People’s News : अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सरकार विस्तारका लागि गृहकार्य गरिरहेको बताएकी छन् । उनले मन्त्रिपरिषद्मा कस्ता व्यक्ति ल्याउने भनेर गृहकार्य भइरहेको बताएकी हुन् । हाम्रा केही साथीभाइहरू हुनुहुन्छ । हामीसँग सहकार्य गर्नेहरू । हामी उहाँहरूलाई सोधिरहेका छौँ, गृहकार्य गरिरहेका छौँ,” उनले भनिन् । राजनीतिमा गएको (व्यक्ति) रहेछ भने त्यस्तोलाई हटाएर गैरराजनीतिक बरू कुनै संस्थामा काम गरेको अथवा सचिवहरू, जनजाति, दलित, महिला र पिछडिएको वर्ग ल्याउने पक्षमा छौँ ।
अघि नियुक्त भएका मन्त्रीहरूमा पूर्व अर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन व्यवसायी र भ्रष्टाचारविरोधी अभियानमा लागेका ओमप्रकाश अर्याल छन् । मन्त्रिमण्डलका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले हरेक राजनीतिक दलबाट एक एकजना राखेर बृहत् चुनावी मन्त्रिमण्डल बनाउन सुझाव दिएको भए पनि आफूले त्यो अस्वीकार गरेको प्रधानमन्त्री कार्कीले बताइन् ।
दलका मानिस किन अस्वीकार ? : मन्त्रिमण्डलमा दलका मानिस भए निर्वाचनमा उनीहरूले ‘भजाउने’ काम गर्ने र हेलिकोप्टरजस्ता सुविधाको कुरा हुने भन्दै त्यसलाई आफूले अस्वीकार गरेको उनले बताइन् । फेरि मैले निर्वाचनमा नजाने मानिसलाई खोजेको हो । निर्वाचनमा जाने हो भने त निर्वाचनमा गइहाल्छन् अनि काम के हुनु ? उनले भनिन् । चुनावपछि आउने सरकारमा जुन दलले नेतृत्व गरेको उही वा सरकारमा सहभागी दलका व्यक्तिहरू मन्त्रीमा आउँछन् । तर अहिलेको फरक परिवेशमा बनेको मन्त्रिमण्डलमा व्यक्तिहरूको चयन कसरी भइरहेको छ भन्ने चासोको विषय बनेको छ । उनले विभिन्न विषयका विज्ञबारे छलफल भइरहेको र अबको १/२ दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताइन् । अहिले छलफलमा रहेका मानिसहरूको पृष्ठभूमिबारे बोल्दै उनले भनिन्, “कोही पीएचडी गरेका दलित समुदायका पनि हुनुहुन्छ । कोही सचिव पनि हुनुहुन्छ । कोही जनजातिमा अति ख्यातिप्राप्त पाइलटकै पनि कुरा आएको छ ।
त्यसरी छलफलमा आएका व्यक्तिले इच्छा देखाएर खुसीसाथ मद्दत गर्न आए आफ्नो मन्त्रिमण्डलमा समेट्ने उनले बताइन् । उनले आफूले चुनावका सबै कुरा कानुन र नियम अनुसार होस् र त्यसरी गरिएको चुनावबाट राम्रो सरकार र संसद् बनोस् भन्ने चाहेको बताइन् । यसरी बन्ने मन्त्रिपरिषद्को आकार १० देखि ११ सदस्यीय हुने उनले बताएकी छन् ।