के नेपालमा पनि इन्धनका रूपमा हाइड्रोजन खाना पकाउने ग्यासको विकल्प बन्ला ?

Loading

People’s news : हाइड्रोजन बालेर खाना पकाउने एउटा परीक्षण सफल भएसँगै नेपालमा ऊर्जाको नयाँ स्रोतका रूपमा त्यसलाई प्रयोग गर्न सकिने आशा जागेको त्यस्तो परीक्षणमा सहभागीहरूले बताएका छन् । नेपाली र युरोपेली प्राविधिकहरूको एउटा समूहले करिब दुई वर्षदेखि गरिरहेको परीक्षण हालै सफल भएको बताइएको छ । काठमाण्डौ विश्वविद्यालयको ‘ग्रीन हाइड्रोजन ल्याब’मा यसै साता नयाँ प्रकारले डिजाइन गरिएको चुल्होमा वैज्ञानिकहरूले हाइड्रोजनलाई इन्धनका रूपमा प्रयोग गरेर चाउचाउ पकाउन सफल भएको उक्त प्रयोगशाला प्रमुखले बताए । यद्यपि त्यो परीक्षण प्रारम्भिक चरणमै रहेको र त्यसलाई व्यावसायिक रूपमा अघि बढाउन कैयौँ नीतिगत र प्राविधिक काम गर्न बाँकी नै रहेको परीक्षणमा संलग्न व्यक्तिहरूले बताएका छन् ।
यो कस्तो परीक्षण हो ? : काठमाण्डौ विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबले ब्रिटिश तथा स्वीस सहयोगमा बिजुलीको प्रयोग गरी पानीबाट हाइड्रोजन निकालेर त्यसलाई भण्डारण तथा प्रयोग गर्ने परीक्षण गरेको हो । हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको हुन्छ र त्यसैलाई बिजुली प्रयोग गरेर टुक्र्याउँदै हाइड्रोजन निकाल्ने विधिको हामीले परीक्षण गरिरहेका छौँ,  उक्त ल्याबका प्रमुख एवं काठमाण्डौ विश्वविद्यालयका सहप्राध्यापक डा. विराजसिंह थापाले भने । उनका भनाइमा नेपालमा यस्तो परीक्षण पहिलो भए पनि अन्यत्र प्रयोग हुन थालिसकेको विधि हो । पानीबाट विद्युत्‌को माध्यमले टुक्र्याएर बनाइएको हाइड्रोजनलाई एउटा विशेष खाले चुलोमा बालेर गत आइतवार त्यसमा चाउचाउ पकाइएको उनले बताए । प्राविधिक रूपमा हामीले बिजुली प्रयोग गरेर हाइड्रोजन निकाल्न सक्छौँ र त्यसलाई भण्डारण गरेर इन्धनका रूपमा प्रयोग गर्न सक्छौँ भन्ने यसले पुष्टि गर्‍यो । त्यो नेपालमा पनि सम्भव छ भन्ने देखायो,” उनले भने ।
हाइड्रोजन ऊर्जाबाट के फाइदा हुन्छ ? : विज्ञहरूका भनाइमा विद्युत् प्रयोग गरेर पानीलाई टुक्र्याइ निकालिएको हाइड्रोजनलाई ग्रीन हाइड्रोजन भन्ने गरिन्छ किनकि यस्तो विधिमा कार्बन उत्सर्जन हुँदैन । तर अहिले विश्वका विभिन्न स्थानमा हाइड्रोजनको उत्पादन पेट्रोलियम पदार्थको प्रयोग गरेर गर्ने गरिन्छ र त्यस क्रममा कार्बन उत्सर्जन हुने गर्छ । थापा भन्छन्, कार्बन उत्सर्जन नहुने भएकाले यसलाई हामीले ग्रीन हाइड्रोजन भनेका हौँ । नेपालमा बर्खा याममा उत्पादित विद्युत् खेर गइरहेको छ भने केही वर्षमै हिउँदमा पनि खेर जाने अवस्था आउनसक्ने विद्युत् प्राधिकरणको भनाइ छ । हामीले त्यो खेर जाने बिजुलीलाई प्रयोग गरेर स्टोर गर्न सकिने हाइड्रोजन उत्पादन गर्न सक्छौँ। त्यसलाई पछि बिजुली उत्पादन गर्न पनि प्रयोग गर्न सकिन्छ । उनका भनाइमा बिजुलीबाट हाइड्रोजन निकाल्ने र हाइड्रोजनबाट बिजुली निकाल्ने प्रविधि बनिसकेका छन् । नेपालजस्तो जलस्रोतको प्रचुर सम्भावना भएको देशमा त्यस्ता प्रविधि प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर परीक्षण गरेका हौँ । प्राविधिक रूपमा सकिन्छ भन्ने देखियो,” उनी भन्छन् ।

