सहिद डाचाराज वाग्लेको सम्झनामा।

Loading

सहिद डाचाराज वाग्लेसहिद क.डाचाराज वाग्ले

२०२६ साल भदौ २३ गते पिता रेबति प्रसाद वाग्ले र माता तारादेबि कोइराला (वाग्लेको) पहिलो सन्तान(पछि पाँच भाई र दुई बहिनिको जेठो दाजु)को रुपमा ओखल्ढुङ्गा जिल्लाको दुरागाँउमा जन्मनु भएका सहिद डाचाराज वाग्ले (परिबार र आफन्तले बोलाउने नाम बद्री) सानै देखि हक्की र निडर स्वभाबको हुनुहुन्थ्यो। वहाँको बाल्यकाल ओखल्ढुङ्गा(प्राबी), काठमाण्डौ (निमाबी) र सर्लाही(माबि)को शिक्षा लिदै परिवार बाट टाढा रहेर संघर्ष गर्दै बित्यो। वहाँले २०४३ सालमा तत्कालिन च.ज.सा.मा.बी. हरिवन, सुखेपोखरीबाट कमर्स ऐच्छिक बिषय लिएर प्रबेसिका परीक्षा उतिर्ण गर्नुभयो र २०४४ सालमा रा.रा.ब. क्याम्पस जनकपुरमा आई.कम. मा भर्नाभई २०४९मा स्नतक सम्मको अध्ययन पूरा गर्नुभयो।

२०४४ सालमानै वहाँ अ.ने.रा.स्व.वि.यू राराब क्यम्पसको नेता हुनभयो र ४५ सालमा भएको राष्ट्रिय भेलाबाट अ.ने.रा.स्व.बि.यू.को रा.स.आ.स.को सदस्य हुनुभयो।

२०४५ को अन्त्यमा सर्लाहीको हरिवनमा बालपोषण परियोजना ले भ्याकेन्सी माग्यो । आर्थिक अभाब छदै थियो । दर्खास्त दिनु भो पास गर्नु भो जागिर शुरु भो।त्यतिबेला सम्म वहाँ अ.ने.रा.स्व.बि.यू.को केन्द्रीय सदस्य र नेकपा चौम सर्लाहीको ९ नं.सेलको सेक्रेटरी भै सक्नु भएको थियो।

हरिवनमा चिनिमिल अगाडी हाईवे छेउमै वहाँको कोठा थियो । त्याँहा अत्याधिक राजनितिक जमघट हुन्थ्यो। बिशेषत:चौथो महाधिबेसनको।

२०४६ सालको जनआन्दोलन पश्चात् बनेको अन्तरिम सरकाको सम्बिधान सुझाब आयोगका सदस्य तथा तत्कालिन नेकपा(चौम) का महामन्त्री निर्मल लामा सम्बिधान सुझाब संकलन को शिलशिलामा सर्लाही आएको बेला २०४७ मा हरिवनमा राखिएको पार्टीको आम सभामा डाचाजीले मज्जाले स्वागत भाषण गर्नु भयो। त्यसमा वहाँले सामन्तबाद र साम्राज्यबादले कसरी नेपालजस्ता अबिकसित मुलुकमा जरा गाड्दैछन भनेर प्रष्ट पारिदिनु भयो। बेलुका वहाँलाई बालपोषणको परियोजना निर्देशकले बोलाई साफ थर्काएर जागिरबाट तत्काल राजिनामा दिन धम्की दिए रे। वहाँले पनि धम्किकै भाषामा डाईरेक्टरलाई जबाफ फर्काउनु भयो रे ‘ मैले अरु साथीले भन्दा बढिकाम र समय अगाबै काम सक्ने गरेको छु।अफिसको कुनैकाममा बधा पुर्याएको छैन ।अफिसलाई दिएको (अफिस टाईम)भन्दा अघि पछिको समय तपाईहरु तास खेलेर बिताउनु हुन्छ भने म जनताको काम गर्छु।फरक यत्तिहो।आईन्दा म अफिस समय अघि पछी के काम गर्छु मरो चियो गर्न छोडिदिनु’ भनेर।(त्यति बेलाको सेल कमिटिको मिटिङमा भन्नुभएको) त्यसपछी पनि निर्देशकले वहाँको जागिर खोस्न धेरै प्रयत्न गरे तर वहाँलाई  चलाउदा ठुलै बिद्रोह हुने अबस्था भएपछी चलाईएन। भयो के भने बालपोषण परियोजना अमेरीकि सरकारको लगानी रहेको आईएनजिओ थियो । त्यसले सर्लाहीमा गर्भबति महिला र नबजात शिशु हरुमा औषधि परिक्षण गर्थ्यो त्यसको जागिर खाएर डाचाजीले मञ्चबाट अमेरिकन साम्राज्यबादको बिरुद्ध भाषण गर्नु हुन्थ्यो।

