईपांग्रे सवारीसाधन जलेर ध्वस्त भए । प्रहरीका विभिन्न कार्यालय र युनिटमा आक्रमण हुँदा धेरै प्रहरीका सवारीसाधन जले । विभिन्न जिल्ला र प्रदेश कार्यालयमा भएको सवारीसाधन क्षतिको विवरण भने पूरा आइसकेको छैन । राष्ट्रिय योजना आयोगका सूचना अधिकारीका अनुसार देशभरका सरकारी सवारीसाधनमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । योजना आयोगले यसका लागि समिति नै गठन गरेर काम गरिरहेको छ । विभिन्न जिल्लाबाट विवरणहरू आइरहेका आयोगले जनाएको छ । भौतिक क्षतिदेखि सवारी क्षतिलगायतका विवरण संकलन भइरहेका छन। जेन—जी आन्दोलनका क्रममा निजी तथा सरकारी र संस्थानका गरी हजारौंको संख्यामा सवारीसाधन जलेका थिए ।

जेन—जी आन्दोलनपछि नेपाल बिमा प्राधिकरणमा २ हजार २ सय ९० वटा मोटरको बिमा दाबी गरिएको छ । जलेका, तोडफोड भएका सवारीसाधनमध्ये बिमा गरेकाहरूको बिमा दाबी हुन्छ । क्षतिपूर्ति पाइन्छ । तर बिमा नगरिएका सवारीसाधनको हकमा भने व्यक्ति वा संस्था स्वयम्ले नै क्षति व्यहोर्नुपर्ने हुन्छ । जलेका तथा तोडफोड भएका सवारीसाधनका थुप्रिएका छन् । सिंहदरबारभित्रका मन्त्रालय होस् कि अन्यत्रका कार्यालय डढेका सवारीसाधनको थुप्रोले कुरूप देखिएका छन् । नयाँबानेश्वरस्थित संसद् भवन पछाडि डढेका सवारीसाधनको थुप्रो नै छ । सडकमा आगलागी भएका गाडी बोकेका ट्रली गुडिरहेको देखिन्छन् । यी डढेका गाडीहरूको व्यवस्थापन कसरी हुन्छ त ? गृह मन्त्रालयका प्रवक्ताका अनुसार, अहिले सिंहदरबारभित्रका गाडीहरू संसद् भवन पछाडि संकलन गरिएका छन । ती गाडीलाई बेच्नको लागि बोलकबोल गरी ठेक्का लगाइन्छ । एउटै निकायले ठेक्का लगाउने भनेर निर्णय भइसकेको छैन । आगलागी भएका सवारीसाधन हटाउने र कलेक्सन गर्ने काम भइरहेको प्रवक्ताले जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ताका अनुसार, सामान्य तोडफोड गरिएका सवारीसाधन बनाएर चलाउन सकिन्छ । तर जेन—जी आन्दोलनका क्रममा मन्त्रालयमा भएका अधिकांश सवारीसाधन पूर्ण रूपमा जलेका छन् । आगलागीबाट जलेका सवारीसाधन स्क्रयाब तथा कवाड सामानको रूपमा बिक्री हुन्छन् । जसमा सवारीसाधनमा प्रयोग भएका फलाममात्रै पुनप्र्रयोग हुन्छ । कवाड व्यवसायी समाज नेपालका अध्यक्षका अनुसार, स्क्र्याब गरिएका सवारीसाधनको मूल्य प्रतिकिलो ४१ रुपैयाँ तोकिएको छ । कवाड समाजको कात्तिक २७ गते बसेको बैठकले पुरानो फलामको मूल्य प्रतिकिलो ४१ र प्लास्टिक १५ रुपैया तोकेको छ । उनी भन्छन्, ‘जलेका सवारीसाधनको बोलकबोल गर्नको लागि विभिन्न मन्त्रालय तथा कार्यालयबाट फोन आइरहेको छ । ठेक्का लिएर काम गरिसकेको अवस्था छैन । अहिले उक्त सवारीसाधन हटाउने र एकै ठाउँ संकलन गर्ने काममात्रै भएको छ ।
अध्यक्ष गुप्ताका अनुसार यसरी उठाइएको फलामको पुनर्प्रयोगमा हुन्छ । यस्ता सामान कवाड व्यवसायीले किन्ने गर्छन् । उनीहरूबाट विभिन्न स्टिल कम्पनी तथा फलाम कम्पनीहरूमा बिक्री गरेर पुनप्र्रयोग हुन्छ । पुरानो फलाम पेलेर पुनः नयाँ फलामको सामान बनाइन्छ ।