हाइड्रोजनको प्रयोग केमा गर्न सकिन्छ ? : थापाका भनाइमा हाइड्रोजनलाई विशेषगरी लामो दूरीमा चल्ने तथा भारी खालका सवारीसाधनमा इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ । उनी भन्छन्, “छोटो दूरीका साना सवारी साधनलाई ब्याट्रीबाट चलाउन सकिन्छ तर ट्रक वा टिपरजस्ता लामो दूरीमा चल्ने र भारी सवारीसाधनका लागि डिजलको साटोमा हाइड्रोजन प्रयोग गरेर चलाउन सकिन्छ । नेपालमा डिजलको खपत धेरै हुने गरेकाले यसलाई इन्धनको रूपमा उपयोग गर्न सके त्यसले डिजलको खपत घटाउने र प्रदूषण कम गर्नुका साथै डिजल आयात गर्दा विदेशिने मुद्रा जोगिने उनको भनाइ छ । त्यस्तै एलपीजी ग्यासको सट्टामा इन्धनका रूपमा पनि यसलाई प्रयोग गर्न सकिने उनको दाबी छ । यद्यपि त्यसका लागि सरकार र निजी क्षेत्रले गर्नुपर्ने थुप्रै काम बाँकी रहेको उनको भनाइ छ ।

बाधा के छन् ? : थापाका भनाइमा नेपालमा हाइड्रोजनलाई इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ र त्यो क्षमता विकास गर्न सकिन्छ भन्ने अहिलेको परीक्षणले देखाएको छ । तर यो प्राविधिक पाटो मात्र हो । यसको नीतिगत र व्यावसायिक पक्षमा काम भएकै छैन,” उनी भन्छन् । उनी नेपाल सरकारले हाइड्रोजन उत्पादन, वितरण, व्यवस्थापन र नियमन कसरी हुन्छ भन्ने हालसम्म नीति नै नबनाएकाले अन्योल कायम रहेको बताउँछन् । उनी छिमेकी मुलुकहरू भारत र भुटानले हाइड्रोजनसम्बन्धी नीतिहरू बनाएको उदाहरण दिन्छन् । भारत सरकारको आधिकारिक वेबसाइट अनुसार सन् २०२२ ज्यानुअरी ४ मा त्यहाँको मन्त्रिपरिषद्‌ले ‘न्याशनल ग्रीन हाइड्रोजन मिशन’ स्वीकृत गरेको थियो । उक्त मिशन अनुसार भारतले सन् २०३० सम्ममा प्रतिवर्ष ५० लाख मेट्रिक टन ग्रीन हाइड्रोजन उत्पादनको लक्ष्य राखेको छ । त्यस बेलासम्म ८ लाख करोड भारु लगानी गर्ने र ६ लाख रोजगारी सिर्जना गर्ने उसको लक्ष्य छ । नेपालले पनि यस्तै नीति ल्याउनुपर्ने र त्यस अनुसार काम अघि बढाउनुपर्ने थापा बताउँछन् ।

