कांग्रेसद्वारा देउवा-ओली सहमति राजीनामा दिन प्रचण्डलाई आह्वान

Loading

Peoples News : नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सत्ता गठबन्धन गर्ने सहमतिलाई बुधवार अनुमोदन गरेको छ । सोमवार मध्यराति दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र संविधानको सुधारका प्रक्रिया अघि बढाउने प्रयास अघि बढाउने सहमति भएको थियो । प्रतिनिधिसभा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो भने नेकपा एमाले दोस्रो ठूलो दल हो । बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरुको चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने बताए । उनले दोस्रो चरणमा निर्वाचन अघिको सरकार शेरबहादुर देउवाको नेतृत्वमा बन्ने जानकारी दिए । उनले भने, “सबैभन्दा ठूला दुई दलले सँगै सरकार बनाउने भनिसकेपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ । त्यो उपयुक्त हुन्छ । अरू दलको समेत समर्थन घोषणा भइरहेको छ, नयाँ समीकरणलाई । हामीले उहाँलाई मार्ग प्रशस्त गर्न पनि अनुरोध गरेका छौँ ।

कांग्रेस एमाले सहमति कहिले सार्वजनिक हुन्छ ? : कांग्रेसका उपसभापति धनराज गुरुङले बैठकले दुई दलहरूबीचमा भएको सहमति अनुमोदन गरेको बताए । हामीले त्यो सहमतिलाई स्वागत गर्दै त्यसलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गरेका छौँ । विकास निर्माण, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रणजस्ता मुद्दाहरूमा राष्ट्रिय सरकार बनाउने भनेर जुन भनिएको थियो त्यसलाई अलिकति व्याख्या गरेका छौँ,” उनले भने । संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक पर्ने भएकाले अरू दलहरूसँग पनि कुरा हुने भन्दै उनले अहिले नै विस्तृतमा छलफल नभइसकेको खुलाए । कांग्रेस र एमालेबीच भएको भनिएको सहमति हालसम्म सार्वजनिक भइसकेको छैन । उपसभापति गुरुङले ‘भरेभोलिसम्म’ उक्त सहमतिलाई दुई दलले सार्वजनिक गर्ने भन्दै त्यसपछि सहमतिका आधारहरू सबैलाई स्पष्ट हुने जनाए । एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डासहितका विषयमा पनि मोटामोटी सहमति भएको वरण आएको भए पनि उपसभापति गुरुङले उक्त विषय टुङ्गोमा पुगिनसकेको बताए । 

कांग्रेस-‍एमाले गठबन्धनलाई ककसको समर्थन ? : यसअघि नेकपा एमालेको सचिवालय बैठकले बुधवार संसद्‌का दुई प्रमुख दलबीच सहमतिको सरकार निर्माण गर्ने समझदारी भएको भन्दै नयाँ सरकार गठनका लागि बाटो खोलिदिन गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको थियो । उक्त बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिलाई समर्थन गर्ने भन्दै राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दलहरूलाई पनि आह्वान गर्ने निर्णय लिएको थियो । प्रधानमन्त्री प्रचण्डले आफूले तत्कालै राजिनामा नदिने बरू संसद्‌मा विश्वासको मत लिने माओवादी केन्द्रका नेताहरूले बताएका छन् । 

यसबारे सोधिएको प्रश्नमा एमालेका नेता प्रदीप ज्ञवालीले भने, “सदनका दुई प्रमुख दल एउटा निष्कर्षमा पुगेपछि (प्रधानमन्त्रीले) मार्ग प्रशस्त गर्नु र सहयोग गर्नु वाञ्छनीय हुन्छ । त्यसो भएन भने के गर्ने भनेर हामीले फेरि अर्को निर्णय गर्छौँ । एमालेले प्रधानमन्त्रीले उत्तर नदिएको खण्डमा आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका विवरणहरू आएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस-एमाले सत्ता गठबन्धनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । जसपाको संसद्‌मा सात सीट छ भने लोसपा नेपालको चार सीट छ ।प्रतिनिधिसभाको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन गर्नेसहित दुई ठूला दलबीच भएको सहमतिको स्वागत गरेको छ । उक्त दलका चार सांसद छन् । राप्रपालाई पनि आफ्नो गठबन्धनमा ल्याउन कांग्रेस र एमालेले प्रयास गर्ने विवरण आएका छन् । माओवादी केन्द्र र रास्वपाका नेताहरूले कांग्रेस र एमालेले बनाउने सरकारमा आफूहरू सहभागी नहुने घोषणा गरेका छन् ।

Leave a Comment