हल्लियो देश कै शक्तिशाली महिला ?

Loading

विगत १६ वर्षमा बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले आफ्नो मुलुकलाई गरिबीबाट बाहिर निकाल्ने यात्राको नेतृत्व गरेकी छिन् । देशले गरेको ठूलो प्रगतिको कारण उनी नै रहेको कतिपयको भनाइ छ । अरू कतिपय चाहिँ आफूहरू उनको बढ्दो निरङ्कुश शासनको विरुद्धमा रहेको बताउँछन् । तर उनको सत्ता विगतमा कहिल्यै पनि अहिलेको जस्तो धरमराएको थिएन । विश्वविद्यालय र कलेजका विद्यार्थीहरूले गरिरहेको आन्दोलनले देशभरि नै अशान्ति,रक्तपात र अराजकता निम्त्याएको छ । शान्त तर दृढ नेताका रूपमा परिचित उनी देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन् र उनले आफ्नो जीवनमा धेरै सङ्कट र हत्याका प्रयासहरू पनि देखेकी छन् ।

उनको सरकार ५७ जना सैन्य अधिकारी मारिएको देशको अर्धसैनिक सीमा सुरक्षा बलको विद्रोह, अन्तर्राष्ट्रिय समुदायले व्यापक आलोचना गरेको तीन वटा विवादास्पद आमनिर्वाचन, मानवअधिकार उल्लङ्घनको आरोप र विपक्षी गुटहरूको सडक आन्दोलन हुँदा पनि जोगिएको छ । यद्यपि अहिले उनले आफ्नो राजनीतिक करिअरकै सबैभन्दा गम्भीर चुनौतीको सामना गरिरहेकी छिन्। विद्यार्थी आन्दोलन देशव्यापी बन्दै गएको छ र विपक्षी दलहरू विद्यार्थीको मुद्दामा साथै उभिएका छन् । आइतबार बाङ्ग्लादेशको शीर्ष अदालतले सरकारी जागिरमा रहेका प्राय: आरक्षणलाई खारेज गरेको छ । देशभर हिंसात्मक द्वन्द्व सुरु गराएको आन्दोलन पनि यही आरक्षण प्रणालीविरुद्धको हो । सरकारको सुरक्षा बलको कडा प्रतिक्रियाका कारण सय जनाभन्दा धेरैको मृत्यु भएको छ, जसमा अधिकांश विद्यार्थीहरू छन् । 

प्रेसर कुकर’ जस्तो अवस्था

बाङ्ग्लादेशमा विद्यार्थी आन्दोलन

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन, शेख हसिनाले स्वतन्त्रता युद्धका विषयमा भावनात्मक राजनीति गरेको आरोप लाग्ने गरेको छ एशियामा अधिनायकवादको विषयमा गम्भीर अनुसन्धान गरेका ओस्लो विश्वविद्यालयका डा. मुबाशर हसनको बुझाइमा यो अवस्था रातारात विकास नभए पनि ‘प्रेसर कुकर पड्किएको’ जस्तो अवस्था हो । हसनले भनेका छन्, “ख्याल गर्नुस्, हामी यहाँ त्यो देशको बारेमा कुरा गर्दै छौँ, जहाँको प्रेस स्वतन्त्रताको सूचक रुसको भन्दा तल छ । शेख हसिना र उनको पार्टीले गरेको स्वतन्त्रताको युद्धको भावनाको अतिराजनीतिकरण, जनताको मतदान गर्ने आधारभूत अधिकारमा बर्सेनि भएको बन्देज र उनको सरकारको तानाशाही प्रकृतिले समाजको ठूलो जमातलाई क्रोधित बनाएको छ । दुर्भाग्यवश उनी कहिल्यै पनि देशका सबै जनताको प्रधानमन्त्री बनिनन्, बरु एउटा समूहको मात्रै नेतृत्वका रूपमा रहिन् । डा. हसन पछिल्लो साता भएका घटनाहरूलाई लिएर अचम्भीत छैनन् । 

बाङ्ग्लादेशमा आन्दोलनको आरम्भ विश्वविद्यालय र कलेजका विद्यार्थीहरूबाट भयो । सन् १९७१ को स्वतन्त्रता युद्धमा लड्ने व्यक्तिका आफन्त र परिवारका सदस्यका लागि ३० प्रतिशत सरकारी जागिरमा आरक्षणको व्यवस्था खारेज गर्ने मागसहित उनीहरूले आन्दोलन सुरु गरे । उच्च अदालतले गत महिना विवादास्पद कोटा प्रणालीलाई पुनर्स्थापित गरेपछि आन्दोलन सुरु भएको थियो । आन्दोलनकारीमाथि सत्तामा रहेको दलका सदस्यहरूले आक्रमण गरेसँगै यसले हिंसात्मक रूप लियो । आइतवार बाङ्ग्लादेशको सर्वोच्च अदालतले कोटा प्रणालीलाई पुनर्स्थापित गरेर विद्यार्थी आन्दोलन सुरु गराउने उच्च अदालतको विवादास्पद निर्णयलाई खारेज गर्‍यो । सर्वोच्च अदालतमा सरकारको प्रतिनिधित्व गर्दै महान्यायाधिवक्ताले हसिना सरकारले यो मुद्दा बन्द गर्न चाहेको सङ्केत गर्दै त्यसैको माग गरेका थिए ।

के सरकार जोगिएला ?