मल बनाउन प्रयोग गर्न सकिन्छ : थापाका भनाइमा हाइड्रोजनलाई रासायनिक मल बनाउन पनि प्रयोग गर्न सकिन्छ । कतिपय देशहरूले त्यस्तो प्रयोग गर्ने गरेको उनी औँल्याउँछन् । नेपालमा पनि रासायनिक मल कारखाना खोल्नेबारे लामो समयदेखि चर्चा हुँदै आएको छ । यद्यपि हाइड्रोजनको प्रयोगबाट रासायनिक मल बनाउनेबारे हालसम्म अध्ययन नभएको जानकारहरू बताउँछन् । रासायनिक मल कारखानाको स्थापनाबारे गरिएको एउटा सम्भाव्यता अध्ययनको मूल्याङ्कन गर्न केही वर्षअघि सरकारले बनाएको एउटा समितिको नेतृत्व गरेका डा. दिलबहादुर गुरुङका अनुसार त्यसबेला पनि हाइड्रोजनको प्रयोगबारे अध्ययन गरिएको थिएन । उनले भने, “त्यसबारे चर्चा भएको भए पनि हामीले विस्तृतमा हाइड्रोजन प्रयोग गरेर मल कारखाना स्थापनाबारे अध्ययन गरेनौँ । कतिपय देशहरूले त्यसरी पनि उत्पादन गरिरहेका रहेछन् भन्ने चाहिँ थाहा पाएका थियौँ ।

सरकार के गर्दैछ ? : नेपालमा बिजुली प्रयोग गरेर पानीमा भएको हाइड्रोजन टुक्र्याएर त्यसबाट ग्यासका रूपमा हाइड्रोजन उत्पादन गर्ने अनि ऊर्जा एवम् मल बनाउनका लागि समेत प्रयोग गर्नेबारे सरकारी स्तरमा पनि अध्ययनहरू भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमेरेका अनुसार मन्त्रालयले गरेका त्यस्ता दुईवटा अध्ययनहरूले नेपालमा बिजुली प्रयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने सम्भावना रहेको देखाएका छन् । सरकारले हाइड्रोजनलाई ऊर्जाकै रूपमा खपत गर्ने र रासायनिक मल उत्पादनमा प्रयोग गर्दै दुवै कुरालाई प्राथमिकतामा राखेको छ, यो सरकारी प्राथमिकतामा परिसकेको विषय हो,” उनले भने । ऊर्जा मन्त्रालयले गरेका अध्ययनहरूले एक लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्नका लागि एक सय मेगावाट विद्युत्‌ आवश्यक पर्ने देखाएको उनले बताए । नेपालमा हाल वर्षमा ७ देखि ८ लाख मेट्रिक टन रासायनिक मल आवश्यक रहेको र सरकारले आयात गरेर कृषकलाई अनुदानमा उपलब्ध गराउँदै आएको उनी बताउँछन् । यदि हामीले त्यो रासायनिक मल आयात र अनुदानमा प्रयोग गरेको रकमलाई ग्रीन हाइड्रोजन उत्पादनका लागि लगायौँ भने त्यसले दीर्घकालीन रूपमा पनि फाइदा पुग्छ भन्ने हिसाबले हामीले सोचिरहेका छौँ,” घिमिरेले भने ।

नीति तयार, पारित हुन बाँकी : घिमिरेले दिएको जानकारी अनुसार ऊर्जा मन्त्रालयले ग्रीन हाइड्रोजनसम्बन्धी एउटा नीतिको मस्यौदा तयार पारिसकेको छ । उनले भने, “हामीले ग्रीन हाइड्रोजनसम्बन्धी नीतिको मस्यौदा तयार पारेर अर्थलगायत सम्बन्धित मन्त्रालयहरूको राय पनि लिइसकेका छौँ । त्यो मस्यौदा मन्त्रिपरिषद्‌मा पुगिसकेको छ र सम्भवत: अब चाँडै त्यो पारित हुन्छ । ग्रीन हाइड्रोजनसम्बन्धी नीति बनेपछि त्यसले पहिलेका अध्ययनहरूलाई आधार मान्दै हाइड्रोजन उत्पादन तथा वितरण एवं नियमनका काम अघि बढाउन सहज हुने उनको भनाइ छ । …..

Leave a Comment