![]()
पिपुल्स न्युज : नाफामा मात्रै केन्द्रित भएर अन्धाधुन्द ऋण लगानी गर्ने प्रवृत्तिका कारणा सहकारी संस्थाहरु अप्ठेरोमा परेका छन् । चालु आर्थिक वर्षको खाताबन्दी नजिकिएको बेला भनेजस्तो ऋण असुली नभएपछि संस्थाहरु अप्ठेराेमा परेका हुन् ।
एकातिर अन्धाधुन्द ऋण लगानी र अर्कोतर्फ वित्तीय बजारमा आएको आर्थिक मन्दीले सहकारी संस्थाहरुलाई थप समस्यामा पारेको छ । असार महिना लागेसँगै संस्थाहरुले साँवाब्याज असुलीलाई प्राथमिकता दिएपनि भनेजस्तो असुली गर्न नसकेको सहकारी सञ्चालकहरु बताउँछन् ।
बजारमा तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न नसकेको मौका छोपेर सहकारी संस्थाहरुले पनि आक्रामक रुपमा ऋण लगानी गरे । विगतका वर्षमा कोभिड १९ का कारणले ऋण लगानी गर्न नसकेका कारण संस्थाहरुमा पूँजी थुप्रिँदा त्यसको प्रभाव नाफामा परेपछि यस आ.व. मा लगानी को लागि माग भएसँगै संस्थाहरुले भरमग्दुर ऋण लगानी गरे । तर तरलता अभावसँगै बजारमा मन्दी छाएपछि अहिले कतिपय संस्थाहरु बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् भने धेरै संस्थाहरुको तरलता अनुपात पल्र्सले तोकेभन्दा कम हुन पुगेको छ ।
एकातर्फ बैंक तथा वित्तीय संस्थाहरुको तुलनामा सहकारीले सहजै रुपमा ऋण दिने, धितोको पर्याप्त सोधखोज नगर्ने, उद्देश्य अनुसार ऋण उपयोग भएनभएको लेखाजोखा नगर्ने, क्रेडिट पोर्टफोलियोमा ध्यान नदिने, सोर्सफोर्स र चिनजानकै भरमा ऋण लगानी गर्दा पनि संस्थाहरु समस्यामा परेका छन् ।
अर्कोतर्फ बजारमा अनगिन्ती सहकारी संस्था हुँदा अस्वस्थ प्रतिस्पर्धाको फाइदा कतिपय सदस्यहरुले लिइराखेका छन् । एकै व्यक्तिले धेरै संस्थाबाट ऋण लिने र लिएको ऋणको साँवाब्याज तिर्न आनाकानी गर्ने तथा बारम्बार ताकेता गर्दा पनि वेवास्ता गर्नेजस्ता प्रवृत्ति सदस्यमा छ । कतिपय सदस्यमा सहकारीबाट लिएको ऋण तिर्नलाई होइन भन्ने मनस्थिति स्थापित भएको पाइन्छ ।
यी र यस्ता कारणले गर्दा संस्थाहरुमा दिनप्रतिदिन खराब कर्जाको मात्रा बढ्दै गएको छ भने कतिपय संस्था तालाबन्दी गरेर फरार भएका छन् । सहकारी संस्थाहरुले गरेको ऋण लगानीको लेखाजोखा गर्ने अहिलेसम्म कुनै निकाय छैन । सहकारी आफैंमा स्वायत्त निकाय भएकाले सञ्चालक समिति, ऋण उपसमिति, लेखा समितिले नै त्यसको मुल्यांकन र व्यवस्थापन गर्दै आएका छन् । अर्कोतर्फ राज्यले पनि ऋण लगानी र असुलीलाई प्रभावकारी बनाउन कुनै मेकानिज्म खडा गर्न सकेको छैन । सहकारी ऐन २०७४ मा कालोसूची, कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण जस्था ऋण व्यवस्थापनका टुल्सहरुका बारेमा उल्लेख भएपनि हालसम्म कार्यान्वयन तर्फ अग्रसर देखिएको छैन । सहकारी विभागले ऐनमा भएका ती व्यवस्थालाई लागु गर्नुपर्ने दायित्व भएपनि विभागले पनि त्यसतर्फ खासै चासो दिनसकिरहेको देखिँदैन । यी व्यवस्था लागु नहुँदा त्यसको लाभ गलत मनसाय बोकेका सदस्यहरुले उठाइरहेका छन् । अभियानले ऐनमा भएका व्यवस्था लागु गर्नका लागि बारम्बार आवाज उठाएपनि कतैबाट सुनुवाई भएको देखिँदैन ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईं संस्थाहरुले नाफाका लागि जथाभावी ऋण लगानी गर्दा ऋण असुलीमा समस्या भएको स्वीकार्छन् । ऋण लगानी गर्दा सावधानी अपनाउनुपर्ने ५ सी अर्थात ऋणी स्वयं, उसको चरित्र, ऋण तिर्न सक्ने क्षमता, धितो र शर्तहरुको पालनामा ध्यान नदिए पैसा भएपछि जतासुकै लगानी गर्ने परिपाटीले गर्दा असुलीमा समस्या आएका उनको दावी छ ।
