बंगलादेशमा एक हिन्दु युवकको बिभत्स हत्या

Loading

पिपुल्स न्युज : ढाका । बंगलादेशको मयमनसिंह जिल्लामा एक हिन्दु युवकको बीभत्स हत्या भएपछि त्यहाँको सुरक्षा व्यवस्था र साम्प्रदायिक सद्भावमाथि गम्भीर प्रश्न उठेको छ । २७ वर्षीय दिपु चन्द्र दासको हत्या गरी शवलाई रूखमा बाँधेर आगो लगाइएको अवस्थामा फेला पारिएपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले यस घटनाको कडा भर्त्सना गरेका छन् । युनुसका अनुसार यस जघन्य अपराधमा संलग्न रहेको आरोपमा ‘र्‍यापिड एक्सन बटालियन’ (आरएबी) ले सात जना संदिग्धहरूलाई पक्राउ गरिसकेको छ । स्थानीय प्रहरीका अनुसार ती युवकलाई सुरुमा निर्मम रूपमा कुटपिट गरिएको थियो र पछि आगो लगाएर मारिएको थियो । पक्राउ पर्नेहरूमा १९ देखि ४६ वर्ष उमेर समूहका मोहम्मद लिमन सरकार, तारिक हुसेन, मानिक मिया, इर्शाद अली, निजुम उद्दिन, आलमगीर हुसेन र मिराज हुसेन रहेका छन् । पछिल्लो समय बंगलादेशमा चर्किएको हिंसात्मक श्रृङ्खलाका बिच यो घटना सार्वजनिक भएको हो ।

यसैबिच, बंगलादेशको विद्यार्थी आन्दोलनमा सक्रिय रहेका इन्किलाब मञ्चका हादी उस्मानको गोली हानी हत्या भएपछि राजधानी ढाकामा व्यापक र हिंसात्मक प्रदर्शनहरू भएका छन् । सोही तनावका बिच प्रदर्शनकारीहरूले बंगलादेशका प्रतिष्ठित पत्रिकाहरू ‘प्रथम आलो’ र ‘डेली स्टार’ को कार्यालयमा तोडफोड र आगजनी समेत गरेका छन् । एकपछि अर्को गर्दै भएका यस्ता हिंसात्मक घटनाले बंगलादेशको राजनीतिक र सामाजिक अवस्थालाई थप अस्थिर बनाएको छ ।

Leave a Comment