![]()
Peoples News : टी-२० विश्वकप एशिया छनोटको फाइनल खेल अन्तर्गत नेपाल सुपर ओभरमा ओमानसँग पराजित भएको छ । यो प्रतियोगिताको उपविजेता बनेको नेपाल टी-२० विश्वकपमा छनोट भइसकेको छ । प्रतिष्ठाको प्रतिस्पर्धाको रूपमा हेरिएको नेपाल र ओमानबीचको टी-२० विश्वकप एशिया छनोटको फाइनलले रोमाञ्चक मोड लिएको थियो । निर्धारित २० ओभरको खेलमा दुवै टोलीले १८४ रन जोडेपछि खेलको छिनोफानो सुपर ओभरमार्फत् भएको थियो । सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो । त्यस क्रममा नेपाली बलर अविनाश बोहोराले ३ छक्का खाएका थिए । त्यसअघि १८५ रनको विशाल लक्ष्य नेपालले ओमानका सामु दिएको भए पनि आक्रामक ब्याटिङ गर्दै ओमानले उक्त लक्ष्य २० ओभरभित्रै भेटाउने सङ्केत देखाएको थियो । अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएकोमा नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए । अन्तिम बलमा ओभर थ्रोका क्रममा ओमानका खेलाडीहरूले दुई रन जोड्ने प्रयास गरेपछि अर्का खेलाडी रन आउट भएका थिए । त्यसपछि खेल बराबरीमा परिणत भयो । टी-२० मा नेपाल १५ औँ तथा ओमान १८औँ वरीयतामा छन् । नेपालले २० ओभरको क्षतिमा ६ विकेट गुमाउँदै १८४ रन जोड्यो ।
नेपालको ब्याटिङ
नेपालले पारिलो घाममा बढी रन जोडेर विपक्षीलाई दबावमा राख्ने रणनीतिका साथ टस जितेर ब्याटिङ रोजेको थियो । किनकि लिग म्याचमा दोस्रो ब्याटिङ गर्दा ओमानका स्तरीय स्पिनरहरूसँग नेपाली ब्याटरहरूले खुलेर खेल्न सकेका थिएनन् । यद्यपि नेपालले शुरूमा सोचेजति रन बटुल्न सकेन । तेस्रो ओभरमा ओपनर आशिफ शेख ६ रन बनाएर आउट भए । बिलाल खानको बलमा उनी कश्यप प्रजापतिबाट शर्ट कभरमा समातिएका थिए ।
कुशलको जीवनदान : त्यसपछि कुशल भुर्तेलले आक्रामक इनिङ खेले । उनले २ छक्का र ३ चौका प्रहार गरी २२ बलमा ३१ रन जोडे । ७.१ ओभरमा अकिब इलियासको बलमा कुशलको क्याच मेहरनले लिएका थिए । त्यसअघि पाँचौ ओभरमा कुशलले जीवनदान पाएका थिए । १८ रन बनाएर खेलिरहेका बेला फयाज खानको बलमा उनी प्वाइन्टमा रहेका आयान खानले फुत्काउन पुगेका थिए । ४.३ ओभरमा १४ रन बनाएर खेलिरहेको बेला कुशल भुर्तेलले जीवनदान पाए । उनलाई प्वाइन्टमा सजिलो क्याच छोड्न पुगेका थिए । तेस्रो नम्बरमा पठाइएका सन्दीप जोराले अवसरको सदुपयोग गर्न सकेनन् । त्यसअघि नै सन्दीप जोरा १० रन बनाएर आउट भइसकेका थिए भने १०औँ ओभरमा कुशल मल्ल पनि सस्तैमा आउट भए । नौ बल खेलका उनले ३ रन मात्र जोड्न सके । यो बेला नेपालले ४ विकेट गुमाइसकेको थियो भने ६० रनमात्र जोड्न सकेको थियो ।
गुलशनको आक्रमण :