वहाँ लामो समय जिल्लापार्टी सेक्रेटरी पनि हुनुभयो क.युद्दप्रतापको नामबाट। पार्टीका केही साथिहरु वहाँले जागिर खाएकोमा बिरोध गर्थे र वहाँसंगै गाडिभाडा,खाजाखर्च र जुत्ता कपडा किन्ने पैसा मागेर लान्थे। हाईवे मै कोठा भएकोले पुर्ब पश्चिम हिड्ने पार्टी नेताहरु हरिबन झरेर डाचाजी संग खर्च लिएर मात्र हिड्थे। वहाँको तलब आउनु अगाडिनै तलब भन्दा बढिपैसा नेता कार्यकर्तालाई दिन बालपोषणका अरु साथिभाई संग लिएको सापटी भैसकेको हुन्थ्यो । त्यतिबेलाको समय अनुसारको सरकारी जागिर भन्दा धेरै राम्रो तलब पाउने आठ बर्षको जागिरे जिबनमा वहाँले आफ्नो तलब केही जोगाउन सक्नु भएन वा चाहनु भएन।

२०४८ सालमा  नेकपा(चौम) नेकपा (मशाल) सर्बहारा बादी श्रमिक संगठन, नेकपा( बिद्रोही मसाल) र नेकपा जनमुखी मिलेर  नेकपा (एकताकेन्द्र) बन्यो ।सर्लाहीमा नेकपा(चौम) बाहेक अरु चार पार्टीको अस्तित्वमा थिएनन। एकता केन्द्र बनेपनि त्याहा चौमकै पार्टी संरचना चलिरह्यो । डाचाजिले त्यसमा बैचारिक नेतृत्व गरिरहनु भयो। २०४८ मा कुम्भेश्वरमा भएको बिध्यार्थिको एकता महाधिबेशनमा वहाले आफ्नो राजनितिक बैचारिक लाईन प्रष्टसंग राख्नु भयो। मोर्चा संगठनहरु पार्टिका शाखा संगठनहरु हुन कि स्वायत्त संगठन हुन ? पार्टी र बिध्यार्थी संगठनको बिचमा कस्तो सम्बन्ध हुनुपर्छ? बिध्यार्थी संगठनको मार्गदर्शक सिद्धान्त मालेमाबाद किन हुन सक्दैन ? पार्टी र बिध्यार्थी संगठनको बिचमा कसरी समन्वय गरिरहनु  पर्छ? जस्ता बिषयहरुमा प्रष्ट अडान राख्नु भयो।

२०५१ मा पार्टीमा फुट भयो । पार्टी जुट्दा र फुट्दा सर्लाही पार्टीमा कुनै असर परेन।पार्टी उहीँ लयमा चलिरह्यो। पार्टी संगै बिध्यार्थी संगठनपनि बिभाजित भयो।

 २०५३ सालमा वहाँ एकता केन्द्रको  बिध्यार्थी संगठनको अध्यक्ष हुने भएपछी जागिरबाट राजिनामा दिनु भयो। त्यसदिन हाकिमहरुले खुसीले भोज खाएरे भन्दै मलाई सुनाउनु भएको थियो।

वहाँ  बिध्यार्थीको अधयक्ष भएपछी संयुक्त बिध्यार्थी आन्दोलनले एउटा गति लियो र ३३% छुट लगाएत केही उपलब्धि हरुपनि दियो।

संयुक्त बिध्यार्थी आन्दोलनमा डाचाराज

२०५६ को जनकपुर राष्ट्रिय सम्मेलनबाट वहाँलाई पार्टीले बिध्यार्थी संगठनको जिम्बेवारी बाट मुक्त गर्यो । वहाँ अरु एक कार्यकाल बिध्यार्थी संगठनको नेतृत्व गर्ने र संयुक्त बिध्यार्थी आन्दोलन र युवा बिध्यार्थी नेतृत्व को दबाब मार्फत नेपालको कम्युनिष्ट आनदोलनलाई एक ढिक्का बनाएर एउटै कमयुनिष्ट केन्द्र बनाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो  । निर्मल लामाको ब्यक्तित्वबाट असाध्यै प्रभाबित वहाँको पार्टी नेतृत्व संग सधै आलोचनात्मक सम्बन्ध रहिरह्यो।बिध्यार्थी को नेतृत्व बाट बिदा भएपछी वहाँ पुन: सर्लाही फर्किनु भयो र पार्टीको जिम्बेवारी लिनुभयो।