ट्राफिक कारबा हीमा परेका सवारीको क्षतिपूर्ति कसले दिन्छ ? : उपत्यका ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार आन्दोलनका क्रममा महाशाखामा रहेका सबै सवारीसाधन जले । ट्राफिक कार्यालयको ६० वटा दुईपांग्रे, २६ वटा चारपांग्रे सवारी सवारीसाधन पूर्ण रूपमा जले । प्रहरी कर्मचारीको ९३ वटा दुईपांग्रे सवारी र २ वटा चारपांग्रे सवारीसाधन जले । विभिन्न कारबाहीका लागि ट्राफिकमा ल्याइएका ३ सय ४० वटा मोटरसाइकल र स्कुटर पूर्ण रूपमा जले । ५२ वटा हराएका छन् । कारबाहीका लागि आएको १६ वटा चारपांग्रे सवारीसाधन जले । महानगरपालिकाले उठाएका ३५ वटा स्कुटर र मोटरसाइकल पनि पूर्ण रूपमा क्षति भए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रमुखका अनुसार, सामान्यतया कारबाहीको क्रममा ट्राफिक कार्यालयमा ल्याइएका सवारीसाधनको संरक्षण गर्ने जिम्मा पनि कार्यालयकै हो । तर जेन—जी आन्दोलनका क्रममा ट्राफिकको भवनसमेत ध्वस्त भएको अवस्थामा अन्य सवारीसाधन पनि जोगाउन सकिएन । कार्यालय प्रमुख अधिकारी भन्छन्, ‘यहाँ मात्रै नभएर विभिन्न कार्यालयमा भएका व्यक्तिका सवारीसाधन पनि जलेका छन् । हामीले कागजात बनाउने काम गरिरहेका छौं । क्षतिपूर्तिको विषयमा सरकारबाटै केही निर्णय होला । कागजात नै गलत भएका, बेवारिसे सवारीसाधनको क्षतिपूर्तिमा समस्या होला । ट्राफिक कार्यालयले मात्रै हैन, महानगर प्रहरी बलले पनि सडकको सवारीसाधन उठाएर लैजाने गरेको छ । महानगरले कारबाहीको लागि उठाएको ३५ वटा मोटरसाइकल, स्कुटर जलेका छन् । यसको क्षतिपूर्ति कसले दिन्छ त र ? महानगर प्रहरी बलका प्रमुख भन्छन्, ‘अनधिकृत पार्किङ गरिएको र नियमसंगत नभएको सवारीसाधनको हकमा हामी जिम्मेवार छैनौं ।
जेन–जी आन्दोलनपछि हराए ५९१ दुईपांग्रे सवारीसाधन, ११० वटा फेला : जेन–जी आन्दोलनमा हराएका ५१ वटा मोटरसाइकल तथा स्कुटर फेला परेका छन् । उपत्यका ट्राफिक महाशाखाले एक कार्यक्रम गरी फेला परेका ५१ वटा मोटरसाइकल, स्कुटर सवारी धनीलाई बुझाएको छ । जेन–जी आन्दोलनपछि गत असोजमा उपत्यकाका विभिन्न ठाउँबाट हराएका भन्दै २ सय ५५ वटा उजुरी परेका थिए । उपत्यकामा कात्तिकमा ३ सय ३७ वटा दुईपांग्रे सवारीसाधन हराएको उजुरी प¥यो। मंसिरमा ३१ र भदौमा ३ वटा उजुरी परेका छन् । ट्राफिक महाशाखामा हराएको उजुरी दिएका सवारीसाधनमध्ये साउनयता १सय १० वटा सवारीसाधन फेला परिसकेका छन् । उपत्यका ट्राफिक महाशाखा प्रमुखका अनुसार आन्दोलनका क्रममा हराएको भन्दै धेरै उजुरी दर्ता भए । यसपछि पनि सडकबाटै विभिन्न मितिमा सवारीसाधन हराउने प्रवृत्ति बढ्दो छ । हराएकामध्ये बिहीबार बुझाइएकामा ३३ वटा मोटरसाइकल र १८ वटा स्कुटर छन् ।
<
p style=”text-align: justify;”>
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा ती सवारीसाधन फेला परेका थिए । उपत्यकाको विभिन्न स्थानबाट उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो । चोरीका ९ वटा दुईपांग्रे सवारीसाधनसहित चोरीमा संलग्न १९ जनालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिएको छ । आव २०८०र०८१ मा ४१७ ओटा र ०८१र०८२ मा ५०३ वटा दुईपांग्रे सवारीसाधन खोजतलास गरी भेट्टाइएको ट्राफिक महाशाखाका प्रवक्ताले बताए । महाशाखा प्रमुख अधिकारी भन्छन्, ‘उपत्यकामा मोटरसाइकल स्कुटर हराउने क्रम निकै बढ्दो छ । चोरीका सवारी खोज्नका लागि ट्राफिक प्रहरीले अलग्गै टोली बनाएर काम गरिरहेको छ । खोज्ने क्रममा एउटै व्यक्तिले २०० वटाभन्दा बढी मोटरसाइकल चोरी गरेको पनि भेट्टाइएको छ । मकवानपुर मनहरिका संवीरे रुम्वाले २०० भन्दा बढी मोटरसाइकल चोरी गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।