![]()
Peoples News : अमेरिकाका भूतपूर्व विदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ । उनले निक्सन र फोर्ड प्रशासनको समयमा शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गरेका थिए । उनले स्थापना गरेको राजनीतिक परामर्शदातृसंस्था किसिन्जर असोसिएट्सले एउटा विज्ञप्तिमा हेनरी किसिन्जरको आफ्नै घरमा मृत्यु भएको जनाएको छ । विज्ञप्तिमा उनको मृत्युको कारण भने खुलाइएको छैन । किसिन्जरको नेपालका राजा महेन्द्र र राजा वीरेन्द्रसँग राम्रो सम्बन्ध थियो । उनी सन् १९८५ मा नेपाल आएका थिए । आफ्नो दशकौँ लामो कूटनीतिक तथा राजनीतिक जीवनमा किसिन्जर ले अमेरिकी विदेश र सुरक्षासम्बन्धी नीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यद्यपि उनको भूमिका बेलाबेलामा विवादित पनि भयो ।
१०० पटक चीन भ्रमण : पदमा रहँदा पनि र नरहँदा पनि किसिन्जर चर्चामा रहिरहने खालका वरिष्ठ कूटनीतिज्ञ थिए । अमेरिका र चीनबीच सम्बन्ध चिसिएको र दुवै देशले सम्बन्ध सुधार गर्न खोजिरहेका बेला गत जुलाईमा उनले बेइजिङ भ्रमण गरेका थिए ।

त्यस बेला किसिन्जरबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो। उनलाई चिनियाँ राष्ट्रपति सी जिन्पिङले स्वागत गरेका थिए । अमेरिकाले उनी एक नागरिकको रूपमा व्यक्तिगत भ्रमणमा रहेकोमा जोड दिएको थियो । उनले १०० पटकभन्दा बढी चीनको भ्रमण गरेका थिए । उनलाई “चीनका मित्र” पनि भनिन्थ्यो । किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई खुला हुन सघाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नोबेल शान्ति पुरस्कार र विवाद : सन् १९७३ मा अमेरिकी विदेशमन्त्री रहेका किसिन्जरले त्यस वर्ष नोबेल शान्ति पुरस्कार पाएका थिए । अमेरिकी विदेशनीतिका केही विवादित घटनाक्रममा संलग्न भएका उनलाई दिइएको पुरस्कारले धेरैलाई अचम्ममा पार्यो । क्याम्बोडियामा भएका गोप्य बम हमला र दक्षिण अमेरिकामा क्रूर सैन्य शासकहरूलाई सहयोग गर्ने जस्ता घटनाक्रममा उनको संलग्नता रहेको बताइन्थ्यो । किसिन्जरलाई उत्तर भियतनामी नेता ले डक थोसँगै भियतनाम युद्धमा युद्धविराम गराउन भूमिका खेलेको भनेर पुरस्कृत गरिएको थियो । यससँगै नोबेल पुरस्कार समितिका दुईजना सदस्यहरूले राजीनामा दिएका थिए भने न्यूयोर्क टाइम्स पत्रिकाले त्यसलाई ‘नोबेल युद्ध पुरस्कार’ भनेर प्रतिक्रिया जनाएको थियो ।

प्राध्यापनदेखि कूटनीतिसम्म : किसिन्जरले सन् १९६० र १९७० को दशकमा अमेरिकी विदेशनीतिमा प्रभावशाली भूमिका खेलेका थिए । उनले सन् १९७३ मा भियतनाममा अमेरिकी संलग्नताको अन्त्यका लागि भएका वार्ताहरूलाई सफल बनाएका थिए । किसिन्जर सन् १९२३ मा जर्मनीमा एक यहुदी परिवारमा जन्मिएका थिए । नाजीहरूबाट बच्न किसिन्जरको परिवार सन् १९३८ मा आप्रवासीका रूपमा अमेरिका पुगेको थियो । उनी सन् १९४३ मा अमेरिकी नागरिक बने ।