२०५७ मा नेकपा (एकता केन्द्र) र नेकपा मसाल एकता भएर नेकपा (एकताकेन्द्र-ंमसाल) बन्यो। २०६२/६३ को जनआन्दोनमा वहाँले सर्लाहीमा सातदलको तर्फबाट जनआन्दोलन हाक्न महत्वपुर्ण समन्वयात्मक भुमिका निभाउनु भयो।  तर यो एकता पनि माओबादीलाई हेर्ने दृष्टिकोण र सम्बिधान सभामा जानेकि नजाने भन्ने बिबाद बढ्दै जाँदा २०६३ मा तीन टुक्रामा बिभाजित भयो। क. प्रकाशको नेतृत्बमा नेकपा (एकताकेन्द्र- मसाल) क. मोहन बिक्रम सिंहको नेतृत्वमा नेकपा( मसाल) बन्यो भने

डाचाजी लगाएत एकता केन्द्र मसालका केही नेताहरु नेपालका कम्युनिष्ट घटकहरु बिशेषगरी माओबिचार मान्नेहरु एक ठाउमा जु्ट्ने र एकीकृत कम्युनिष्ट पार्टी बनाउने  भन्दै रामसिंह श्रीषको नेतृत्वमा नेकपा (एकीकृत) गठन गर्नु भयो।डाचाजी त्यस पार्टीको केन्द्रीय सदस्य र पछि  पोलिटब्युरो सदस्य सम्म  हुनुभयो। त्यस पार्टीमा रहँदा डाचाजीको कार्य क्षेत्र पुर्बी नेपाल र लुम्बिनी प्रदेस रह्यो । यो अबधिमा सर्लाही भन्दा बाहिरि जिल्लानै बढि रह्यो।

 २०६४ को निर्बाचनमा नेकपा(माओबादी) संसदमा पहिलो दल बन्यो।तर सरकार बनाउन चार महिना कुर्नुपर्यो।विभिन्न देशी बिदेशी खेलहरु चलिरहे। अब नेपालमा एुउटै कम्युनिष्ट पार्टी बन्नुपर्छ भन्ने बहसहरु चल्न थाले।यसै क्रममा २०६४ मा नेकपा (माओबादी)र नेकपा (एकता केन्द्र) एक भएपछी एनेकपा ( माओबादी ) बन्यो।

२०६८ मा क. किरणको नेतृत्नेकपा एनेकपा माओबादीबाट  बिद्रोह गरी नेकपा- माओबादी  गठन भयो । २०७३ मा नेकपा एकीकृत र नेकपा – माओबादी  बीच एकता भएर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बन्यो। डाचाजी त्यस पार्टीको पोलिटब्युरो सदस्य हुनुभयो। तर यो एकता तीन महिना पनि टिकेन। क.बादलको नेतृत्वमा डाचाजी सहित  बहुमत केन्द्रीय सदस्यहरुले क. किरणलाई छोडेर बिद्रोह गरे।

२०७३ मै  दस माओबादी घटक बीच एकता भएर नेकपा (माओबादी केन्द्र) बन्यो । डाचाजी नेकपा (माओबादी केन्द्र) को पोलिट ब्युरो सदस्य बन्नुभयो।

२०७५  जेठमा एमाले- माओबादी केन्द्र एकता भएर नेकपा (नेकपा) बन्यो । पार्टी केन्द्रले वहालाई  सर्लाहि जिल्ला सचिबको   जिम्बेवारी दियो र वहाभन्दा जुनियरलाई अध्यक्ष बनाएपछी वहाँले त्यो  जिम्बेवारी   लाई ठाडेै इन्कार गरेर पार्टी अध्यक्ष लाई पत्र लेख्नु भयो । पछि पार्टीले वहाँलाई जिल्लाको अध्यक्षको जिम्बेवारी दियो। 

