विजया दशमी महापुजा

Loading

Peoples News : विजया दशमी
नवरात्रिको दशौ दिनलाई विजयादशमी पनि भनिन्छ | यस तिथि निर्धारण देहाय आधारमा हुन्छ ।
श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः।।
(आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दसमीलाई विजयादसमी भन्ने बुझ्नुपर्छ।)
सा नवमीविद्धा कर्तव्या नत्वैकादशीयुक्ता।।
(दसमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दसमी मान्य हुन्छ, एकादसीसहितको दसमी मान्य हुँदैन।)
मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम्।। विजयाख्योऽष्टमः।। (मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन्।)
किञ्चित्सन्ध्यामतिक्रम्य किञ्चिदुत्पन्नतारकाः।। विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः।।
(कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन्। तर विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ।)
उक्त लिखित प्रमाणका आधारमा विजयादसमीको साइत निर्धारण गर्न न्यूनतम आधारका रूपमा श्रवण नक्षत्र र विजय मुहूर्त (मध्याह्नको समय) लाई लिनुपर्ने हुन्छ।

यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ | वैदिक ज्योतिष अनुसार चान्द्रवर्षमा ३५४दिन हुने कुरा बताइएको छ |चान्द्रकलाविज्ञानका आधारमा वर्षभरिमा लगभग ६ महिनाको कृष्णपक्षको चतुर्दशी मात्र क्षय भई बाँकी वर्ष भरी कुनै पनि तिथि घट्-बढ् नहुने सिद्धान्त विश्वकै सर्व प्राचीन वैदिक ज्योतिषको रहेको छ|यस आधारमा शुक्लप्क्षमा त कुनै पनि तिथि घट्-बढ् हुने कुरै भएन ,कृष्णपक्षमा पनि केवल १४औं दिन मध्याह्न पछि चन्द्रकला क्षय भयो भने मात्र सो महिनामा चतुर्दशी मात्र टुटी सोही १४औं दिनलाई औंसी मान्ने सिद्धान्त वेदका ज्योतिषको रहेकाले पुराणहरूमा पनि नवरात्रलाई कहीं पनि तिथि घट्यो भनेर अष्टरात्र र कहीं पनि तिथि बढ्यो भनेर दशरात्र हुने कुरा मिल्दैन | आजभोली निरयण अर्वाचीन ज्योतिषका आधारमा गणित गरी वेद-पुराणहरूका सिद्धान्त विपरीत खण्डतिथि मान्ने सिद्धान्त गणित अघि सारी कहीले आठै दिनमा र कहीले दशौं दिनको दशैं पर्व लेख्ने गर्दछन् , तर पनि यदा कदा सामाजिक समस्या आई पर्दछ |जस्तै दोलखा भीमेश्वरमा बजार समितिले पञ्चांगको निर्णय विपरीत अष्टमी र नवमी एकैदिनमा परेको छ भन्दा हाम्रो संस्कृति अनुरुप दुई दिनको कार्य खप्ट्याउन मिल्दैन भनेर न मानेको कुरा सर्व विदितै छ | षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी। यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।

टीका लाउँदा दिने आशिषः-
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ।यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।

‘आवाहनं नजानामि नजानामि विर्जसनम्।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।
इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।
रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।’

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन् ।

Leave a Comment