अन्धभक्त युवा र चलाख नेता : लोकतन्त्रका लागि गम्भीर चेतावनी

Loading

Peopl’s News : लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति सचेत नागरिक हुन् । तर जब युवाशक्ति विवेकभन्दा भावनामा बग्छ र प्रश्न गर्न छोड्छ, त्यही शक्ति लोकतन्त्रका लागि खतरा बन्न पुग्छ । आजको राजनीतिक यथार्थमा “अन्धभक्त युवा” र “चलाख नेता” को सम्बन्ध गहिरिँदै गएको देखिन्छ । चलाख नेता जनभावनालाई राम्रोसँग पढ्न जान्दछ । ऊ विकास, राष्ट्रवाद, परिवर्तन र युवाको सपना जस्ता शब्द प्रयोग गरेर आकर्षक भाषण गर्छ । तर व्यवहारमा ती शब्दहरू खोक्रा सावित हुन्छन् । यस्ता नेताहरूलाई थाहा हुन्छ प्रश्न नगर्ने, आलोचना नसुन्ने र सामाजिक सञ्जालमा जथाभावी समर्थन गर्ने युवाको समूह नै उनीहरूको सबैभन्दा ठूलो हतियार हो । अन्धभक्त युवा नेताको विचार होइन, व्यक्तिको पूजा गर्छ । गलत निर्णय, असफलता वा भ्रष्टाचार देखिँदासमेत उनीहरू मौन बस्छन् या बचाउ गर्छन् । यसले नेतामा जवाफदेहिताको भावना मर्छ र सत्ताको दुरुपयोग बढ्छ । परिणामस्वरूप राजनीति सुधार होइन, व्यक्तिकेन्द्रित सत्ता खेलमा सीमित हुन्छ ।

युवा देशको भविष्य हुन् भन्ने नारा धेरै सुनिन्छ । तर त्यो भविष्य तब मात्र सुरक्षित हुन्छ जब युवा प्रश्न गर्छन्, तथ्य खोज्छन् र सही–गलत छुट्याउन सिक्छन् । अन्धभक्ति होइन, विवेकपूर्ण समर्थन नै सशक्त राजनीति निर्माणको आधार हो । आज आवश्यकता छ . चलाख नेताको मीठो भाषणभन्दा नीतिको मूल्याङ्कन गर्ने युवाको । व्यक्तिभन्दा प्रणाली बलियो बनाउने सोचको । नत्र भने अन्धभक्त युवाले नै चलाख नेताको हातमा लोकतन्त्र सुम्पिरहेको यथार्थ हामीले बुझ्न ढिला गरिरहेका छैनौँ ? 

Leave a Comment