![]()
पिपुल्स न्युज काठमाडौं । अस्ट्रेलिया, क्यानाडा, अमेरिका र युरोपका विभिन्न देशमा पठाइदिने भन्दै ६ सय जनाभन्दा धेरैलाई ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
माल्टा, पोल्यान्ड, क्रोएसिया, क्यानडालगायतका देश पठाउने भन्दै करोडौँ ठगी गर्ने ललितपुरको कन्जोसोम गाउँपालिका वडा नं. ४ घर भई इमाडोल बस्ने ३२ वर्षका सुजन तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। उनले बालाजु चोकमा युरो विङ्स एजुकेसन कन्सल्टेन्सी खोलेर आफूलाई विकास वाइबाको नाममा चिनाउँदै ठगी गरेको पाइएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरेका अनुसार उनले ठगी गरेको रकमबाट ४ करोड १५ लाख रुपैयाँ व्यक्तिगत ऋण तिरेका थिए । यस्तै राप्ती म्यानपावर बसुन्धाराको ५० प्रतिशत शेयर किनेको, गाडी किनेको, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको र ५ लाख रुपैयाँको सुन किनेको भेटिएको छ ।
२०७३ सालदेखि पाँच वर्ष विभिन्न मेनपावरहरूमा एजेन्टका रूपमा काम गरेका उनी २०७७ सालदेखि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा फरार रही नेपाल र भारतका विभिन्न स्थानमा लुकिछिपी बसेका थिए । २०८० सालदेखि विकास वाइवाको नक्कली परिचयबाट उनले बालाजुमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए।
उनलाई आवश्यक कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।