जेन जी आन्दोलन पछि दल खोल्नेको आईरो तर सम्पुर्णमा बिचारको खडेरी

पिपुल्स न्युज : राजनीतिलाई व्यापार सम्झीने प्रावधान नेपालमा २०६२/६३ साल पछि चलेको चलन हो । जनआन्दोलन पछि दल खोल्ने लहर निकै चल्यो । जुन त्यसअघि कहिल्यै देखिएको थिएन । ६४ सालको निर्वाचनमा ८५ दल दर्ता हुँदा त्यसको आधा पनि संविधान सभामा पुग्न सकेनन् । २५ पार्टीको प्रतिनिधित्व भयो । ७० सालको संविधान सभा निर्वाचनका लागि १३३ दल निर्वाचन आयोगमा दर्ता भएका थिए । तर भागचाहिँ १२२ ले मात्रै लिए ।  संविधान सभामा ३१ दल पुगे । तीमध्ये कतिपयको १र१ सिटमात्रै पनि थियो । समानुपातिक मत मात्रैका आधारमा पनि संविधान सभामा प्रतिनिधित्व हुनसक्ने व्यवस्था थियो त्यो बेला । तर अहिले समानुपातिक मत मात्रै ल्याएर पुग्दैन, कम्तीमा १ सिट प्रत्यक्षमा जितेको हुनैपर्छ । पहिला १ सिट जितेर पनि मन्त्री बन्ने होडबाजी नै चल्यो र थुप्रै विकृति जन्मिए । अहिले फेरि जेन जी आन्दोलनको रापतापमा दल खोल्ने लहर चलेको छ । निर्वाचन आयोगमा साउन २७ देखि हालसम्म ३८ वटा नयाँ दल दर्ताका लागि पुगेका छन् । तीमध्ये १० दलले वैधानिकता पाइसकेका छन् ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर यो होडबाजी चलेको स्पष्ट देखिन्छ । २०६४ र २०७० मा खुलेका धेरै दल समयक्रममा लोप भए । जतिले प्रतिनिधित्व गरे, विकृतिमात्रै थोपरेर लोकतन्त्रलाई बदनाम गरे । सत्ताको सौदाबाजीको खेलले जनतालाई वाक्क पार्यो । न सुशासन भयो, न समृद्धि । अहिले फेरि देखिएको दल खोल्ने लहरमा शंका त्यही छ कतै फेरि सत्ताको फोहोरी खेल पनि दोहोरिने त होइन रु किनभने फागुन २१ को निर्वाचनबाट कुनै एक दलले बहुमत ल्याउने सम्भावना देखिन्न । त्यतिमात्रै होइन, थोरैथोरै सिट जित्ने धेरै दल हुने सम्भावना झन् बढी देखिन्छ । ७९ को निर्वाचनले जिताएका दलभन्दा धेरै हुने पक्का नै छ । निर्वाचन प्रणाली नै यस्तो छ कि बहुमतको सम्भावना बडो मुस्किल छ । समानुपातिक समेत मतका आधारमा हुने प्रतिनिधित्वकै कारण बहुमत कठिन भएको छ । 

निर्वाचन लक्ष्य गरी दलहरू खुल्नु आफैमा सकारात्मक कुरा हो । लोकतान्त्रिक विधिमा भाग लिने चाहना धेरै हुनु स्वागतयोग्य नै हो र प्रतिस्पर्धा बढ्नु पनि सुखद हो । लोकतन्त्रलाई त्यसले बलियो नै बनाउँछ । तर राजनीतिक लहरको विषय होइन । यो विचार र सिद्धान्तको यात्रा हो । तर अहिले पुराना दलहरूप्रतिको वितृष्णाको आडमा त्यसको फाइदा उठाउनेमात्रै हेतु राखेको देखिन्छ, जुन लोकतन्त्रका लागि हितकर होइन । सस्तो लोकप्रियतावादीहरूको भीडले लोकतन्त्रलाई झन् कमजोर बनाउँछ । राजनीति भनेको निष्ठा र विचार हो, त्यतापट्टि भन्दा बिकाउ अनुहारको खोजी नयाँ दलहरूले गरेको देखिन्छ, त्यसलाई सुखद मान्न सकिन्न । त्यसो त निष्ठा र विचारको तिलाञ्जली त पुराना दलहरूले दिइसकेका छन् । पुराना दलहरूमाथिको विश्वास उठेको बेला नयाँ र सशक्त अनि विचारशील दलहरू आउँदा लोकतन्त्र बलियो हुन्थ्यो । राजनीतिक संस्कार सुसभ्य हुन्थ्यो । त्यस्ता दल सरकारमा जाँदा सुशासन आउँथ्यो । समृद्धि पनि छाउँथ्यो ।

Leave a Comment