जथाभावी गरिने लगानीलाई पूर्णरुपमा बन्द गर्नुपर्ने उत्पादन, पशुपालन, कृषि, व्यापारव्यवसाय र आयआर्जनका क्षेत्रमा पोर्टफोलियो मिलाएर ऋण लगानी गरे असुलीमा समस्या न्यून हुने उनको तर्क छ । ‘घरजग्गा धितो राखेर जग्गा व्यापारीलाई ऋण लगानी गर्दा अहिलेको समस्या आएको हो,’ उनले थपे, ‘यस्तो लगानीले लक्षित वर्गसम्म पुग्दैन र सहकारीमार्फत लिइएको समृद्धिको लक्ष्य समेत पूरा हुँदैन ।’
भोलिको भविष्य हेर्ने भन्दा पनि आज जे छ त्यसमै रमाउने प्रवृत्ति सहकारीमा मौलाएको छ । उनी भन्छन् ‘सदस्यले कुन उद्देश्यका लागि ऋण लिएको छ र कति समयमा तिर्छ भन्ने लेखाजोखा छैन । कुन प्रयोजनका लागि ऋण लियो र प्रयोजन अनुसार परिचालन ग¥यो कि गरेन त्यसको पनि लेखाजोखा गरिँदैन । नाफाका लागि झ्याम्झ्याम् ऋण दिने बानी नसुधारेसम्म समस्या यथावत् रहिरहन्छ ।’
सहकारीको ऋण नउठेकाले यो असारमसान्तले धेरैलाई पाठ सिकाएको हुनसक्ने उनले बताए । धितो राखेर ऋण लिएकाले सम्पत्तिको मायाँले ब्याज भएपनि तिर्छन् तर बिनाधितो धेरै संस्थाबाट ऋण लिएकालाई केहि मतलब छैन । बजगाईं भन्छन् ‘कतिपय संस्थाका सदस्य संस्था डुबे ऋण तिर्न पर्दैनथ्यो भनेर धूप बालेर बसेका छन् ।’
‘सदस्यले पनि जे गर्न पाउनुपर्छ भन्ने होइन र सञ्चालकहरु पनि सहकारी मूल्यमान्यता र सिद्धान्तमा रहेर चल्नु प¥यो । दुवै पक्ष उत्तिकै जवाफदेहि भए संस्थाको ब्यालेन्स सिट र नाफा निरन्तर बृद्धि हुन्छ,’ उनले भने । सदस्यले समयमा साँवाँब्याज नबुझाउँदा यसपटक संस्थाहरुको खराब कर्जामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको उनले औंल्याए ।
भक्तपुर बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण धोजु पनि सहकारीहरुमा ऋण असुलीको चुनौति थपिएको औंल्याउँछन् । सहकारीमा सहकारिता हराएकोले ऋण लगानी र असुलीमा चुनौती थपिएको उनी बताउँछन् । ‘सहकारीमा जसले बचत गर्छ उसैले व्याज तिर्ने हो । सदस्य नै उत्पादक र उपभोगकर्ता हुन्छन् । तर सहकारी लगानी गर्ने क्षेत्रको रुपमा मात्रै विकास हुँदै गएको छ,’ उनले थपे ‘ सदस्यले बचतमा बढी ब्याज खोज्दा लगानीको व्याजदर बढ्छ । वास्तविक सदस्यको ऋणको माग नभएपछि सिमित र प्रतिफल घेरै आउने घरजग्गा जस्ता अनुपादक क्षेत्रमा लगानी गरेका कारण हालको अवस्थामा आएको हो ।’
ऋण लगानीको दबाबलाई कम गर्न गैरसदस्य वा ऋणका खातिर सदस्य भएका व्यक्तिलाई ऋण दिँदा असुलीमा समस्या देखिएको छ । सहकारी संस्थाले ऋण कार्यविधि तथा नीति बिना नै आफू खुशी ऋण लगानी गर्दा जोखिममा रहेको भन्दै उनले विना धितो ऋण लगानीको होडबाजी र त्यसको जोखिम मुल्यांकन नगरिकन गरिएको ऋण असुलीमा समस्या देखिएको बताए ।
सहकारीले वित्तीय परामर्शदाताको रुपमा काम नगर्दा ऋणी सदस्य र ऋण पनि डुब्ने खतरा बढेको उनको ठम्याई छ । ‘सहकारी हरेक दिन सञ्चालन नाफामा रहनुपर्ने हो तर असार महिनामा आएर मात्र साँवा र व्याज असुलीलाई हारगुहार गर्ने परम्पराले सावाँव्याज असुलीमा सकस भएको छ । उनले थपे ‘राज्यबाट पुँजीगत खर्च नहुन, निर्यात भन्दा आयात बृद्धि हुनु, रेमिटाइन्स घट्नु, बैदेशिक सहयोग प्राप्त नहुनु र बैंक वित्तीय संस्थाको सीडि रेसियो बढ्नुका कारणले बजारमा तरलता अभाव देखिएको छ । यसले ऋण असुलिमा प्रतिकुल वातावरणको सिर्जना भएको हो ।