त्यसपछि गुलशन झाले खेललाई नयाँ मोड दिए । निकै आक्रामक देखिएका गुलशनले ५४ रनको शानदार अर्धशतकीय पारी खेले । सो क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे । यो उनको करिअरको पहिलो टी-२० अर्धशतक हो । उनले कप्तान रोहित पौडेलसँग मिलेर पाँचौ विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए । १७औँ ओभरमा उनी आउट हुँदा ६० रनबाट नेपालको स्कोर १३८ पुगिसकेको थियो ।
रोहितको अर्धशतक : गुलशनलाई साथ दिइरहेका कप्तान रोहित पौडेलले गुलशन आउट भएपछि भने आक्रमण रूप लिएका थिए । गुलशन पछि आएका विवेक यादव सफल भएनन् । उनी ३ बल खेलेर १ रन बनएर आउट भएका थिए । खेलको अन्त्यसम्म टिकेका रोहितले भने ५२ रनको अविजित पारी खेले । यो उनको पाँचौ टी-२० आई अर्धशतक हो । रोहितले ५ चौका र २ छक्का हानेका थिए । रोहितलाई साथ दिएका करण केसी पनि आफ्नै भूमिकामा न्याय गरे । अन्तिम ओभरमा उनले फयाद बटलाई २ छक्का र एक चौका प्रहार गरेका थिए । करणले ६ बलमा २० रन बनाए । अन्तिम ओभरमा बयातले २३ रन खान पुगेका थिए ।
ओमानको आक्रामक शुरूआत : विशाल रनको लक्ष्य पाएको ओमान शुरूदेखि नै आक्रामक देखियो । सोमपाल कामीले ओपनर प्रतीक अथाभालेलाई तेस्रो ओभरमा एलबीडब्लुको शिकार बनाएका थिए । तर त्यसपछि कश्यप प्रजापतिले आक्रामक इनिङ खेल्दै स्कोरबोर्डमा रन बढाए । उनले पाँचौ ओभरमा सोमपाल कामीलाई ३ छक्का तथा अर्को ओभरमा कुशल मल्ललाई २ छक्का प्रहार गरेका थिए । उनले अकिब इलियाससँग मिलेर दोस्रो विकेटका लागि ६७ रनको शानदार साझेदारी गरेका थिए ।

अकिबलाई गुलशन झाले १०औँ ओभरमा आउट गरेर यो जोडी तोडेका थिए। अकिबले १९ बलमा ३३ रन बनाएर आउट भए । सन्दीप जोराले उनको प्वाइन्टमा क्याच लिएका थिए । खेलमा ओमानको पकड बलियो बनिरहेको थियो । त्यसपछि कप्तान जिशन मकशुदले पनि रन गति बढाए । १५.२ ओभरमा विवेक यादवले जिशन (२६ रन) को विकेट लिन सफल भए । यो बेला टोलीको १३६ रन बनिसकेको थियो ।
अविनाश र करणको महत्त्वपूर्ण विकेट : नेपाललाई खेलमा फर्काउने काम अविनाश बोहोराले गरे । ६३ रन बनाएर खेलमा जमिरहेका कश्यप प्रजापतिलाई उनले १६.५ ओभरमा आउट गरे। कप्तान रोहितले दिप स्व्वायर लेगमा रनिङ क्याच लिएका थिए । यतिबेला ओमानलाई १८ बलमा ३८ रन रन चाहिएको थियो । १८औँ ओभरमा करणले २ महत्त्वपूर्ण विकेट लिएर नेपाललाई जित तिर दोहोर्याउने काम गरेका हुन् । उनले ओभरको पहिलो बलमा नसिम खुशी र चौथो बलमा मेहरुम खानलाई आउट गराए। तर उनले सोही ओभरमा १८ रन खर्चिएका थिए ।
रोमाञ्चक अन्तिम ओभर : अन्तिम ओभरमा जितका लागि ओमानलाई ८ रन चाहिएको थियो । त्यसलाई रोक्न सन्दीप लामिछाने बलिङमा आए । उनले पहिलो बलमा १ रन दिए । तर दोस्रो बलमा आयान खान र तेस्रो बलमा सकिल अहमदलाई आउट गराएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । चौथो बलमा उनले १ रन दिए। तर पाँचौ बल चौका भयो। रोहितले छक्का भइसकेको बललाई मुश्किलले जोगाएका थिए । अन्तिम बलमा एक रन दिएपछि खेल टाई हुन पुग्यो । विजयी दोस्रो रनका लागि दौडिँदा नदिम रन आउट हुन पुगेका थिए ।
सुपर ओभर : सुपर ओभरमा बलिङको जिम्मा ‘डेथ ओभर स्पेशलिस्ट’ अविनाश बोहोरालाई दिइयो । तर उनले तीन छक्का खाएपछि ओमानले २१ रन जोड्यो । बोहोराले हरेक एक बलपछि छक्का खान पुगेका थिए । पहिलो बल १ रन, दोस्रो बल डट, तेस्रो बलमा छक्का, चौथो बल डट, पाँचौ बल वाइड र डट तथा छैटौँ बलमा छक्का खाए । २२ रनको लक्ष्य पाएको नेपालले भने लक्ष्य पूरा गर्न सकेन ।

नेपालले मात्र ६ रन बनाउन सक्यो। ओमानका बिलाल खानले उत्कृष्ट बलिङ गरे । ब्याटिङमा गएका कुशल भुर्तेल पहिलो बलमा आउट भए । त्यसपछि आएका कुशल मल्लले दोस्रो बल डट खेले भने तेस्रो बलमा १ रन मात्र जोडेपछि नेपाल उपाधिबाट टाढा भयो । चौथो बलमा गुलशन झाले १ रन बनाए । अनि पाँचौ र छैटौँ बलमा कुशलले २ चौका प्रहार गरेपछि ओमानका खेलाडीहरू मैदानमा खुशी मनाउन दौडिएका थिए ।