मधेशमा धार्मिक द्वन्द्व ल्याउने षडयन्त्र

सामाजिक रुपान्तरणमा एउटा आदर्शको स्थापनार्थ गरिने राजनीतिमा नैतिकता, आदर्श, ईमान्दारी, सामूहिक जिम्मेवारी, त्याग, बलिदान अपरिहार्य विषय हो । यसको अभावमा राजनीति निष्प्राण र बिना अर्थको हुन्छ । तर अहिले देखिएको राजनीतिमा न ईमान्दारिता छ, न नैतिकता र न जिम्मेवारीबोधको ज्ञान । शक्तिमदको अहंकारमा सरकार अर्थहीन क्रियाकलापले मजबूत राजनीतिक धरातल नै हल्लिएको छ । चारैतिर असन्तुष्टताका कोलाहल व्याप्त हुन थालेको छ ।
धर्म निरपेक्षता ल्याएर क्रिश्चियन बनेका राजनेताहरुले नेपाललाई जरैदेखि क्रिश्चियन राज्यमा परिणत गर्ने रणनीति अनुसार धर्म परिवर्तन गराउन खुल्लमखुल्ला बाबुराम भट्टराईले हिन्दूधर्मको औचित्यमाथि प्रहार गरि क्रिश्चियन धर्म अंगाल्न जनतालाई उत्प्रेरित गरि रहेको कुरा अपराध होइन ? डलरका लागि कुत्सित प्रवृतिका तथाकथित राजनेताहरुले नेपालको मुटुमा धर्म निरपेक्षताको कृत्रिम अंग सहजै प्रत्यारोपण गरे जस्तै नेपालको मौलिक धर्म,संस्कृति मास्ने गरि आज धर्म परिवर्तनको जेहाद शुरु गरेका छन् ।
नेपाली भूमीबाट हिन्दू धर्म संस्कृतिको उन्मूलन नगरुञ्जेल मधेशी, थारु, जनजाती, दलितको हक अधिकार सुनिश्चित हुन सक्दैन भनेर नयाँ ठेक्कापट्टा लिएर हिंड्ने बाबुराम भट्टराईको यो नवीन विचार उनको पराजित मानसिकताको उपज हो । संघीय समाजवादी फोरमसंग एकीकरण गरेको बाबुराम भट्टराई मधेशी धरातलमा उभिएको बिर्सिनु हुँदैन । मधेश कट्टर हिन्दूवादी हो । डलर कमाउन धेरै कुपात्रहरु यूरोपियन यूनियनको प्रभावमा आएर मधेशलाई ईसाईकरण गर्ने प्रयासमा विफल भए । खुट्टामा लागेको गुँहुँ अनुसन्धान गर्दै नाकसम्म पु¥याउने बाबुराम भट्टराईको हिन्दूत्वमाथि प्रहार गरि दलितहरुलाई क्रिश्चयन बनाएर सबल बनाउने यो कस्तो अनुसन्धान हो ?
माओवादी द्वन्द्वमा देखिएको सफल रणकौशलबाट प्रभावित नेपाली जनताले तपाईंहरुलाई विश्वास गरेर स्थापित गरेका थिए । शीर्ष पंक्तिमा रहेका संघर्षबाट खारिएर आएका तपाई लगायत सहकर्मी कमरेडहरु यो राज्यसत्ता अगाडि केही गर्न नसकेर कसरी निस्तेज हुनु भयो ? जनतालाई बाँडिएका सपनाहरु कसरी चकनाचूर भयो । राज्यसत्ताको सबैकुरा चल्यो । तपाईंहरुको केही कुरा चलेन । पार्टी पनि ६ टुक्रामा बाँडियो । विविध संस्कृतिमा विभक्त नेपाली समाज अहिले अधिकारको अभ्यासमा पारस्परिक अन्तर्विरोध चर्केको अवस्थामा शासक र शासित दुई वर्गमा विभाजित छ ।
अधिकार माग्ने वर्गलाई तोडेर पारस्परिक लडाउने राज्यको आन्तरिक रणनीति बलियो छ । मधेश आन्दोलनको प्रतिफल संविधान सभाको स्थापना भयो तर यसलाई न मधेशले, न जनजातीले, न थारुले, न दलितले उपयोग गर्न सके । संविधान सभाको भरपूर रसास्वादन नेपाली काँग्रेस, माओवादी र एमालेले गरे । आज तीनवटैले जनता समक्ष एक अर्कामाथि दोष थुपार्दै निर्दोष बन्ने चेष्टामा लागेका छन् । के यही ईमान्दारी हो ? आज पुनश्च “ म दोषी होइन, अरुले नै गर्न दिएन” भनेर जनताको विश्वाससंग खेलवाड गर्न आउने धृष्टता नभई अरु के हो ? यो जालझेलको राजनीतिले देश बनाउने सपना साकार होला ? दुई तिहाईको स्थिर सरकार आज किन असक्षम सावित भई रहेको छ ?
