टुटफुटको संस्कार अझै छोडेन राजनीति दलले पुनः फुटे जसपा

Peoples News : गठन भएको डेढ वर्षमा जसपामा विभाजन आएको छ  । ०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट विभाजित भएर तत्कालीन संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा जसपा गठन भएको हो । अहिले फेरि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले जसपा परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अघि बढ्ने घोषणा गरेका छन्  । श्रेष्ठसहित केन्द्रीय समिति उपाध्यक्षहरू रणध्वज लिम्बू (कन्दङ्वा) र परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोग अध्यक्ष कृष्णबहादुर घजू नेकपामा समाहित हुँदै छन्  । 

उनीहरूले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै पार्टी कार्यालयमा पत्र दर्ता गरेका छन्  । ‘अतः हामी तपसिलका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ–आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ उनीहरूले भनेका छन्  । केन्द्रीय समिति बैठकले देशको समग्र परिस्थिति र पार्टीको अवस्था विश्लेषण गरी नीति, सिद्धान्त तथा माग मुद्दा मिल्ने राजनीतिक दलसँग एकीकरण, मोर्चा र तालमेल गर्नेलगायतका विषयमा वार्ता गरेर निर्णय लिन केन्द्रीय कार्यकारिणी समितिलाई अधिकार प्रत्यायोजन गरेको थियो  । 

उक्त कार्यका लागि यथाशीघ्र कार्यकारिणी समितिको बैठक बोलाउनुपर्नेमा २ मंसिरमा बसेको केन्द्रीय समिति र केन्द्रीय कार्यकारिणी समितिबाट समेत सहमति गरी संघीय परिषद् अध्यक्ष श्रेष्ठ संयोजक रहेको वार्ता समितिलाई नेपाली कम्युनिस्ट पार्टीसँग एकता वार्ता गर्न जिम्मेवारी दिएको थियो  । पार्टीले कार्यदल गठन गरेर वार्तामा पठाए पनि कार्यदलको तर्फबाट रिपोर्ट पेस गर्न बैठक नबोलाएको आरोप श्रेष्ठसहितका नेताहरूको छ   । उपमहासचिव प्रदीप यादवले नेकपासँग मोर्चा बनाएर जान सकिने, तर तत्काल एकता नगर्ने निर्णय पार्टीको रहेको बताए  । ‘व्यक्ति जाने हो भने कसले रोक्न सक्छ र ? जसपाको निर्णय नेपाली कम्युनिस्ट पार्टीसँग अहिले एकता गर्ने वेला भइसकेको छैन, मोर्चा बनाएर जाऔँ भन्ने हो  । बरु एकल चुनाव चिह्न लिएर निर्वाचनमा जान सकिन्छ भन्ने हाम्रो निर्णय हो,’ उनले भने  । 

उनका अनुसार आइतबार पनि जसपाको सचिवालय बैठक बसेको छ  । बैठकमा अध्यक्ष राईले जानेलाई रोक्न नसकिने बताए  । ‘साथीहरूले मान्नुहुन्न भने जान दिनुस्, अहिले एकता गरेर जान सकिन्नँ  । मोर्चा बनाएर जाऔँ भनेकै हो  । एकल चुनाव चिह्नमा पनि जान सकिन्छ पनि भनेकै हो,’ राईको भनाई उद्धृत गर्दै यादवले भने  । नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको वार्ता टोलीबिच पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेको छ  । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदल बैठकमा एकताको सहमति भएको नेताहरूले बताएका छन्  । 

जसपा, उन्मुक्ति र राष्ट्रिय मुक्तिबिच चुनाव चिह्न  ‘जाँतो’मा सहमति : जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीबिच आगामी निर्वाचनमा एकल चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएको छ  । एकल चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टीको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए  । सहमतिपत्रमा जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले हस्ताक्षर गरेका छन्  । 

Leave a Comment