डाक्टर कवियत्री मुस्कान पोख्रेल: प्रतिस्पर्धा हो एक्लो फिमेल लड्दै छु,सबैको साथ छ।

Loading


 

पोइट आइडल सिजन २ को विजेताका लागि संघर्ष गर्दै छिन् डा. कवियत्री मुस्कान पोखरेल । फाइनल राउण्डमा अन्य तीनजना प्रतिस्पर्धी सँग प्रतिस्पर्धा गर्दै उनले एउटा बाइक राइडर को दैनिक जीवन कथा लाई कवितामा उनेकि छन्। कविताको पात्र छन् मंगलमान।

 

            मङ्गलमान

           – मुस्कान पाेखरेल

प्रत्येक दिन
यही बाटोमा क्यारम बोर्डको स्ट्राइकर जसरी
मङ्गलमान, ७२ वर्षिय राइडर,
घरि यता घरि उता गरिरहनुहुन्छ
तर सायद
आफू भने कतै पुग्नुभएको छैन ।

आफ्नो सेतै फुलेको केसमा
कालो रङ्ग हाल्नुभएको छ उहाँले
सायद उहाँ उमेरसँग पनि सङ्घर्ष गरिरहनुभएको छ ।

दिनभरिको यो ओहोर दोहोरमा
उहाँ पुर्‍याउनु हुन्छ:
प्रेमीलाई प्रेमिका सम्म
बिरामीलाई अस्पतालसम्म
बेरोजगारलाई जब इन्टरभ्युसम्म
श्रद्धालुलाई मन्दिरसम्म
कुन्नि कोलाई कुन्नी कहाँसम्म
आफूलाई भने बिहान बेलुकीको एक गाँस सम्म ।

‘बुवा यो उमेरमा पनि राइडर’
‘जागिर पछि काम नगर्दा जिउ दुखेर नि नानी ।
काम गर्दा दुई चार पैसा कसैलाई गुहार्नु पनि नपर्ने,
शरीर पनि नदुख्ने, राति झ्याप्प निन्द्रा पनि पर्ने’

त्यही बाइकमा बसेर म हेर्छु–
चिया पसलमा गफ लाउँदैछन् केही युवाहरू
जसको अनुहारमा फ्रस्ट्रेसनले निधार खुम्चिएको प्रष्ट छ।
कस्तो विरोधाभास–
देशमा केही छैन भन्दै विदेशिएकालाई
एयरपोर्ट पनि छोड्नु भएकै छ मङ्गलमानले।
तर आफू भने थाक्नु भएको छैन।

‘बाजे! अनि छोरा बुहारी?’
‘उनीहरू त खाउ बस भन्छन् ।
मलाई त काम गर्नु नै आनन्द लाग्छ।’

मङ्गलमान स्वाभिमानको प्रतिमूर्ति हुनुहुन्छ।
सन्तुष्टि सायद स्वाभिमानमा छ।
हुरीझरी नबने बाइक चलाउने उहाँ
यात्रा गर्दागर्दै के कहिले थाक्नु हुँदैन?
उहाँ हेल्मेट किन लाउनुहुन्छ?
ट्राफिक नियम मान्न
वा लुकाउन आफ्नो थकानहरू?
बाइकको एक्सिलरेटरमै टाँसिएका छन्
मङ्गलमानका हातका कर्म रेखाहरू पनि।

‘अर्को बाटो लान्छु है नानी
यहाँ भिआइपीको सवारी हुनसक्छ आज’

हठात कुनै दिन
भिआइपी हरूको सवारी रुटमा पर्यो भने,
पेट्रोलको भाउ आकाशियो भने,
मङ्गलमानको जीविकामा ब्रेक लाग्न सक्छ ।

मङ्गलमानको बाइकले
यो सहरमा समयलाई हिँडाइरहन्छ ।
मङ्गलमानको सङ्घर्षले
बोकेको छ जिम्मेवारी
समयलाई समयमै गन्तव्य पुर्‍याउने ।

तर,
हतारैहतारको यो सहरमा
दौडादौडीको यो सहरमा
अस्तव्यस्तताको यो सहरमा
कहिल्यै सोचेको छौँ
– यो सहर जस्तै हतार यदि मङ्गलमानलाई भयो भने,
– अलिकति ओभरटाइममा आँखा झुपुझुपु भयो भने,
यो सहर बीच सडकमा लड्नेछ
किनकि
सहरलाई बोकिरहेको छ
७२ वर्षीय ढाडले
आफ्नो बाइकको ब्याकसीटमा ।

हो, यही कविता मार्फत उनले यस पटक को पोइट आइडल सिजन २ को ताज पहिरिदैं छिन् १२ जेठ २०८१ मा। अन्तिम चरणमा अहिले चार प्रतिस्पर्धी छन्  । अब पोख्रेलको जित भने भोटमार्फत हुनेछ । विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी उचाल्ने छन् । पूरापुरी तीन महिनामा ३० शृङ्खला सम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार बिजेता घोषणा हुँदै छन् । अहिले पोख्रेलसँगै अन्य तीन प्रतिस्पर्धीहरुमा विजय लुइँटेल (इलाम), सिमियोङ सुकिता राई (सिक्किम) र मोहित जोशी (कैलाली) रहेका छन् ।

मुस्कानले जिन्दगीको धेरै लामो यात्रा त तय गरेकी छैनन्। भर्खर २ दशक उमेर पार गरेकी मुस्कान ७ वर्ष बंगलादेश बसिन् र मेडिकल डक्टर बनेर नेपाल फर्किइन्। देशमै पनि कति साथीलाई आफ्नो आमाको नाम थाहै थिएन। छोराछोरीको पहिचानमा बुवाको परिचय गाँसिएर आउने तर आमाको नाम रोज्नु पर्ने अवस्थाले मुस्कानको मन दुखाइरहेको हुन्थ्यो। मुस्कान भने आफ्नी आमाको नामबाट चिनिन चाहन्थिन्।‘मलाई मेरो ममी इन्दिरा पोखरेलको नामले चिनिन मन थियो। म थोरै भए पनि ममीले गर्व गर्नलायक छोरी भएँ होला,’ उनले भनिन।

आमा इन्दिरा पोख्रेलका साथ कवि डाक्टर मुस्कान

सिजनको अन्तिम शृंखला सुटिङ हुँदै गर्दा मुस्कानको मन देश छोडेर बंगलादेश जाँदाजस्तै भारी भएको थियो। मुस्कान आफू सन्तुष्ट छिन्, जहाँ पुगेकी छिन्। उनकी आमा झन् खुसी छिन्।

 

 

Leave a Comment