कुविता : लुछ्
भोको ख्याउटे कोही देखिन्न
हात्तीजस्तो शरिर
जनताको रगत चुसेर बाँचेको
कहिले सदनमा कहिले सडकमा नाचेको
देश लुछ्ने दाह्रा छोपेको मुख
ब्वाँसोजस्तो टाउको
फेरि आउँछ लुछ्ने मौका…लुछ् यो देश
न मेरो साहुको, न तेरो बाउको !
निर्मलाको आत्माको सराप, सराबमा घुटुक्क
नरभाँडेले घरभाँडे नक्सा हरायो सुटुक्क
सत्रहजारको लास केका लागि तन्केका
सिनु सकिएर यी गिद्ध सडकमा किन भन्केका
गुलियो उखु फलाउनेको नुनिलो आँसु
बाग्मतीमा भेल बन्यो
सीमामा रातदिन लुटिन्छन् नागरिक
यिनीहरूलाई खेल बन्यो
सुस्ता चपाइदे, नेपाली धपाइदे
के मतलव भो र ठाउँको
फेरि आउँछ लुछ्ने मौका…लुछ् यो देश
न मेरो साहुको, न तेरो बाउको !
कैले यान्छीको बजार हल्ला कैले गोयलको मार्केट छ
चाँडै मरोस् गोबिन्द केसी तब लुट्ने टार्गेट छ
किसान फसल सडकमा फाल्छन् यसरी नै बस्छन्
पुलिस लाउँछन् डन्ठा ठोक्न यिनैले नै डस्छन्
कानुन् अनुसार देश चल्दैन
देश चल्ने कानुन् बन्दैन
जनता चुस्ने यी किर्ना पुर्ने
गतिलो खाल्डो किन कोही खन्दैन ??
ज्योतिषीले नाम लिन्थे केतु अनि राहुको
फेरि आउँछ लुछ्ने मौका…लुछ् यो देश
न मेरो साहुको, न तेरो बाउको !

लुछ्न भेट्दा दाह्रा फिट्ने
लुछ्न नभेट्दा दाह्रा किट्ने
फुत्त यौटा हड्डी फाल्देउ
झटपट मुखारी खोलेर दार्छन्
जनताका हड्डी सिठी लगाउँछन्
मुटु,कलेजो सेकुवा पार्छन्
“प्रभु”लाई चढाउँछन् आफूले रगत चुसेकै छन्
जनताको आँशुले चुठेकै छन् उग्राउँदै मुख पुसेकै छन्
पाउ चाट्दा दाउ लाग्छ के फरक भो नाउँको
फेरि आउँछ लुछ्ने मौका…लुछ् यो देश
न मेरो साहुको, न तेरो बाउको !
हुम्लामा भोकै चामल छैन
एक गेडो दाल भेट्दैनन्
शीतलहर छ तराइमा ओच्छ्याउने,ओढ्ने, पाल भेट्दैनन्
उठ्ने छैनन् राक्षसहरू
जबसम्म गतिलो माल भेट्दैनन्
शहरमा देश मारे, मरिसक्यो
खबर शुन्य छ गाउँको
दाह्रा भाँचियोस् लुछ् यो देश
न मेरो साहुको न तेरो बाउको !
लेखक – कवि अनिल पौडेल “किर्ते”