ऋणीसंग जथाभाबी जोडेर ब्याज असुल्ने बैंक परे राष्ट्रबैंकको कारबाहीमा

Loading

पिपुल्स न्युज काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनलाई सचेत गराएको छ । राष्ट्र बैंकका विभिन्न नियमहरु उल्लंघन गरेकाले शेरचनलाई सचेत गराइएको हो । राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमाससम्म विभिन्न ६ बैंक वित्तीय संस्थाका सीईओ र संचालकलाई कारबाही गरेको छ ।

कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, प्रिमियम दर वृद्धि गरी व्याज असुल उपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरुमा क्यापिटल एडुक्वेसी फ्रेमर्वर्क २०१५ को व्यवस्था विपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको कारण राष्ट्र बैंकले प्रभु बैंकका सिईओलाई सचेत गराएको छ ।

ग्लोबल आइएमई बैंकका सीईओलाई राष्ट्र बैंकले एकीकृत निर्देशनविपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएपनि ग्राहकको खातामा फिर्ता नगरेको भन्दै केन्द्रीय बैंकले कारबाही गरेको छ ।

त्यस्तै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत र बैंक संचालक समिति, मुक्तिनाथ विकास बैंक संचालक समिति, गरिमा विकास बैंकका संचालक र रिलायन्स फाईनान्सका संचालक कुशप्रसाद मल्लीलाई समेत सचेत गराएको छ । यसमध्ये मुक्तिनाथ विकास बैंकलाई भने १० लाख रुपैयाँ जरिवाना गरेको छ ।

Leave a Comment