बाङ्ग्लादेशमा विद्यार्थी आन्दोलन

तस्बिर स्रोत,REUTERS

जारी आन्दोलनलाई शान्त बनाउन अदालतको निर्णय पर्याप्त छ वा छैन भन्ने अहिले स्पष्ट छैन । अहिले विद्यार्थीहरू आन्दोलनमा मारिएका आफ्ना दर्जनौँ साथीहरूका लागि न्याय चाहन्छन्, जसको अर्थ कैयौँ प्रहरी अधिकारी र सत्तामा रहेको दलका सदस्यहरूले मुद्दाको सामना गर्नुपर्छ । बाङ्ग्लादेशका लागि भारतका पूर्वराजदूत तथा सेवानिवृत्त कूटनीतिज्ञ रिभा गाङ्गुली दास बाङ्ग्लादेशको अवस्था छोटोमा भन्नुपर्दा “अन्योलपूर्ण र अचम्मलाग्दो” रहेको बताउँछिन् । उनले  भनिन्, “मलाई शेख हसिनाको सत्ता हल्लिएको छ जस्तो लाग्दैन । केही दिनअघि मात्रै उनी आफैँले हामीले अदालतको फैसला कुर्नुपर्ने भनेकी थिइन् । अब सर्वोच्च अदालतले कोटा प्रणालीलाई अनिवार्य रूपमा पुन:परिमार्जन गर्न भन्दै आफ्नो फैसला दिइसकेको छ । विद्यार्थीहरूले आन्दोलनलाई जारी राख्नुपर्ने कुनै कारण छैन । मलाई आशा छ उनीहरू आफ्नो कक्षामा फर्किने छन् र सम्भवतः केही दिनमा नै सामान्य अवस्था हुने छ । 

भारत के चाहन्छ ?

शेख हसिना र नरेन्द्र मोदी

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,बाङ्ग्लादेशको आन्तरिक राजनीतिमा उल्लेख्य भारतीय प्रभाव रहेको मानिन्छ ढाका विश्वविद्यालयमा प्राध्यापनरत अर्का विश्लेषक शर्मिन अहमद तत्कालै समाधानमा नपुगेमा वर्तमान आन्दोलन कुनै अराजक समूहले आफ्नो बनाउने र त्यसले झन् ठूलो अस्थिरता निम्त्याउने बताउँछिन् । यद्यपि उनले आन्दोलनलाई ‘तर्कसङ्गत’ भनेकी छन् । अन्तर्राष्ट्रिय रूपमा शेख हसिनाको डेढ दशक लामो शासनको बलियो समर्थकको रूपमा हेरिएको छिमेकी भारतले सीमापारिबाट अहिलेको अवस्थालाई नियालिरहेको छ । गत शुक्रवार भारतको परराष्ट्र मन्त्रालयका प्रवक्तालाई यो विषयमा सोध्दा उनले हामी यसलाई उक्त देशको आन्तरिक मामिलाका रूपमा मान्छौँ भने । यद्यपि उनले पछि भारतका विदेश मन्त्री एस जयशङ्करले व्यक्तिगत रूपमा यो अवस्थाको निगरानी गरिरहेको स्वीकार गरेका थिए, जसले भारत आफ्नो छिमेकमा भइरहेका डरलाग्दा घटनाक्रमबाट टाढा रहन सक्दैन भन्ने सङ्केत गर्छ । दिल्लीले शेख हसिनाको सरकारमाथिको सङ्कट गहिरिएमा कुन हदसम्म उनलाई सहयोग गरिनेछ भन्नेबारेमा स्पष्ट पारेको छैन ।

आन्दोलन कसरी उग्र बन्यो ?

बाङ्ग्लादेशमा विद्यार्थी आन्दोलन

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,जारी विद्यार्थी आन्दोलन शेख हसिनाको सरकारका लागि कडा परीक्षा बन्ने ठानिएको छ राजनीतिक विश्लेषकहरू शेख हसिनाको राजनीतिक गल्तीले अवस्थालाई झन् बिगारेको विश्वास गर्छन् । गत साता एक पत्रकार सम्मेलनमा उनले कोटा सुधार अभियानलाई सङ्केत गर्दै त्यस अभियानलाई स्वतन्त्रताप्रेमी र स्वतन्त्रताविरोधी शक्तिहरूबीचको विभाजनको विषयका रूपमा प्रस्तुत गरेकी थिइन् । उनले भनेकी थिइन, “यदि स्वतन्त्रता युद्ध लड्नेका नातिनातिनाले कोटा नपाउने हो भने के राजाकर (पाकिस्तानी समकक्षी) का नातिनातिनाले कोटा पाउनुपर्छ? मेरो प्रश्न यही हो । त्यसको केही घण्टामा नै विभिन्न क्याम्पसमा विद्यार्थीहरूले प्रधानमन्त्रीको प्रतिक्रियाको विरुद्धमा आन्दोलन सुरु गरेका थिए । 

प्रतिक्रियामा प्रहरी र विशेष सुरक्षा बल ‘आरएबी’ले बल प्रयोग गरेको थियो। सत्तारूढ दलको विद्यार्थी सङ्गठनले पनि झडपमा भाग लिएपछि स्थिति थप बिग्रियो । त्यसपछिको ७२ घण्टासम्म देशमा हिंसात्मक झडपहरू भए, राष्ट्रिय टेलिभिजनको भवन जलाइयो, केही कैदीहरू भाग्ने गरी जेल तोडियो र सयौँको मृत्यु भयो । प्रधानमन्त्री शेख हसिनाका लागि यो ठूलो परीक्षा हो । बङ्गलादेशका सार्वजनिक र निजी शैक्षिक संस्थानका साधारण विद्यार्थीहरूले देशकी सबैभन्दा शक्तिशाली महिलालाई हल्लाउन सफल भएका छन् । बाङ्ग्लादेशको इतिहासमा पहिले कहिल्यै यस्तो भएको थिएन । 

Leave a Comment