धार्मिक भेलामा भएको भागदौडमा मृत्यु हुने मानिसको सङ्ख्या १२१

Loading

Peoples News : भारतको उत्तर प्रदेशमा मङ्गलवार एउटा धार्मिक भेलामा भएको भागदौडमा मृत्यु हुने मानिसको सङ्ख्या १२१ पुगेको अधिकारीहरूले बताएका छन् । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित एउटा सत्सङ्ग कार्यक्रममा उक्त घटना भएको थियो। त्यसलाई भारतलाई एक दशकको अवधिमा भएको सबैभन्दा घातक भागदौड मानिएको छ । समाचारसंस्था रोएटर्सका अनुसार उक्त कार्यक्रममा दुई लाख ५०,००० भन्दा बढी मानिस सहभागी भएको प्रहरीले जनाएको छ । यद्यपि ८०,००० जनालाई मात्र सहभागी गराउन पाइने अनुमति आयोजकहरूसँग थियो । मृतकमध्ये अधिकांश महिला छन् । रोएटर्सले मृतकमध्ये सात बालबालिका र एक पुरुष पनि भएको जनाएको छ ।
प्रहरीले उक्त कार्यक्रमका आयोजकबारे छानबिन थालेको छ । प्रहरीले उक्त कार्यक्रममा प्रवचन गर्न गएका भोलेबाबा उपनामले पनि चिनिने नारायण साकार विश्वहरिसँग पनि सोधपुछ गर्न लागेको बताइएको छ । 

कसरी भयो घटना : केही अधिकारीहरूले उक्त कार्यक्रममा सहभागी भएका मानिसहरूले प्रवचनकर्ताको पाउको धुलो लिन खोज्दा भागदौड भएको जनाएका छन्। तर केहीले भने हुरीले धुलो फैलाउँदा कोलाहल मच्चिएको र भागदौड भएको बताएको रोएटर्सले जनाएको छ । भिडमा च्यापिँदा केही मानिस बेहोस भएर ढलेपछि उनीहरूलाई अरू मानिसले कुल्चिन पुगेका थिए । उत्तर प्रदेशको विपद् व्यवस्थापन केन्द्रले सोमवार मृतकहरूको सूची सार्वजनिक गरेको छ। त्यसमा १२१ जनाको मृत्यु भएको जनाइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार मानिसहरू भिरालो ठाउँमा लडेपछि पानी भएको खाडलमा खसेका थिए । सबै मानिस, पूरै भिड, महिला र बालबालिका पनि एकैचोटि निस्किए, मङ्गलवार उक्त स्थानमा परिचालित प्रहरी अधिकारी शीला मौर्यले भनिन् । त्यहाँ पर्याप्त ठाउँ थिएन अनि एकमाथि अर्को गर्दै मानिसहरू लड्न थाले, उनले भनिन् । यसअघि सत्सङ्गका लागि तयार गरिएको पालभित्र अत्यन्तै गर्मी भएका कारण उक्त घटना भएको हुन सक्ने विवरण सार्वजनिक भएको थियो । हाथरस जिल्लाको मुगलगढी गाउँमा उक्त कार्यक्रम भएको थियो । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई “दुःखद” भन्दै मृतकका परिवारलाई आर्थिक राहत दिने घोषणा गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले पनि शोक व्यक्त गरेकी छन् । धार्मिक भेलामा बारम्बार दुर्घटना केही घाइतेहरूको नजिकैको अस्पतालमा उपचार हुँदै छ । घाइतेमध्ये केही बालबालिका पनि रहेको जनाइएको छ ।
“पोस्टमोर्टमको प्रक्रिया चलिरहेको छ र घटनाबारे छानबिन भइरहेको छ,” छिमेकी एटा जिल्लाका एक अधिकारीले मङ्गलवार साँझ भनेका थिए ।
कार्यक्रममा सहभागी हुन गएका आफन्तहरू सम्पर्कविहीन भएपछि मानिसहरू अझै पनि अस्पतालमा खोजिरहेका छन् । साँघुरो ठाउँमा ठूलो भिड जम्मा हुने गरेकाले भारतका धार्मिक कार्यक्रमहरूमा बारम्बार घातक दुर्घटना भएको पाइन्छ । सन् २०१८ मा अमृतसरमा दशहरा पर्व मनाउन जम्मा भएको भिडमा एउटा रेल गएर ठोकिँदा ६० जना मानिसहरूको मृत्यु भएको थियो । सन् २०१३ मा मध्य प्रदेशमा एक हिन्दू चाड मनाउन भेला भएका मानिसहरूबीच भागदौड हुँदा ११५ जनाको ज्यान गएको थियो । सन् २००८ मा जोधपुरमा एउटा मन्दिरमा भएको भागदौडमा २२४ तीर्थयात्रीको ज्यान गएको थियो । 

Leave a Comment