मधेश आन्दोलनदेखि राज्यसत्ताका लागि चुनौतीको रुपमा देखिएको मधेशमाथि अनेक षडयन्त्रको जालो फ्याँकिएको छ । “उसैको डोको उसैको टाउकोमाथि ठोको” भने जस्तै मधेशले माँगेको संघीयता राज्यसत्ताले यस्तो प्रकारले दियो कि संघीयता मधेशका लागि गलगाँड जस्तै भएको छ । एउटा सानो कित्तामा मधेशका सबै नेतालाई उभ्याई दिएर बाँकी सम्पूर्ण मधेशमाथि सरकारको कब्जा भएको छ । संघीयता पाएको उपलब्धिमा रमाएका मधेशका नेताहरु बाँकी मधेश कहाँ गए, त्यसबारे न कुनै विचार छ, न कुनै रणनीति नै ।
वैकल्पिक शक्तिको आत्मरतिमा रमाएका नेताहरु बाबुराम भट्टराईले हिन्दूत्वमाथि गरेको प्रहारबारे कोही किञ्चित बोली रहेको छैन । समाजवादी पार्टीका अन्य नेताहरु बाबुराम भट्टराईको अभिव्यक्ति विषयमा कोही नबोल्नुको अर्थ “मधेशबाट हिन्दूत्वको अन्त गर्ने समाजवादी पार्टीको रणनीति नै रहेको बुझिन” जनतालाई करै लाग्छ ।
मधेश आन्दोलन पश्चात् मधेशको विरुद्धमा थारुलाई उचालेर राज्यले जुन तमाशा खडा गरेको थियो, त्यस्तै आज हिन्दूधर्म नै फसादको जड हो भनेर बाबुराम भट्टराईले मधेशमा दुई समूहबीच पारस्परिक लडाउने धार्मिक पासा फ्याँक्ने प्रयास गरेको छ । यो अधिकार दिलाउने अभियान हो कि मधेशमा भाँडभैलो मच्चाउने राज्यको अर्को कुनै षडयन्त्र ? थारु, मधेशी, जनजातीको विभेदलाई राज्यसंग जोडेर, भ्रष्टाचारलाई पनि राज्यसंग जोडेर बोल्दै आएपछि नेपाली जनताको बाबुराम भट्टराईप्रति जाग्न थालेको सहानुभूति बाबुराम भट्टराईको धार्मिक आस्थामाथिको प्रहारले निकै घट्न थालेको छ । अधिकारवादी आन्दोलनको क्रान्तिकारी कुरा गरेर सामेल भएको बाबुराम भट्टराईको नियतमाथि अब शंका हुनु स्वाभाविक हो ।
यूरोपियन यूनियनको नेपाललाई जरैदेखि ईसाईकरण गर्ने अभियानलाई म ३० वर्षदेखि हेर्दै आई रहेको छु । उसको सक्रियता, उसका कार्यकर्ता, उसका प्रचार सामग्री घरदैलोसम्म पुगेर आर्थिक प्रलोभनको जालोमा फँसाउँदै कसरी संगठन विस्तार गरे मैले सबै कुरा हेर्दै आई रहेको छु । यही समयमा हिन्दूहरु कुम्भकरणको निद्रामा मस्त भएर अन्तध्र्यान रहेको यथार्थ पनि हाम्रो सामु छ । ईसाईहरु जनताको दुःखसुखसंग जोडिन पुगेकोले उसको संगठन विस्तार भयो र आज यहाँ क्रिश्चियनको बोलवाला छ ।
यो किन भयो भन्ने कुरासंग मेरो कुनै आपत्ति छैन । जिम्मेवार व्यक्तिहरु ठेक्का लिएर डलर कमाउने उद्देश्यले कोही पहाडतिर कोही मधेशतिर जनतालाई प्रभावित गरि ईसाई बनाउने रोजगारीसंग मेरो आपत्ति हो । मधेशलाई ईसाईकरण गर्न लगाईएका कतिपय कुपात्रहरु असफल भएका छन । तर पनि युरोपियनहरु हार मानेका छैनन् । बाबुराम भट्टराईजी यिनकै प्यादा त होइनन् भन्ने शंका लागेको हो किनकि उहाँ मधेशको कित्तामा उभिनु भएको छ ।
जति आलोचना भएपनि एउटै कुरा भन्दै रहँदा सत्यमा परिणत हुन्छ भन्ने डा० साहेबको खुराफाती सोचले दलितलाई राज्यबाट विभेद भएको होइन, हिन्दूधर्मबाट विभेद भएको हो भनेर ईसाईकरण गर्ने मान्यता अनुसारको रणनीति रहेको छ । यसले मधेशमा ठूलो विग्रह उठ्ने सम्भावनालाई नकार्न सकिंदैन । समाजमा रुढिवादी रुपमा बसेका विकृति हटाउनु राम्रो कुरा हो तर धर्म, संस्कृति नै उन्मूलन गर्नु, धार्मिक सहिष्णुतालाई खल्बलाउनु यी अक्षम्य अपराध असह्य हुने कुराको बोध हुनु आवश्यक छ ।

उपेन्द्र झा

Leave a Reply