जिम्बेवारी अस्विकार गर्दै लेखेको पत्र।

केपि ओलिले संसद बिघटन गरेपछि माधब नेपाल र प्रचण्डको नेतृत्वमा प्रतिगमनको बिरुद्दमा संसद पुनर्स्थापना माग सहित संघर्षको घोषणा भयो। डाचाजी उक्त संघर्षमा ससक्त रुपमा होमिनु भयो।

केपी ओलीको संसद बिघटन बिरुद्दको संघर्षमा

२०७७ फागुनम सर्बोच्च अदालतको आदेसले नेकपा फटाई दिएपछी नेकपा (माओबादी केन्द्र)को केन्द्रीय सदस्य र सर्लाही जिल्लाको ईन्चारज हुनुभयो।

क. डाचा बहु-प्रभाबशाली ब्यक्तित्व भएको जनपक्षीय नेता हुनुहुन्थ्यो। जनयुद्दको जगमा भएको जनआन्दोलन र मधेस आंदोलनले सामन्ती राजतंत्र सहित सामन्तबादको अन्त्य गर्यो। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई नेपाली समाजको अर्थराजनीतिक संरचना बदले पनि सामन्तबादका अवशेषहरूको समूल अन्त्य भईसकेको थिएन। मूलतः मधेशमा ब्याप्त मीटरब्याजी प्रथा  सामन्तबादकै आर्थिक शोषणको घृणित अबशेष थियो।

जनसमुदायलाई संबोधन गर्दै

क. डाचाराज वाग्लेले मीटरब्याजी प्रथाबाट हजारौ पीड़ितहरूको प्रत्यक्ष शोषण र उठिबास भईरहेको देखेपछि र उनिहरू न्याय माग्न पार्टीमा आउन थालेपछि त्यसको अन्त्यको निम्ति संघर्षको नेतृत्व लिनुभयो।पीड़ितहरूलाई एकताबद्ध पारी सर्लाहीबाट उहाँको नेत्रित्वमा शुरू भएको  आन्दोलनले मधेस,काठमाण्डू  हुदै देशब्यापी रूपमै ध्यानआकृष्ट गराउन सफल भयो।

गृह मन्त्रीलाई मिटरब्या पिडितको तर्फबाट डाचाजीले लेख्नु भएको  ज्ञापन पत्र।

यही क्रममै अज्ञात शक्तिद्वारा रहस्यमय रुपमा दुर्घटना जस्तो बनाएर उहाँको हत्या भयो।उहाँको त्यो हत्यालाई दुर्घटना बनाऊन धेरै तिरबाट दुस्प्रयास गरिए।मीटरब्याज पीड़ित आन्दोलन र क. डाचाको बलिदानलाई तत्कालीन केपी ओली सरकारले बेवास्ता नै गर्यो।तर  प्रचण्ड नेत्रित्वको जनपक्षिय सरकार बने पछि भने सम्बोधन गरेको छ।मिटरब्याज (अनुचित लेनदेन)पीड़ितहरूको पक्षमा क़ानून बनी महाजनबाट खोसिएको सम्पती फिर्ता पाउनु महत्वपूर्ण उपलब्धि हो।सरकारले केहीदिन अघि क.डाचाराज वाग्लेलाई शहीद घोषणा गरी मीटरब्याज पीड़ितहरूको आन्दोलन र डाचाजीको बलिदानलाई सम्मानित गरेको छ।डाचाजीको रहस्यमय मृत्यु अघि देखि नै पीड़ितहरूको साथमा रही न्याय दिलाउन मूख्य पहल गर्नु हुने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क.प्रचण्ड, उपप्रधानतथा गृहमन्त्री क.नारायणकाजी  श्रेस्ठ,नेकपा(माओबादी केन्द्र) का उपमहासचिब क.गिरिराजमणि पोखरेल,क. प्रल्हाद बुढ़ाथोक़ी, क. डाचाराजकी जीबन साथी क.सरस्वती मिश्र, सहित साथ सहयोग दिनुहुने सबै नै धन्यबादका पात्र हुनुहुन्छ।क. डाचाराज वाग्ले समन्तबादका अबशेषहरू अंत्य गर्ने  आन्दोलनका शहीदको रूपमा हाम्रो स्मृतिमा सदा रहीरहनु हुनेछ।      तेस्रो वार्षिक  स्मृतिको ( माघ २१)का अबसरमा सहिद क.डाचाराज वाग्ले प्रति हार्दिक सम्मान र भाबपुर्ण श्रद्धासुमन ।

कमल बराल कटुञ्ले, भक्तपुर

Leave a Comment