गाउँ हडप्ने शर्मामाथि छानबिन

Loading

Peoples News : काठमाडौँ — सिंगै गाउँको जग्गा आफ्नो परिवारका नाममा दर्ता गरेको अभियोगमा तत्कालीन ‘पुनर्वास कम्पनी’ बाँकेका म्यानेजर दिनेशराज शर्मामाथि सरकारद्वारा गठित आयोगले छानबिन थालेको छ । पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’ ले शर्मालाई सिंहदरबारमै बोलाएर बयान लिएको हो ।

शर्माले २०३५ सालमा बाँके खजुरा–३ स्थित साविकको ‘क गाउँ’ को २८ बिघा स्थानीय हनुमान मन्दिरका पुजारीसँगको मिलेमतोमाआफन्तका नाममा ल्याएका थिए । ‘सिंगै गाउँ व्यक्तिका नाममा हुने गरी तत्कालीन सरकारी कर्मचारीकै मिलेमतोमा निर्णय भएको विषय आयोगमा आएको छ,’ अध्यक्ष भट्टराईले भने, ‘यस विषयमा छानबिन भइरहेको छ ।’

ेम्यानेजर शर्मा हाल ७० वर्षका भए । पुनर्वासको म्यानेजर हुँदा ३० वर्ष पनि पुगेका थिएनन् । बयानमा उनले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । आफन्तका नाममा ल्याएको गाउँको जग्गा मन्दिरका बाबाबाट बकस पास पाएको बताएका छन् । तत्कालीन सरकारले सीमा अतिक्रमण रोक्ने उद्देश्यले उक्त गाउँमा २०३३ मा जग्गा उपलब्ध गराएर नयाँ बस्ती बसाल्ने अभियान चलाएको थियो । त्यही क्रममा म्यानेजर शर्माले ‘क गाउँ’ रहेको २८ बिघा जग्गा पुजारीसँगको मिलेमतोमा परिवारका नाममा ल्याएको उजुरी आयोगमा परेको छ । उनी बर्दियाको पनि म्यानेजर भएर पुनर्वास परियोजनामा खटिएका थिए । ‘क गाउँ’ हाल खजुरा गाउँपालिकाकै खजुरा बजारबाट दक्षिणतर्फ ३ किमि टाढा पर्छ । यो भारतीय सीमाभन्दा ५ किमिभित्र पर्छ । अहिले १ सय ५८ जनसंख्या रहेको उक्त गाउँको लालपुर्जा अझै स्थानीयको नाममा छैन ।

‘पुनर्वास कम्पनीमार्फत स्थापना गरिएको ‘क गाउँ’ मै हनुमान मन्दिरमातहत केही जमिन रहेकामा पुजारीले आफ्ना नाममा ल्याउन खोजेको भन्ने उजुरी पर्‍यो,’ अध्यक्ष भट्टराईले भने, ‘मन्दिरको जग्गा तत्कालीन सन्तकुटी प्राथमिक विद्यालय (हाल सन्तकुटी जनता उच्चमावि) मातहत ल्याइने भएपछि म्यानेजर शर्मा, उनकी पत्नी र आफन्तसँग नक्कली नाता कायम गरी पुजारीले बकस पास गरेको किर्ते कागजात बनाएर गाउँ नै हडपिएको विषय उजुरीमा उल्लेख छ ।’

जग्गा हडप्नकै लागि शर्माकी पत्नी मीना मिश्र उपाध्याय र जेठीसासू नीलाकुमारी ढुंगेललाई पुजारी हनुमान बाबाले धर्मपुत्री बनाएर बकस पास गरेको भेटिएको छ । शर्माले पुजारीका नाममा सरकारी कागजात किर्ते गरेर लालपुर्जा बनाइदिएका थिए । त्यसैका आधारमा पुजारीले २०३५ सालमा शर्माका आफन्तलाई जग्गा बकस पास गरिदिएको भेटिएको छ । गाउँलेको जग्गा हडपेपछि मीनाले १० बिघा, नीलाले ७ बिघा, बिचौलिया बनेका पुनर्वास कम्पनीका तत्कालीन कर्मचारी (सुब्बा) बिन्द्रा कुर्मीले ७ बिघा र पुजारीले ४ बिघा लिएका थिए । पुजारीको ८ वर्षअघि नै मृत्यु भइसकेको छ ।

‘हामीलाई पुनर्वास कार्यक्रम र जंगल फँडानीबाट ‘क गाउँ’ मा बस्ती विकास गरेर बसाइएको थियो तर पछि उक्त जग्गा व्यक्तिले आफ्ना नाममा दर्ता गरिसकेका रहेछन्,’ उजुरीकर्ता स्थानीय उदयराज खत्रीले कान्तिपुरसँग भने, ‘२०३३/३४ सालको नक्सा तथा कागजातसमेतको अध्ययन गरेर गाउँलेको जग्गा फिर्ता दिनुपर्छ, आयोगमा पनि यस विषयमा उजुरी दिएका छौं ।’ यस विषयमा २०२१ सालको नापी र त्यससँग जोडिएका कागजपत्र संकलन भइरहेको आयोगको भनाइ छ । हाल उक्त जग्गा रमेशकुमार थापाका नाममा कायम छ ।

२०७० वैशाख २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गाउँ नै गिरोहले हडपेको भन्दै छानबिनका लागि उजुरी परे पनि त्यसको सुनुवाइ नभएको भनी आयोगमा उजुरी परेको छ । उक्त जग्गा आफ्नो दाबी गर्दै २०४१ सालमा म्यानेजरका आफन्तले बाँके जिल्ला अदालतमा दायर गरेको रिटमा २०४४ सालमा ‘क गाउँ’ का स्थानीयको पक्षमा फैसला आएको र तत्कालीन पुनरावेदन अदालतले २०५१ मा त्यसलाई उल्टाएको अभिलेख सरकारसँग छ ।

Leave a Comment