![]()
People’s News //काठमाडौं// आजका युवाको हातमा किताब होइन, मोबाइल छ । आँखामा सपना होइन, स्क्रिनको झिलिमिली छ । सामाजिक सञ्जाल युवाको अभिव्यक्तिको माध्यम बन्नुपर्नेमा आज भ्रम, उत्तेजना र गलत दिशाको कारखाना बन्दै गएको छ । टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबले युवालाई अवसर दिएको जस्तो देखिए पनि वास्तविकतामा यसले सोच्ने क्षमता खोस्दै, नक्कली हिरो बनाउँदै र वास्तविक संघर्षबाट टाढा धकेल्दै लगेको छ । लाइक र भ्युको नशाले युवा विवेकहीन बन्दै गएका छन् ।
सबैभन्दा खतरनाक पक्ष सामाजिक सञ्जालमार्फत राजनीतिक, धार्मिक र वैचारिक अन्धभक्ति उत्पादन भइरहेको छ । तथ्यभन्दा भावनामा खेल्ने सामग्रीले युवालाई प्रश्न गर्न होइन, भीड पछ्याउन सिकाइरहेको छ । असहमतिलाई गाली, आलोचनालाई शत्रुता र बहसलाई झगडामा बदलिएको छ । आज युवा रचनात्मकता होइन, ट्रेन्डको गुलाम बनेका छन् । मेहनतभन्दा भाइरल हुने सपना देख्छन् । सीपभन्दा स्क्यान्डलमा भविष्य खोज्छन् । यही गलत बाटोले बेरोजगारी, मानसिक तनाव, हिंसा र सामाजिक विचलन बढाइरहेको छ ।

यो केवल युवाको कमजोरी होइन यो राज्यको लापरबाही, शिक्षा प्रणालीको असफलता र राजनीतिक स्वार्थको परिणाम हो । युवालाई सही दिशा दिनुपर्ने नेतृत्व स्वयं सामाजिक सञ्जालको प्रचारमा रमाइरहेको छ । अब प्रश्न गम्भीर छ युवा कहिलेसम्म स्क्रिनको कठपुतली बन्ने ? कहिलेसम्म अरूले बनाइदिएको विचार बोकेर हिँड्ने ?
समाधान स्पष्ट छः युवाले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ, तर त्यसको दास होइन, मालिक बन्नुपर्छ । प्रश्न गर्ने, सत्य खोज्ने र समाज बदल्ने चेतना विकास नगरेसम्म सामाजिक सञ्जाल युवाको शक्ति होइन, विनाशको बाटो नै रहनेछ । अब नसोचे भविष्यले माफी दिनेछैन ।
