टिकटकपछि बिगो लाइभ र स्न्यापच्याटजस्ता एप पनि ‘निगरानीमा’

Loading

Peoples News : सामाजिक सञ्जाल टिकटक प्रतिबन्धपछि कतै आलोचना र कतै प्रशंसा पाइरहेको सरकारले थप सामाजिक सञ्जाल प्रतिबन्धको तयारी गरिरहेको एकजना अधिकारीले बताएका छन् । टिकटकजस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि पनि निगरानी सुरु गरिएको प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी भइरहेको बताए । म तीनलाई सोसल होइन एन्टी सोसल मिडिया भन्छु । तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउनेबाहेक केही गरेका छैनन् रायमाझीले भने । हामी यसको प्राविधिक पक्ष र समाजमा पारेका सकारात्मक नकारात्मक प्रभावहरूबारे अध्ययन गरिरहेका छौँ । उनले प्रधानमन्त्री कार्यालयले विज्ञहरूसहितको एउटा टोली नै बनाएर ती एपहरूको निगरानी गरिरहेको बताए । टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दर्ता भएका एक दर्जन बढी मुद्दा विचाराधीन छन् । अदालतले उक्त निर्णयको कानुनी आधारबारे सरकारसँग मङ्सिर २१ गतेभित्र जवाफ माग गरेको छ । 

कुन-कुन एपमाथि निगरानी

टिकटक

रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले निगरानीमा राखेका एपहरूमा बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायत छन् । बिगो लाइभ र लाइकी सिङ्गापुरमा रहेको बिगो टेक्नोलोजीजका लाइभ स्ट्रिमिङ र छोटा भिडिओ राख्न मिल्ने एपहरू हुन् । टिकटकजस्तै यी एपहरू पनि चिनियाँ कम्पनीले सञ्चालन गर्छन् । भारतले समेत टिकटकसँगै बिगो लाइभ, लाइकीसहित ५९ वटा चिनियाँ एपहहरूमाथि सन् २०२० मा प्रतिबन्ध लगाएको थियो । टेलिग्राम रुसी म्यासेजिङ एप हो ।  यो पनि फेसबुकको म्यासेन्जरजस्तै समूहमा कल र म्यासेज गर्न मिल्नेगरी बनाइएको छ । अनलाइन डेटिङ एप टिन्डर र म्यासेजिङ एप स्न्यापच्याट भने अमेरिकी हुन् । स्न्यापच्याटमा पठाइएका तस्बिर र भिडिओहरू प्रापकले हेरिसकेपछि वा त्यसको केही समयपछि नै स्वत: डिलिट हुने सुविधाका कारण यो किशोर किशोरीहरूमाझ लोकप्रिय रहेको बताइन्छ । यस्ता अधिकांश एपहरू यौनसम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदानका लागि प्रयोग भइरहेको र त्यसले धेरै नेपाली नागरिकहरूलाई असर पारेको आफूहरूको प्रारम्भिक अध्ययनबाट पाइएको रायमाझीले बताए । प्रधानमन्त्री कार्यालयले त्यसबाहेक थप एपहरूबारे पनि निगरानी भइरहेको जनाएको छ । 

  • टिकटकपछि अरु एपहरू पनि बन्द हुँदैछन्?

    टिकटक प्रतिबन्धविरुद्ध प्रदर्शन

    रायमाझी यी एपहरू अहिल्यै बन्द गर्न सिफारिस गर्ने भन्दा पनि निगरानीमा राखिएको बताउँछन् । अहिले हामीले नजिकबाट निगरानी गरिरहेका छौँ । यसका सबै पक्षहरूको अध्ययनपछि प्रतिवेदन नै बनाएर सार्वजनिक गर्छौँ,” उनले भने । यसबाट के निष्कर्ष आउँछ । अहिलेसम्मको अध्ययनले के देखाउँछ भने यी गलत छन्, बन्द हुनुपर्छ भन्ने नै लागेको छ । कतिपय यस्ता एपहरूबाट आर्थिक अपराधसमेत भएको दाबी प्रधानमन्त्रीको सचिवालयको छ । प्रारम्भिक रूपमा हामीले सकारात्मक पक्ष दुई प्रतिशत भेट्टायौँ भने नकारात्मक ९८ प्रतिशत भेट्टाएका छौँ । त्यसका आधारमा हामीले सिफारिस गर्ने त बन्द गर्ने भन्ने नै हुन्छ, रायमाझीले भने । उनका अनुसार यसअघि नै सरकारले बन्द गर्ने प्रयास गरेका पब्जी र फ्री फायर जस्ता एपहरू पनि निगरानीमा छन् । 

    प्रहरीले के गर्दैछ ? : नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख नविन्द अर्यालले टिकटकपछि अरू एपहरू बन्द गर्नेबारे आफूहरूलाई कुनै जानकारी नआएको बताए । हामी अहिले भीपीएन प्रयोगबाट हुने असुरक्षा कम गर्नेतिर केन्द्रित भएका छौँ । अरू एप बन्द गर्नेबारे हामीलाई अहिलेसम्म कुनै जानकारी आइसकेको छैन,” अर्यालले भने । प्रहरीले कात्तिक १७ गते सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपालमा सबैभन्दा धेरै साइबर अपराधका उजुरी फेसबुक र फेसबुककै म्यासेजिङ एप म्यासेन्जरमार्फत भएका देखिन्छन् । नेपाल प्रहरीका अनुसार साउनदेखि कात्तिकबीचको अवधिमा म्यासेन्जर प्रयोग गरेर भएका साइबर अपराधका उजुरी ३,७७८ वटा छन् । यो अवधिमा दोस्रो धेरै उजुरी टिकटकसँग सम्बन्धित छन् । टिकटकको माध्यम प्रयोग भएर अपराध भएको दाबी गर्दै ५४८ वटा उजुरी प्रहरीमा परेको छ ।   

Leave a Comment